भारतले हटायो एलपीजी प्रतिबन्ध, आधा सिलिण्डर पाइरहेका नेपालीले पूरा सिलिण्डरको आस
काठमाडौं । मध्यपूर्वमा उत्पन्न युद्धका कारण प्रभावित ऊर्जा आपूर्ति सहज बन्दै गएपछि भारत सरकारले व्यावसायिक तरल पेट्रोलियम ग्यास (एलपीजी) माथि लगाएको आपूर्ति प्रतिबन्ध हटाएको छ। हर्मुज जलडमरूमध्य पुनः सञ्चालनमा आएपछि भारतले गैर–घरेलु प्याक गरिएको एलपीजीको आपूर्ति पूर्ववत् बनाउँदै बल्क एलपीजी आपूर्तिसमेत विस्तार गरेको जनाएको छ।

भारतको यो निर्णयसँगै भारतीय आयातमा निर्भर नेपाली बजारमा पनि एलपीजी आपूर्ति सहज हुने अपेक्षा गरिएको छ। मध्यपूर्वी संकटका कारण पछिल्ला केही सातादेखि नेपालमा भारतीय आपूर्तिकर्ताले ग्यासको परिमाण घटाउँदा कतिपय ग्यास उद्योगले डिलरलाई आधा मात्र सिलिण्डर उपलब्ध गराउँदै आएका थिए।
त्यसको प्रत्यक्ष असर उपभोक्तामाथि परेको थियो भने बजारमा ग्यास अभाव हुने चिन्ता पनि बढेको थियो। भारतले आपूर्ति प्रतिबन्ध हटाएसँगै नेपालमा पनि नियमित आपूर्ति पुनःस्थापित हुने र आधा सिलिण्डरको कोटामा सीमित भएका उपभोक्ताले अब पूरा सिलिण्डर सहज रूपमा पाउने आशा बढेको छ।
![]() |
![]() |
![]() |
|---|
नेपाल आयल निगमले भारतबाट हुने एलपीजी आपूर्ति सामान्य बन्दै गए नेपाली बजारमा देखिएको दबाब क्रमशः कम हुने अपेक्षा गरेको छ। यद्यपि आपूर्ति पूर्ण रूपमा सहज हुन केही समय लाग्न सक्ने भएकाले निगमले उपभोक्तालाई अनावश्यक रूपमा ग्यास मौज्दात नगर्न आग्रह गरेको छ।
ऊर्जा बजारका जानकारहरूका अनुसार भारतमा आपूर्ति सामान्य हुनु नेपालका लागि पनि सकारात्मक संकेत हो, किनकि नेपालमा प्रयोग हुने अधिकांश एलपीजी भारतमार्फत नै आयात हुने गर्दछ।



