नेपाली चियालाई विश्व बजारमा कहाँ कति भन्सार ?

नेपाली चियालाई विश्व बजारमा कहाँ कति भन्सार ?
  • १२ असार २०८३, शुक्रबार १०:१४

काठमाडौं– नेपाली चिया विश्वका विभिन्न देशमा निर्यात हुँदै आए पनि सबै बजारमा समान व्यापारिक सुविधा उपलब्ध छैन । नेपालबाट चिया आयात गर्ने मुलुकअनुसार भन्सार महसुल (ट्यारिफ) फरक–फरक रहेकाले यसले नेपाली चियाको प्रतिस्पर्धात्मक क्षमता र निर्यात लागतमा प्रत्यक्ष प्रभाव पारिरहेको छ ।

mulpatra

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकअनुसार नेपालबाट निर्यात हुने चियामा भारत, चीन, जापान, जर्मनी, बेलायत, फ्रान्स, अस्ट्रेलिया, क्यानडा, पोल्यान्ड, नर्वे, स्विडेन, डेनमार्क, माल्टा, मकाउ लगायतका धेरै देशले शून्य प्रतिशत भन्सार सुविधा दिएका छन् ।

यद्यपि सबै बजारमा अवस्था समान छैन । दक्षिण एसियाली मुलुक श्रीलंकाले २० प्रतिशत भन्सार लगाउँदा पाकिस्तानले १० प्रतिशत भन्सार लिन्छ । त्यस्तै संयुक्त अधिराज्यले ६.८२ प्रतिशत, रुसले ६.७५ प्रतिशत र संयुक्त अरब इमिरेट्स (यूएई) ले ५ प्रतिशत भन्सार लगाउने गरेको तथ्यांकमा उल्लेख छ ।

mulpatra mulpatra mulpatra

तथ्यांकअनुसार नेपाली चिया सबैभन्दा बढी भारत निर्यात हुने भए पनि भारतमा भन्सार शून्य रहेको छ । आर्थिक वर्ष २०८१÷८२ मा भारततर्फ करिब १० अर्ब ३८ करोड रूपैयाँ बराबरको चिया निर्यात भएको देखिन्छ । त्यसपछि जर्मनी, अमेरिका, चीन, जापान, बेलायत, फ्रान्स, नेदरल्यान्ड्सलगायतका मुलुक नेपाली चियाका प्रमुख बजारका रूपमा रहेका छन् ।

व्यापार विज्ञहरूका अनुसार भन्सार दर कम वा शून्य हुनु मात्रै पर्याप्त हुँदैन । गुणस्तर प्रमाणीकरण, स्वास्थ्य तथा वनस्पति सुरक्षा, प्राविधिक मापदण्ड र अन्य गैर–भन्सार अवरोधहरूले पनि निर्यातमा ठूलो प्रभाव पार्ने गरेका छन् । विशेषगरी पछिल्लो समय भारतले गुणस्तर परीक्षण प्रक्रियामा कडाइ गरेपछि नेपाली चिया निर्यातमा चुनौती थपिएको छ ।

नेपालले आगामी वर्षहरूमा अल्पविकसित राष्ट्र बाट स्तरोन्नति गर्ने तयारी गरिरहेको अवस्थामा हाल प्राप्त केही भन्सार सहुलीयत क्रमशः घट्न सक्ने भएकाले गुणस्तर सुधार, ब्रान्डिङ, मूल्य अभिवृद्धि र नयाँ बजार विस्तारमा जोड दिनुपर्ने आवश्यकता विज्ञहरूले औंल्याएका छन् ।

Image Source: © https://mulpatra.com

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com