Close

Recent Posts

म्यानपावरको झुटो प्रलोभनमा परी रुसी सेनामा भर्ती हुँदा हरिले ज्यान गुमाए

म्यानपावरको झुटो प्रलोभनमा परी रुसी सेनामा भर्ती हुँदा हरिले ज्यान गुमाए
  • १७ पुष २०८०, मंगलवार १२:११

सेनामा भर्ती भएका स्याङ्जा वालिङ नगरपालिका–१४, मान्खुका २३ बर्षका हरि अर्यालको युक्रेनसँगको युद्धका क्रममा मृत्यु भएको छ। गत कात्र्तिक ५ गते रुसी सेनामा भर्ती भएका अर्यालको गत नोभेम्बर २६ (मंसिर १०) मा युक्रेनसँगको युद्धका क्रममा मृत्यु भएको खबर परिवारले पाएका थिए। उनी रुसी सेनामा भर्ती भएको एक महिनामै युद्धका क्रमका मृत्यु भएको थियो। नोभेम्बर २६ देखि बेपत्ता भएका अर्यालको मृत्यु भएको खबर अहिले मात्र परिवारले पाएका छन्। उनी २४ दिनदेखि परिवारसँग सम्र्पकमा थिएन। ३ वर्ष आर्मीको जागिर खाएका उनले जागिनै छाडेर रुसी सेनामा गएको परिवारले जानकारी दिएको छ। अर्यालका बुबा रुद्रप्रसाद र आमा तारादेवी अर्याल भने छोराको मृत्यु खबर पाएपछि विक्षिप्त छन्। आमाले दुई दिनदेखि खाना नखाएको अर्यालकी भाउजु अम्बिका अर्यालले जानकारी दिइन। अम्बिका अनुसार मंसिर ७ गते खोई के हुन्छ। यहाँ त साथीहरु मरेका–मरै छन्। आफनो पालो कहिले आउने हो भनेर छिमेकी साथीसँग फोनमा कुराकानी गरेका थिए रे। १० गते नै मर्नु भएछ। परिवारसँग त घरबाट हिडेपछि ३–४ पटक मात्र कुराकानी भएको अम्बिकाले जानकारी दिइन्। उनका अनुसार ९ लाख रुपैयाँ तिरेर म्यानपावर कम्पनीमार्फत उनी रुसी सेनामा भर्ती हुन गएका थिए। यूएई पुलिसको रोजगारीमा जान कोशिस गरिरहेका अर्याल अन्तिममा म्यानपावरको झुटो प्रलोभनमा परी रुसी सेनामा भर्ती हुन गएको भाउजु अम्बिका बताउँछिन्। अम्बिकाकाअनुसार रसियामा जोखिम छ, रुसी सेनामा नजानु बोरु अन्य देश वैदेशिक रोजगारीमा जान परिवारले सल्लाह दिएका थियौं। तर,देवरबाबुले केही हुँदैन् भनेर यूएई हुँदै रुसी सेनामा भर्ती हुन जानु भएको अम्बिका बताउँछिन। ‘देवरबाबुले वैशाखमा आर्मीको जागिर छाडेर घरमै बस्नु भएको थियो। त्यसपछि देशमै केही गरु कि वैदेशिक रोजगारीमा जाँउ भनेर दोधारमा हुनुहुन्थ्यो। अन्तिममा खोई कहाँबाट रुसी सेनामा जाने निदो गर्नुभयो, थाहा भएन।’ उनले भनिन,‘खोई के कारणले आर्मीको जागिर छाडनु भयो, परिवारलाई थाहा भएन। आर्मीको जागिर छाडेर यूएई प्रहरीमा जान खोजिरहनुभएको थियो। अन्तिममा यस्तो हुनु रछ रुसी सेनामा जानु भयो।’ घरमा देवरको विवाह गर्ने सल्लाह समेत भइरहेको थियो। तर, उहाँ रुसी सेनामा गएपछि सासू आमा र ससुराबा भने रिसाइरहनु भएको उनको भनाइ छ। अम्बिकाका अनुसार पैसा कमाएर फर्किएपछि झै¥याइ¥झै¥याइ विहे गर्ने हो भनेर विदेशी जानु भएको थियो। अन्तिममा यस्तो खबर सुनुपर्दा परिवारलाई कस्तो भएको होला।? घरको कान्छो छोरा भएका कारण पनि उहाँ सबैका प्यारो हुनुहुन्थ्यो। उहाँको मृत्युको खबर सुनेपछि बा–आमा बेहोस जस्तै हुनुभएको उनले जानकारी दिइन्। देशमा रोजगारी भएपनि सुविधा राम्रो नभएपछि युवाहरु वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता छ। त्यही बाध्यताका कारण ज्यान समेत गुमाउनु परेको अम्बिकाको गुनासो छ। अर्यालका दुई जना दाई पनि वैदेशिक रोजगारीमा कार्यरत छन्। दुवै जना दाई यूएईमा कार्यरत छन्। रुस–युक्रेन युद्धमा ११ जना नेपालीले ज्यान गुमाएका छन्। मस्कोस्थित नेपाली दूतावासले सन्दीप थपलिया (गोरखा), रूपक कार्की (वाणगंगा–१, कपिलवस्तु), देवान राई (कास्की), प्रितम कार्की (पुतलीबजार–५, स्याङ्जा), राजकुमार रोका (मेलुङ–६, दोलखा), गंगाराज मोक्तान (इलाम–५, इलाम), कैलालीको टीकापुर नगरपालिका–१ नयाँ टीकापुरका ३६ वर्षीय भरत शाह, राजकुमार गिरी (धादिङ), हरि अर्याल (स्याङ्जा), भरतबहादुर शाह (कैलाली) र कुन्दनसिंह नगल (ठेगाना नखुलेको) को मृत्यु भएको पुष्टि गरेको छ। युद्धमा दुई सयभन्दा बढी नेपाली घाइते भएको दूतवासको अनुमान छ। रुसी सेनामा १ हजारभन्दा बढी नेपाली भर्ती भएको अनुमानित संख्या रहेको रुसमा रहेका नेपालीहरूले बताउँदै आएका छन्। मस्कोस्थित दूतावासले भने रुसी सेनामा भर्ती भएका नेपालीको विवरण सार्वजिनक गरेको छैन। युक्रेनमा ४ जना नेपालीलाई बन्दी बनाइएको परराष्ट्र मन्त्रालयले गत महिना जारी गरेको विज्ञप्तिमा उल्लेख छ। युक्रेनमा बन्दी बनाइएकामा बर्दिया राजापुर–१ का विवेक खत्री, काभ्रेपलाञ्चोक मन्डनदेउपुर–६ का सिद्धार्थ ढकाल, मोरङ लेटाङ–२ का विकास राई र रोल्पा रुन्टीगढी–८ का प्रतीक पुन छन्। उनीहरूलाई मुक्त गराई स्वदेश फर्काउन सरकारले पहल गरिरहेको छ।

mulpatra