दुई गोलले पछि परेको अर्जेन्टिनाको ऐतिहासिक पुनरागमन, इजिप्टलाई ३–२ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश
एजेन्सी । फिफा विश्वकप २०२६ को अन्तिम–१६ अन्तर्गत आज सम्पन्न अत्यन्त रोमाञ्चक खेलमा साविक विजेता अर्जेन्टिनाले इजिप्टविरुद्ध अविश्वसनीय पुनरागमन गर्दै ३–२ को जित निकालेको छ। दुई गोलले पछि परेको अवस्थाबाट अन्तिम १५ मिनेटमा तीन गोल गर्दै अर्जेन्टिनाले क्वार्टरफाइनलको यात्रा तय गरेको हो।

इजिप्टले खेलको सुरुवातदेखि नै आक्रामक प्रदर्शन गर्दै पहिलो हाफमा अग्रता बनाएको थियो। दोस्रो हाफमा अर्को गोल थपेपछि इजिप्ट २–० ले अघि बढेको थियो र प्रतियोगिताको सबैभन्दा ठूलो उलटफेर गर्ने संकेत देखिएको थियो।
तर त्यसपछि अर्जेन्टिनाले आफ्नो विश्वविजेता चरित्र प्रदर्शन गर्यो। ७९औँ मिनेटमा क्रिस्टियन रोमेरोले गोल गर्दै अन्तर घटाए। त्यसको केही मिनेटपछि कप्तान लियोनेल मेस्सीले बराबरी गोल गरे। निर्धारित समय सकिनै लाग्दा इन्जुरी समयमा एन्जो फर्नान्डेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई ३–२ को ऐतिहासिक जित दिलाए।
![]() |
![]() |
![]() |
|---|
यसअघि मेस्सीले पेनाल्टीको अवसर गुमाएका थिए। त्यसपछि उनले गोल र एक असिस्ट गर्दै टोलीको पुनरागमनमा निर्णायक भूमिका खेले। इजिप्टका गोलरक्षक मोस्तफा शोबेइरले उत्कृष्ट बचाउ गरे पनि अन्तिम समयमा टोलीको हार रोक्न सकेनन्।
यो जितसँगै अर्जेन्टिनाले उपाधि रक्षा अभियानलाई निरन्तरता दिएको छ भने इजिप्टको ऐतिहासिक विश्वकप यात्रा अन्तिम–१६ मै टुंगिएको छ। अब अर्जेन्टिनाले क्वार्टरफाइनलमा स्विट्जरल्यान्ड र कोलम्बियाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।



