भोलिदेखि साउदी जाने कामदार बेग्लै बायोमेट्रिक, सम्बन्धीत मन्त्रालय बेखर

भोलिदेखि साउदी जाने कामदार बेग्लै बायोमेट्रिक, सम्बन्धीत मन्त्रालय बेखर
  • १५ पुष २०८०, आईतवार १४:०५

नेपालस्थित साउदी दूतावासले नयाँ वर्ष २०२४ को पहिलो दिन अर्थात आगामी जनवरी १ तारिकदेखि नेपालबाट वैदेशिक रोजगारीका लागि साउदी जाने कामदारको बायोमेट्रिक लागू गर्ने तयारी गरेको छ। दूतावासको यस्तो सूचना पाएपछि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगारीमा साउदी जाने कामदारको बायोमेट्रिक नगर्न, नगराउन सम्पूर्ण व्यवसायीलाई विज्ञप्ति जारी गरेको छ। साउदी दूतावासले आफ्नो सूचनामा आगामी जनवारी १ तारिकबाट नेपालबाट वैदेशिक रोजगारीमा जाने कामदारको बायोमेट्रिक गर्नुपर्ने जनाएको थियो। यो विषयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी र परराष्ट्र मन्त्रालयलाई भने बेखर छन्। सघंका अनुसार साउदी जाने कामदारको मात्र बेग्लै बायोमेट्रिक गर्ने दूतावासको सूचनामा भनिएको छ। बायोमेट्रिक प्रणालीका विषयमा नेपालस्थित साउदी दूतावासले केही सूचना र पत्र नपठाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केबलप्रसाद भण्डारी बताउँछन्। श्रम मन्त्रालयले भने वैदेशिक रोजगार व्यवसायीहरुले यसको विषममा विज्ञप्ति बुझाउन आएपछि मात्र थाहा पाएको उनले जानकारी दिए। श्रम मन्त्रालयले दूतावाससँग बायोमेट्रिक लागू भएको विषयमा छलफल गर्ने उनको भनाइ छ। नेपालको सम्बन्धीत मन्त्रालयलाई जानकारी नगराइ नेपालस्थित साउदी दूतावासले बायोमेट्रिक सञ्चालन गर्न लागेको वैदेशिक रोजगार व्यवसाय संघका महासचिव मेघनाथ भुर्तेलले हिमाल प्रेसलाई जानकारी दिए। गत वैशाख २९ गते साउदी दूतावासले बायोमेट्रिक प्रणाली फेमिलि भिसा र भिजिट भिसामा जाने नेपालीलाई मात्रै लागू गर्ने भनेको थियो। जनवरी १ देखि भने वैदेशिक रोजगारीमा जाने कामदारका हकमा पनि लागू गर्ने भनि आफनो कार्यालयको सूचना पार्टीमा विज्ञप्ति निकालेको पाइएको महासचिव भुर्तेल बताउँछन्। नेपालबाट साउदी जाने आर्थिकरूपमा कमजोर अवस्थामा रहेका कामदारलाई अधिक आर्थिक भार पार्ने गरी नेपाल सरकारको अनुमतिबिना सञ्चालनमा ल्याउन लागिएको बायोमेट्रिक प्रणाली हटाउन पहल गर्न अनुरोध गरिएको पनि बताए । ‘श्रम मन्त्रालयको कुनै सहमति तथा अनुमतिबिना साउदी दूतावासले एकपक्षीय रूपमा बायोमेट्रिक लागू गर्न खाजेको छ। यो पनि सिन्डिकेट नै हो। यो विषयमा परराष्ट्र र श्रम मन्त्रालयलाई जानकारी गराएका छौं।’ उनले भने। दूतावासले सूचना आफनो सूचना पार्टीमा मात्र राखेको छ। दूतावासले एकै पटक निर्णय म्यानपावर व्यवसायीलाई पढाउने तयारी समेत गरिरहेको उनको भनाइ छ। बायोमेट्रिक प्रणाली लागू भएपछि साउदी जाने कामदारको भिसा, स्वास्थ्य र अन्य सबै प्रक्रिया दूतावासले गर्ने संघको दाबी छ। जसमा १५ देखि २० हजार साउदी जाने कामदारमाथि आर्थिक भार थपिने व्यवसायी बताउँछन्। वैदेशिक रोजगारीमा साउदी करिब ६ सय म्यानपावरले कामदार पठाउँदै आएका छन्। साउदी मासिक १४ हजारभन्दा बढी नेपाली कामदार श्रम स्वीकृति लिएर जाने गरेको वैदेशिक रोजगार विभागको तथ्यांकमा छ। गत आर्थिक वर्षमा एक लाख २० हजारभन्दा बढी कामदार रोजगारीका लागि साउदी गएको विभागले जनाएको छ। साउदीमा हाल साढे ५ लाख नेपाली कार्यरत रहेको विभागको अनुमान छ।