Close

Recent Posts

सरकारको १०० दिनलाई नपत्याएको शेयर बजार, चार खर्ब बढी गुमाए लगानीकर्ताले

सरकारको १०० दिनलाई नपत्याएको शेयर बजार, चार खर्ब बढी गुमाए लगानीकर्ताले
  • २२ असार २०८३, सोमबार ०९:१३

काठमाडौं । सरकारले आफ्नो कार्यकालको पहिलो १०० दिनका उपलब्धि सार्वजनिक गरिरहेको बेला नेपालको पुँजीबजारले भने त्यसप्रति सकारात्मक प्रतिक्रिया जनाउन सकेको छैन। सरकार गठन भएयता नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक निरन्तर दबाबमा रहँदा लगानीकर्ताको सम्पत्तिमा ठूलो गिरावट आएको छ। सरकार गठन हुनुभन्दा एक दिनअघि चैत १२ गते ५० खर्ब ९३ अर्ब रुपैयाँ रहेको कुल बजार पुँजीकरण १०० दिनपछि घटेर ४५ खर्ब ५९ अर्ब रुपैयाँमा सीमित भएको छ।

mulpatra

यस अवधिमा लगानीकर्ताको करिब साढे ४ खर्ब रुपैयाँ बराबरको सम्पत्ति घटेको देखिएको छ। त्यस्तै, २ हजार ९५०.५ अंकमा रहेको नेप्से परिसूचक पनि करिब १० प्रतिशतले घटेर २ हजार ६५३.४ अंकमा झरेको छ, जसले बजारमा लगानीकर्ताको विश्वास कमजोर बनेको संकेत गरेको छ।

सरकारले पुँजीबजार सुधारका लागि केही नीतिगत पहल अघि बढाएको दाबी गरे पनि त्यसको प्रत्यक्ष प्रभाव बजारमा देखिन सकेको छैन। नेपाल धितोपत्र बोर्ड नेतृत्वविहीन बनेपछि नियामकीय निर्णय, सार्वजनिक निष्कासन स्वीकृति तथा अन्य महत्त्वपूर्ण काम प्रभावित भएका कारण पनि बजारले अपेक्षित गति लिन नसकेको विश्लेषण गरिएको छ।

mulpatra mulpatra mulpatra

यद्यपि अर्थ मन्त्रालयले नेप्सेको पुनर्संरचना, वित्तीय क्षेत्रका नियामक निकायमा खुला प्रतिस्पर्धाबाट नेतृत्व छनोट तथा कानुनी सुधारका प्रक्रिया अघि बढाइएको जनाएको छ। तर ती अधिकांश घोषणा कार्यान्वयनको प्रारम्भिक चरणमै सीमित रहँदा लगानीकर्ताको मनोबल उकास्न पर्याप्त हुन सकेको छैन।

शेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष ताराप्रसाद फुल्लेलका अनुसार सरकार परिवर्तनसँगै लगानीकर्ताले पुँजीबजारमैत्री नीति, बैंकिङ प्रणालीमा सहज तरलता र स्पष्ट नीतिगत सुधारको अपेक्षा गरेका थिए। सुरुमा केही सकारात्मक संकेत देखिए पनि ती प्रतिबद्धता व्यवहारमा रूपान्तरण हुन नसक्दा बजार निराश बनेको उनले बताए। विशेषगरी बजेटमार्फत पुँजीगत लाभकर बढाउने निर्णयले लगानीकर्तामा नकारात्मक सन्देश गएको उनको भनाइ छ।

नयाँ व्यवस्थाअनुसार एक वर्षभन्दा बढी धितोपत्र होल्ड गरी बिक्री गर्दा ७.५ प्रतिशत र एक वर्षभन्दा कम अवधिमा बिक्री गर्दा १० प्रतिशत पुँजीगत लाभकर लाग्ने व्यवस्था गरिएको छ, जुन यसअघिको तुलनामा वृद्धि हो। लगानीकर्ताहरूले यसलाई बजार विस्तारभन्दा करको भार बढाउने कदमका रूपमा बुझेका छन्।

Image Source: © https://mulpatra.com

बजारमा सक्रिय अन्य लगानीकर्ताहरूले पनि सरकार गठनपछि भएका केही घटनाक्रमले विश्वासको वातावरण कमजोर बनाएको बताएका छन्। शेयर कारोबारमा संलग्न व्यक्तिमाथि अनुसन्धान तथा पक्राउका घटनाले बजारमा त्रासको अवस्था सिर्जना गरेको, कारोबारको भोल्युमका आधारमा समेत अनुसन्धान हुने चर्चाले मनोबल खस्किएको उनीहरूको भनाइ छ।

साथै, संस्थागत लगानीकर्ताको सहभागिता विस्तार, गैरआवासीय नेपाली (एनआरएन) लाई प्रभावकारी रूपमा बजारमा प्रवेश गराउने व्यवस्था तथा माग बढाउने नीतिगत कदम अपेक्षित रूपमा अघि नबढ्दा बजार अझै प्रतीक्षाको अवस्थामा रहेको उनीहरू बताउँछन्।

सरकारले १०० दिनमा गरेका सुधारका घोषणा र लगानीकर्ताले अपेक्षा गरेका परिणामबीच अझै ठूलो दूरी देखिएको छ। बजारको आकारमा आएको गिरावट, नेप्से परिसूचकको ओरालो यात्रा, कर नीतिमा भएको परिवर्तन तथा लगानीकर्ताको घट्दो आत्मविश्वासले सरकारको पहिलो १०० दिन पुँजीबजारका लागि उत्साहजनक बन्न नसकेको संकेत गरेको छ।

अब सरकारले घोषणा गरेका सुधार कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्दै लगानीमैत्री वातावरण निर्माण गर्न सके मात्र बजारमा हराएको विश्वास फर्किने र पुँजीबजारले दीर्घकालीन रूपमा सकारात्मक गति लिन सक्ने अपेक्षा गरिएको छ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com