एक लाख मै आयस्रोत र नक्कली भिसा, भेटिदैनन् गिरोह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भिजिट भिसा’ र श्रम स्वीकृति लिएर विदेश जाने नेपालीले सास्ती झेल्नु परेको गुनासो आएको भन्दै त्यस्ता कार्य तत्काल बन्द गर्न सम्बन्धीत मन्त्रालयलाई निर्देशन दिएका छन्।
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी, मुख्यसचिव डा वैकुण्ठ अर्यालसहित सम्बन्धित मन्त्रालयका सचिवहरूसँग मंगलबार बालुवाटारमा बोलाएर त्यस्तो निर्देशन दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। प्रधानमन्त्री प्रचण्डले भिजिट भिसा र श्रम स्वीकृति लिएकाहरूलाई विमानस्थलमा सास्ती दिने गरेको गुनासो दैनिक आइरहेको छ। यो समस्या तत्काल सहज वातावरण सिर्जना गर्न निर्देशन दिएको सचिवालयले जानकारी दियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पुस २७ गते नक्कली भिसामा कुवेत जान लागेका ५७ जनालाई अध्यागमन विभागले फकायो। फकाईएकामध्ये १७ जना महिला रहेको विभागले जनाएको छ। गत मंसिर दोस्रो साता पनि अध्यागमन विभागले ११ जनालाई नक्कली भिसा भएको कारण फकाएको थियो। कत्र्तिकमा पनि नक्कली भिसामा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जान लागेका २४ जना जतिलाई विमानस्थलबाट फकाइएको विभागले जनाएको छ।
भिसा नै नक्कली भएपनि श्रम स्वीकृति लिएका थिए। भिसा नक्कली भएपछि ५७ जनालाई फकाईएको विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख गोगनबहादुर हमालले बताएका छन्। खाडी देशमा महिलालाई घरेलु कामदारका रूपमा पठाउन प्रतिबन्ध भएकाले यसरी नक्कली श्रम भिसामा पठाई मानवतस्करी भइरहेको उनले बताए।
‘वैदेशिक रोजगार कार्यालयका कर्मचारीसँग नक्कली भिसा हेर्ने सिस्टम नभएर पनि यस्तो भएको होला। यो विषयमा छानबिनका विभागलाई पत्राचार गरेका छौँ। यसमा म्यानपावर कम्पनीको संलग्न छ।’ नक्कली भिसाका कारण फर्किएका व्यक्तिको आयस्रोतको कागतजात पनि फर्जी हुने गरेको उनको भनाइ छ। समस्या छ ः महानिर्देशक मलेसिया र खाडी देशमा घरेलु कामदारमा प्रतिबन्ध भएपछि नक्कली श्रम भिसासमेत बन्न थालेको छ।
नक्कली भिसालाई नै आधार मानेर वैदेशिक रोजगार कार्यालयहरूले श्रम स्वीकृति दिएका कारण कतिपय कामदार विमानस्थलबाट फर्किनु परेको गुनासो गर्छन्। पछिल्लो समयमा रोजगारीको प्रलोभनमा भिजिट भिसामा नेपालीहरु विदेशीने गरेको वैदेशिक रोजगार विभागका महानिर्देशक डन्डुराज घिमिरे बताउँछन्। भिजिटमा गएका नेपाली सम्बन्धीत देशमा काम गर्ने उद्देश्यले गइरहेका छन्। यसलाई नियन्त्रण गर्ने प्रयास र भिजिट भिसाको काम गर्ने संस्थासँगै व्यक्ति पक्रिने काम भइरहेको उनले जानकारी दिए।
नक्कली भिसा कसरी र कसले श्रम स्वीकृति दिएको हो। त्यो विषयमा अध्ययन भइरहेको महानिर्देशक घिमिरेले बताए। ‘नक्कली भिसामा श्रम स्वीकृतिका विषयमा छानविन भइरहेको छ। यस कामको को–को सलंग्न छन्। उनीहरुमाथि कारवाही हुन्छ।’ उनले भने। पछिल्लो समय भिजिट भिसा मात्र होइन, भिसा र आयस्रोतको बैंकिङ कागतजात नै नक्कली हुने गरेको पाइएको छ। यस्तो कागतजात कहाँ बन्छ भनेर पीडितले सूचना नदिँदा कानुनी कारवाही गर्न समस्या भइरहेको उनको भनाइ छ।
नक्कली भिसाका कारण विदेश जान नपाएका पीडित दैनिक गुनासो लिएर आएपनि उनीहरुसँग कसले दिएको हो भन्ने प्रमाण नहुने गरेको विभागले जनाएको छ। नक्कली भिसाका कारण आर्थिक ठगिमा परेका मासिक ५० जना भन्दा बढी उजुरी बोकेर आउने गरेको विभागको मुद्धा शाखाले जनाएको छ। शाखाका अनुसार नक्कली भिसामा ठगिएको चालु आर्थिक वर्षमा ७० वटाभन्दा बढी म्यानपावर र एजेन्टका नाममा मुद्धा दर्ता भएका छन्।
नक्कली भिसा र आयस्रोतका कागतजात बनाएको प्रतिव्यक्ति ९० देखि एक लाख रुपैयाँ सम्म लिने गरेको पीडितले बताउने गरेको विभागले जनाएको छ। नक्कली भिसा र आयस्रोतका कागतजान बनाउने गिरोहले पीडितसँग नगद नै लिने गरेको उजुरीमा उल्लेख हुने गरेको विभागको भनाइ छ।
आर्थिक वर्ष २०७९÷८० मा अध्यागमन विभागले भिजिट भिसामा विदेश जान लागेका चार हजार सात सय २० जनालाई फिर्ता गरेको जनाएको छ। उनीहरुलाई बेचबिखनको उच्च जोखिममा रहेकाहरूलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता गरेको थियो। चालु आर्थिक वर्षका ६ महिनामा अध्यागमन विभागले १ हजार ५ सयभन्दा बढीलाई भिजिट भिसा र नक्कली भिसा भएकै कारण फिर्ता गरेको छ।
भिजिट भिसामा हुने मानव बेचबिखन रोक्न ब्युरोको टोली विमानस्थलमा दैनिक खटिँदै आएको छ। गत महिना प्रहरीले अध्यागमन अधिकृतसहितका गिरोहलाई पक्राउ गरेपछि भिजिट भिसामा विदेश जानेको संख्या पनि घटेको छ। सन् २०२२ मा १ लाख ७० हजार नेपाली विभिन्न देशमा भिजिट भिसामा गएको विवरण अध्यागमन विभागले उपलब्ध गराएको छ। विभागका अनुसार सन् २०२३ को करिब २ लाख नेपाली नेपाली भिजिट भिसामा विभिन्न देश गएका छन्।
जसमा ३० प्रतिशत नेपाली यूएई गएका छन्। भिजिट भिसामा बिदेसिनेमध्ये ९० प्रतिशत नेपाली वैदेशिक रोजगारीका लागि जाने गरेको गृह मन्त्रालयको अध्ययन गत वर्ष गृहमन्त्रालयले भिजिट भिसाको समस्या समाधानसम्बन्धी गरेको अध्ययनमा उल्लेख छ। यसो हुनुमा गृह मातहतकै अध्यागमन विभागका कर्मचारीको हात रहेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रश्न उठाउँदै आएको छ।
भिजिट भिसा र व्यक्तिगत भिसामा कामदार पठाउन एजेन्ट गाउँदेखि सम्बन्धित देशसम्म सक्रिय रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आप्रवासन अध्ययनमा उल्लेख छ। यूएई, कतार, युरोप र अफ्रिकी देश भिजिट भिसामा जाने नेपालीहरू ८० प्रतिशत रोजगारीका लागि गइरहेको श्रम मन्त्रालयको आप्रवासनसम्बन्धी प्रतिवेदनमा भनिएको छ।