बाँसबारी छाला जुत्ता कारखाना सिद्याउन लागि परेका हाइप्रोफाइल चौधरी पक्राउ

काठमाडौँ । व्यवसायी अरुण चौधरी बिहीबार पक्राउ परेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले राजधानीको लाजिम्पाटबाट पक्राउ गरेको हो।
बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा उनलाई पक्राउ गरिएको ब्युरोकी एआईजी किरण बज्राचार्यले जानकारी दिइन् ।
यस्तै छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजित नारायण सिंह थापालाई बत्तीस पुतलीबाट पक्राउ गरेको जनाएको छ भने आम्रपाली कन्ट्रक्सनका संचालक समेत रहेका सञ्जय ठाकुरलाई पनि पक्राउ गरेको हो । उनी चाँदबाग रेसिडेन्सी प्रालिका वर्तमान अध्यक्ष रहेको र जग्गा घोटालामा संलग्नता पाइएपछि पक्राउ गरिएको सिआइबिले जनाएको छ । उनलाई भने अनुसन्धान भइरहेकोले अदालत उपस्थित गराइएको छैन ।
बाँसबारी छाला जुत्ता कारखानाको जग्गा घोटाला प्रकरणमा पक्राउ परेका व्यापारी अरुण चौधरी र थापालाई लाई ४ दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय हुँदै अदालतमा उपस्थित गराइएर ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरोलाई अनुमति दिएको हो ।
अरुण चौधरीले र तत्कालिन अध्यक्ष समेतले बाँसबारी छालाजुत्ता कारखानाबाट च्याम्पियन फुटवेयर लिमिटेडको नाममा आएको १० रोपनी जग्गा निजिकरण गरेको आरोप छ ।
अस्पताल भर्ना,
पक्राउ परेपछि गएराति महाराजगञ्ज स्थित चिरायु अस्पतालमा भर्ना गरिएका चौधरीलाई मुटुमा समस्या देखिएर अस्पतालले रिफर गरेपछि ग्रान्डीमा सारिएको छ । उनीसँगै थापालाई पनि ग्रान्डीमै रिफर गरिएको छ ।
सांसद चौधरीको आपत्ति,
उद्योगपति तथा सांसद विनोद चौधरीले बाँसबारी छालाजुत्ता उद्योगको जग्गा नियम र प्रक्रियासंगत रूपमा सीजी ग्रुपले लिएकोमा सरकारले अहिले आएर प्रतिशोध साधेको बताएका छन् ।
संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद चौधरी व्यापारीविरुद्ध सरकार लागेको आरोप लगाएको बैठकमा रहेका एक सांसदले जानकारी दिए ।