पोर्चुगलले उज्वेकिस्तान माथि ५–० को जीत, सँगै रोनाल्डोको ६ विश्वकपमा गोल गर्ने कीर्तिमान
फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’को खेलमा पोर्चुगलले उज्वेकिस्तानमाथि ५–० को प्रभावशाली जित दर्ता गर्दै प्रतियोगितामा पहिलो विजय हासिल गरेको छ। यस जितसँगै कप्तान क्रिस्टियानो रोनाल्डोले विश्वकप इतिहासमा लगातार ६ संस्करणमा गोल गर्ने दुर्लभ कीर्तिमान कायम गरेका छन्।

गएराति सम्पन्न खेलमा पोर्चुगलले सुरुदेखि नै आक्रामक प्रदर्शन गरेको थियो। खेलको छैटौं मिनेटमै रोनाल्डोले कर्नरबाट आएको बललाई उत्कृष्ट रूपमा जाली चुमाउँदै टोलीलाई अग्रता दिलाए। १७औं मिनेटमा नुनो मेन्डेसले अर्को गोल थपेपछि पोर्चुगलले आफ्नो पकड बलियो बनायो।
पहिलो हाफको ३९औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३–० को सहज अवस्थामा पुर्याए। दोस्रो हाफमा उज्बेकिस्तानका गोलरक्षक अब्दवोहिद नेमातोवबाट आत्मघाती गोल भएपछि पोर्चुगलको अग्रता थप फराकिलो बन्यो। खेलको ८७औं मिनेटमा राफाएल लीओले गोल गर्दै ५–० को शानदार जित सुनिश्चित गरे।
![]() |
![]() |
![]() |
|---|
४१ वर्षीय रोनाल्डोका लागि यो खेल विशेष रह्यो। उज्बेकिस्तानविरुद्ध दुई गोल गरेसँगै उनले लगातार ६ वटा विश्वकप संस्करणमा गोल गर्ने पहिलो खेलाडीको इतिहास रचे। यस उपलब्धिले विश्व फुटबलमा उनको प्रभाव र निरन्तरताको नयाँ उदाहरण प्रस्तुत गरेको छ।
खेलपछि रोनाल्डोको उत्साहपूर्ण प्रतिक्रिया पनि चर्चाको विषय बन्यो। उनको प्रदर्शनले उमेर केवल संख्या मात्र भएको सन्देश दिएको भन्दै समर्थकहरूले प्रशंसा गरेका छन्।
जितसँगै पोर्चुगल चार अङ्कका साथ समूह ‘के’को शीर्ष स्थानमा पुगेको छ। रोनाल्डोको कीर्तिमान र पोर्चुगलको प्रभावशाली प्रदर्शनले विश्वकप २०२६ लाई थप रोमाञ्चक बनाएको छ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



