गोलभेडा सडकमा फालेर किसानको आन्दोलन, भारतीय आयत रोक्न माग

गोलभेडा सडकमा फालेर किसानको आन्दोलन, भारतीय आयत रोक्न माग
  • ३१ असार २०८३, बुधबार १३:०४

काठमाडौँ । नेपाली किसानले उत्पादन गरेको गोलभेँडाले उचित मूल्य नपाएपछि काठमाडौँमा किसानहरू सडकमा उत्रिएका छन्। माइतीघर मण्डलमा गोलभेँडा सडकमै पोखेर उनीहरूले सरकारको कृषि नीति, बजार व्यवस्थापन र अनियन्त्रित आयातविरुद्ध विरोध जनाएका हुन्। किसानहरूको भनाइमा भारतबाट सस्तो मूल्यमा ठूलो परिमाणमा गोलभेँडा आयात हुँदा स्वदेशी उत्पादनले बजार गुमाएको छ।

mulpatra

व्यापारीहरूले नेपाली गोलभेँडा किन्न आनाकानी गर्ने, किने पनि लागतसमेत नउठ्ने मूल्य दिने अवस्था आएपछि उत्पादन बारीमै कुहिन दिने वा सडकमा फाल्नुपर्ने बाध्यता सिर्जना भएको उनीहरूको गुनासो छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्य विवरणअनुसार सानो स्थानीय गोलभेँडाको थोक मूल्य प्रतिकिलो ८ देखि १२ रुपैयाँमा सीमित भएको छ, जसको औसत मूल्य ९ रुपैयाँ ५० पैसा मात्रै छ।

किसानहरूका अनुसार बीउ, मल, विषादी, प्लास्टिक टनेल, सिँचाइ, मजदुरी र ढुवानीमा लागेको खर्चसमेत उठाउन नसक्ने मूल्यमा उत्पादन बेच्नुपर्दा उनीहरू ठूलो आर्थिक घाटामा परेका छन्। उपभोक्ताले खुद्रा बजारमा महँगो मूल्य तिरे पनि वास्तविक उत्पादकले भने प्रतिकिलो १० रुपैयाँसमेत नपाउने अवस्थाले कृषि पेशा नै संकटमा परेको उनीहरूको भनाइ छ।

mulpatra mulpatra mulpatra

नुवाकोटको ककनीसहित काठमाडौँ उपत्यका आसपासका जिल्लाका गोलभेँडा उत्पादक किसानहरू स्वतःस्फूर्त रूपमा आन्दोलनमा सहभागी भएका छन्। उनीहरूले कृषि बिमा प्रभावकारी रूपमा लागू गर्न, गोलभेँडासहित तरकारीको न्यूनतम समर्थन मूल्य निर्धारण गर्न, स्वदेशी उत्पादनको बजार सुनिश्चित गर्न तथा अनियन्त्रित आयातमा नियन्त्रण गर्न सरकारसँग माग गरेका छन्।

किसानहरूले समयमै बजार र मूल्यको ग्यारेन्टी नदिए नेपाली कृषि उत्पादन घट्दै जाने, किसान पलायन हुने र मुलुकको खाद्य आत्मनिर्भरतामाथि नै गम्भीर संकट आउने चेतावनी दिएका छन्।