घट्यो निक्षेपको ब्याजदर, कुनको कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले नयाँ महिनाका लागि व्यक्तिगत तथा संस्थागत मुद्दती निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन्। अधिकांश बैंकले निक्षेपको ब्याजदर यथावत् राखे पनि केही बैंकले थप कटौती गरेपछि समग्र औसत ब्याजदर पुनः ओरालो लागेको छ।

नयाँ दरअनुसार व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ४.२७ प्रतिशत कायम भएको छ। अघिल्लो महिनामा यो औसत ४.३४ प्रतिशत थियो। यससँगै औसत ब्याजदर ०.०७ प्रतिशत बिन्दुले घटेको हो। संस्थागत मुद्दती निक्षेपतर्फ पनि औसत ब्याजदर ३.२० प्रतिशतबाट ३.१८ प्रतिशत मा झरेको छ।
यसपटक केही वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा दिने ब्याजदर घटाएका छन्। विशेषगरी लक्ष्मी सनराइज बैंक र एनआईसी एशिया बैंक ले सबैभन्दा बढी ०.५० प्रतिशत बिन्दुले ब्याजदर घटाएका छन्। अन्य केही बैंकले पनि सामान्य कटौती गरेका छन् भने अधिकांश बैंकले अघिल्लो महिनाकै दरलाई निरन्तरता दिएका छन्।

कृषि विकास बैंक, एभरेष्ट बैंक, नेपाल बैंक, नेपाल एसबिआई बैंक, ग्लोबल आइएमई बैंक, सिटिजन्स बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, सिद्धार्थ बैंक, नबिल बैंक, सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक तथा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले अघिल्लो महिनाकै ब्याजदर कायम राखेका छन्।
किन घट्दैछ ब्याजदर ?
Image Source: © https://mulpatra.com
बैंकिङ प्रणालीमा पर्याप्त तरलता कायम रहनु, निक्षेप संकलनका लागि बैंकहरूबीच प्रतिस्पर्धा कम हुनु तथा कर्जाको माग अपेक्षाअनुसार नबढ्नु ब्याजदर घट्नुका प्रमुख कारण मानिएका छन्। निक्षेप पर्याप्त हुँदा बैंकहरूलाई महँगो ब्याजमा रकम तान्नुपर्ने दबाब नरहेकाले निक्षेपको लागत घटाउने रणनीतिअनुसार ब्याजदर कटौती गरिएको बैंकिङ क्षेत्रका जानकारहरूको भनाइ छ।
नेपाल राष्ट्र बैंकको व्यवस्थाअनुसार बैंकहरूले ब्याजदर निर्धारण गर्दा अघिल्लो महिनाको औसत ब्याजदर तथा नियामकीय सीमालाई समेत आधार बनाउनुपर्छ।
ब्याजदर घट्दै जाँदा निक्षेपकर्ताको आम्दानी केही घट्ने भए पनि ऋणको लागत क्रमशः सस्तो हुने अपेक्षा गरिएको छ। पछिल्लो समय निक्षेप बढ्दै जाँदा कर्जाको औसत ब्याजदर पनि घट्दो क्रममा रहेको तथ्यांकले देखाएको छ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com
