वरिष्ठ गायक भक्तराज आचार्यको ८२ वर्षमा निधन

काठमाडौँ–वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ । सोमबार अपराह्न ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको संगीतकार चेतन सापकोटाले जानकारी दिए । उनले भने, ‘उहाँ आज अमर हुनुभयो ।’
भजन शिरोमणिको उपाधिबाट समेत प्रसिद्ध ८२ वर्षीय आचार्य ३० वर्षदेखि दूध मात्रै खाएर बाँचिरहेको संगीतकार सापकोटाले बताए ।
गायक आचार्य लामो समयदेखि क्यान्सरपीडित थिए । उनका दुई छोरा सत्यराज र स्वरुपराज पनि संगीत क्षेत्रमै क्रियाशील छन् । स्वर्गीय आचार्य सुगम संगीत तथा भजनमा पारंगत थिए । उनले भजनशरोमणिको उपाधि नै पाएका थिए । उनको जन्म १९९९ सालमा धनकुटामा भएको थियो ।
आफ्नो जीवनकालमा आचार्यले झण्डै ४०० गीतमा स्वर तथा संगीत दिएका छन् ।