बच्चा चोरी गर्ने महिला पक्राउ लगत्तै अस्पताल भर्ना

काठमाडौं । काठमाडौंको थापाथलीमा रहेको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट २६ दिनको नवजात शिशु चोरी भएको घटनामा एक जना महिला पक्राउ परेकी छन ।
बच्चा चोरी भएको घटनालाई केलाउँदै जाँदा प्रहरीले काँडाघारीबाट दैलेख घर भएकी मनकुमारी सिंहलाई पक्राउ गरेको थियो ।
पक्राउ परेको केही घण्टामा उनलाई पाठेघरबाट रक्तश्राव भएपछि अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ ।
बच्चा चोरी भएको घटना सार्र्वजनिक हुनै वित्तिकै प्रहरीले् सीसी टीभी फुटेज अध्ययन गरेको थियो । सिसिटिभी फुटेजकै आधारमा पक्राउ परेकी महिलाले बच्चा लिएर उनी ट्याक्सीमा चढेर पेप्सिकोलासम्म पुगेको देखिएको थियो भने त्यसपछि डेढ किलोमिटर हिँडेर घरसम्म पुगेको देखिएको थियो ।
प्रहरी डेरामा पुग्दा मनकुमारी हालसालैको सुत्केरीजस्तो अवस्था बनाएर बसेकी थिइन् । यो कार्यमा उनलाई दिदीले समेत सघाएको पाइएको छ । शुरुवातीमा उनीहरूले बच्चालाई आफैंले जन्म दिएको दाबी गरेका थिए । सीसीटीभीमा मनकुमारीलाई चिनिसकेको प्रहरीले त्यसपछि उनीसहित उनका जागिरे श्रीमान् र दिदीलाई पनि नियन्त्रण गरेको हो ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार, केही दिनअघि मात्रै उनको गर्भ खेर गएको थियो । परिवारले प्रहरीलाई बताएअनुसार, उनी ७ महिनाको गर्भवती थिइन् । तर, बच्चा नरहेपछि उनी विक्षिप्त थिइन् त्यही कारण उनले शिशु चोर्ने योजना बनाएको पाइएको छ ।
यसबारे उनले श्रीमानसँग पनि झुटो बोलेको पाइएको छ । बच्चा जन्मिएको भनेर खबर गरेपछि नेपाली सेनाको ड्यूटीमा रहेका उनका श्रीमान पनि घरमा आएका रहेछन् ।
‘प्रहरी पुगेपछि मात्रै बच्चा आफ्नो नभएको उनले थाहा पाएका हुन्’, अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘सुरुमा उनी आफ्नै बच्चा भनेर दंग परेर बसेका रहेछन् ।’
पटकपटक गर्भपतन गर्नुपरेपछि उनी विक्षिप्त रहेको पाइएको प्रहरी अधिकृतहरु बताउँछन् । शुक्रबार प्रसूति गृह पुगेका बेला काभ्रेकी महिलाको शिशु एकछिन बोक्न पाएका बेला उनले लिएर हिँडेको पाइएको उनीहरुको भनाइ छ ।