२३.८६ खर्ब पुग्यो ऋण, नेपालीको थाप्लोमा ८२ हजार

२३.८६ खर्ब पुग्यो ऋण, नेपालीको थाप्लोमा ८२ हजार
  • ४ फाल्गुन २०८०, शुक्रबार ०९:३३

काठमाडौंँ–नेपालको कुल ऋण झन्डै २४ खर्ब पुगेको छ । माघ मसान्तसम्मको तथ्याङ्क अनुसार सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २३ खर्ब ८६ अर्ब ७७ करोड २७ लाख रुपैयाँ पुगेको हो ।

त्यसमध्ये तिर्न बाँकी आन्तरिक ऋण ११ खर्ब ८४ अर्ब ५२ करोड र बाह्य ऋण १२ खर्ब २ अर्ब २४ करोड रुपैयाँ बाँकी छ । नेपालले तिर्न बाँकी कुल ऋणको आधारमा एक नेपालीलाई ८१ हजार ८३८ रुपैयाँ भार छ । राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुसार हाल नेपालको कुल जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेका छन् ।

सरकारले सात महिनामै २ खर्ब बढी ऋण लिएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०÷८१ को माघ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । सात महिनामा सरकारले २ खर्ब २ अर्ब ४३ करोड ६० लाख रुपैयाँ ऋण ल्याएको हो ।

समक्ष अवधिमा सरकारले १ खर्ब ५० अर्ब ३१ करोड रुपैयाँ आन्तरिक ऋण उठाएको छ भने ५२ अर्ब १२ करोड ६० लाख रुपैयाँ बाह्य ऋण देखिएको छ ।

सरकारले औसतमा मासिक २८ अर्ब ३१ करोड रुपैयाँ ऋण ल्याएको तथ्याङ्कले देखाउँछ । माघ महिनामा मात्रै सरकारले २२ अर्ब ९७ करोड ६ लाख रुपैयाँ ऋण उठाएको छ । त्यसमध्ये २२ अर्ब आन्तरिक र ९७ करोड ६ लाख रुपैयाँ बाह्य ऋण ल्याएको हो ।

यस्तै, चालु आवको पहिलो महिनामामा १५ अर्ब ७७ करोड ८४ लाख (१३ अर्ब ६ करोड आन्तरिक २ अर्ब ७१ करोड ८४ लाख बाह्य), भदौमा ३६ अर्ब ६२ करोड ४१ लाख (३१ अर्ब २० करोड आन्तरिक र ५ अर्ब ४२ करोड ४१ लाख बाह्य), असोजमा ६० अर्ब ५७ करोड २९ लाख (५३ अर्ब ५ करोड आन्तरिक र ७ अर्ब ५२ करोड २९ लाख बाह्य ऋण), कात्तिकमा ३ अर्ब २ करोड ९७ लाख, मङ्सिरमा २९ अर्ब ९३ करोड ५६ लाख (१४ अर्ब आन्तरिक र १५ अर्ब ९३ करोड बाह्य) र गत पुस महिनामा ३३ अर्ब ५२ करोड ४७ लाख (१७ अर्ब आन्तरिक र १६ अर्ब ५२ करोड ४७ लाख बाह्य) ऋण ल्याएको छ ।

तथ्याङ्क अनुसार सरकारले महँगो ब्याजमा ऋण उठाएको छ । अर्थात् बाह्यको तुलनामा आन्तरिक ऋण नै धेरै उठाएर खर्च धानेको तथ्याङ्कले पुष्टि हुन्छ । आन्तरिक ऋणको तुलनामा बाह्य ऋण सस्तो पर्छ । बाह्य ऋण परिचालन गर्न नसकेको सरकारलाई ब्याजको भार कम हुन्छ । तर, सरकारलाई बाह्य ऋण उठाउन नसकी आफ्नो खर्च धान्नकै लागि महँगो ब्याजमा आन्तरिक ऋण उठाएको देखिन्छ ।

चालु आवको सात महिनामा सरकारले १ खर्ब ३० अर्ब ११ करोड ६७ लाख रुपैयाँ आन्तरिक ऋण तिरेको छ । समीक्षा अवधिमा तिरेको कुल ऋणमध्ये ९० अर्ब ९७ करोड १६ लाख रुपैयाँ सावाँ र ३९ अर्ब १४ करोड ५१ लाख रुपैयाँ ब्याज भुक्तानी गरेको हो ।

त्यसैगरि समीक्षा अवधिमा सरकारले २५ अर्ब १३ करोड ५ लाख रुपैयाँ बाह्य ऋण भुक्तानी गरेको छ । त्यसमध्ये सरकारले २० अर्ब १२ करोड ८६ लाख रुपैयाँ सावाँ र ५ अर्ब १९ लाख ब्याज भुक्तानी गरेको हो । समीक्षा अवधिमा सरकारले समग्रमा १ खर्ब ११ अर्ब १० करोड रुपैयाँ सावाँ भुक्तानी गरेको छ ।