Close

Recent Posts

नव बजारवाद मुर्दावाद ।

नव बजारवाद मुर्दावाद ।
  • १७ पुष २०८०, मंगलवार १४:५९

नव  बजारवाद, बन्द खाम भित्र
विदेशी प्रेमी बनी, घरज्वाई बनेर भित्रियो
उपहार स्वरुप लगेको आलु, रंगीन प्याकेटमा चिप्स बनाएर
हाम्रै पैसा तान्न पल्कियो ।
नविन सौन्दर्य दृष्टि पस्किदै, हाम्रा चेलीबेटी
विश्वसुन्दरी घोषित गर्ने, विज्ञापनका नाममा,
टेलिभिजन पर्दाहरुमा नङ्ग्याइरह्यो
रंगीन फिल्म देखाएर, यथार्थ भन्दा धेरै अगाडी
हिरो बनेर, मिठो सपना देखायो
हाम्रा बारीका फुलहरु, फुल्न नपाउँदै
सुम्सुम्यायो, निचोर्यो र निमोठ्यो ।
हाम्रा खेतबारीमा आफ्नो अन्नको विउ छर्यो
हाम्रो पसिनालाई पानी बनाएर
बालीनाली उब्जाइरह्यो, विस्तारै विस्तारै
हाम्रा सारा खेत आफ्नो कब्जामा लियो ।
हामीलाई हाम्रो पसिनाले उब्जाएको अन्न
प्याकेट भित्र जोखेर, आधुनिकताको नाममा
डिब्बा बन्द संस्कारको पछि लागि
मोलमोलाई गर्न निषेध गर्यो ।
उपहारका नाममा हाम्रा पौरखी हातहरु
इ. डि.भी. को सपना बुनेर राष्ट्रियता गलहत्याउँदै
बोइङमा उडाईरह्यो ।
‘आवश्यकता आविस्कारको जननी हो’
भन्ने अर्थशास्त्रको सिद्धान्तलाई चुनौती दिँदै
नयाँ परिकारको नाममा, हरेक नयाँ बन्द डिब्बा
किन्न वाध्य पार्यो, त्यहि नवबजारवाद
अहिले फेरी नयाँ बजारका नाममा
हातमा तरबार, गोला, बारुद र बन्दुक लिएर
हाम्रा आफ्नै सन्तती माथि धावा बोली रहेछ ।
गोली बर्साइरहेछ, र अहिले
हाम्रो रगत चुस्दैछ ।
त्यसैले
आउ देशका लागि हात मिलाऊ
नव बजारवाद मुर्दावाद ।

mulpatra

हरि दहाल