आयल निगम नाफामा उद्धत, राष्ट्रिय सभामा उठ्यो प्रश्न,अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा किन घट्दैन नेपालमा ?
काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य इरान–अमेरिका तनावअघि कै स्तरमा झरे पनि नेपालमा इन्धनको मूल्य यथावत् राखिएको विषय राष्ट्रिय सभामा उठेको छ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद घनश्याम रिजालले शुक्रबार राष्ट्रिय सभाको बैठकमा अन्तर्राष्ट्रिय बजारमा मूल्य निरन्तर घटिरहेको अवस्थामा पनि विभिन्न बहाना बनाएर नेपालमा मूल्य नघटाइनु उपभोक्तामाथिको अन्याय भएको भन्दै सरकार र नेपाल आयल निगमको भूमिका प्रश्नको घेरामा परेको बताए।

सांसद रिजालले इन्धन महँगो हुँदा सार्वजनिक यातायात, औषधि, दैनिक उपभोग्य वस्तु, निर्माण सामग्रीलगायत सबै क्षेत्रमा मूल्यवृद्धि चुलिएको र त्यसको प्रत्यक्ष मार आम नागरिकले बेहोर्नुपरेको उल्लेख गरे। निर्माण सामग्रीको लागत बढ्दा सयौं पूर्वाधार आयोजना प्रभावित भएको, निर्माण व्यवसायी समस्यामा परेको तथा हजारौं श्रमिकले रोजगारी गुमाउनुपरेको भन्दै उनले तत्काल इन्धनको मूल्य घटाएर महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए।
पछिल्ला केही सातामा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेर प्रतिव्यारेल करिब ७२ अमेरिकी डलरमा पुगेको छ, जुन इरान–अमेरिका तनाव सुरु हुनुअघिकै स्तर हो। तनाव कम भएसँगै विश्व बजारमा तेल आपूर्ति सहज बन्दै गएको र होर्मुज जलडमरूमार्फत तेल ढुवानी पनि पुनः सामान्य अवस्थामा फर्किन थालेको छ। यद्यपि ऊर्जा विज्ञहरूका अनुसार रिफाइनरीहरूले यसअघि उच्च मूल्यमा खरिद गरिएको कच्चा तेल प्रशोधन गरिरहेकाले खुद्रा बजारमा मूल्य समायोजन हुन केही समय लाग्न सक्छ।
![]() |
![]() |
![]() |
|---|
यद्यपि सांसद रिजालले अन्तर्राष्ट्रिय बजारमा खरिद मूल्य घटिरहँदा पनि नेपाल आयल निगमले मूल्य समायोजन नगरी नाफा जोगाउने नीति लिएको आरोप लगाए। उनले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा तत्काल उपभोक्तामाथि भार थप्ने तर मूल्य घट्दा त्यसको लाभ नदिने प्रवृत्तिले उपभोक्ताको विश्वास गुम्ने चेतावनी दिँदै आम नागरिकलाई राहत दिन इन्धनको मूल्य तत्काल घटाउन सरकारसँग माग गरे।



