Close

Recent Posts

प्रसाईले भनेजस्तै बैंकका सीईओ पक्राउ पर्न थाले

प्रसाईले भनेजस्तै बैंकका सीईओ पक्राउ पर्न थाले
  • १५ फाल्गुन २०८०, मंगलवार ०७:३५

काठमाडौँ–प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने, पूर्वसिईओ तुलसीराम गौतमसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल राष्ट्र बैंकको आग्रहमा केही समयदेखि प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआबी) ले उनीहरूलाई बैकिङ कसुरका विषयमा अध्ययन गरिरहेको छ। उनीहरूलाई बैकिङ कसुरमा पक्राउ गरेको सीआईबीले जनाएको छ।

सीआईबीका एआइजी किरण बज्रचार्यले मंगलबार १० जनालाई पक्राउ गरिएको बताएका छन्। उनीहरूलाई काठमाडौँका विभिन्न ठाउँबाट उनीहरूलाई पक्राउ गरिएको उनको भनाइ छ।

सेन्चुरी प्रभु बैंकमा गाभिएपछि न्यौपाने वरिष्ठ डेपुटी सीईओमा कार्यरत थिए। सेन्चुरीका तत्कालीन सीईओ गौतमले राजीनामा दिएपछि न्यौपानेले नै निमित्त सीईओको जिम्मेवारीमा थिए। यी बैंकमा रहँदा प्रवाह भएको ऋण अनियमितता गरेको आरोप उनीहरूमाथि छानबिन भइरहेको थियो।

मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले केही साताअघि मात्र गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सबै बैंकका सिईओहरु पक्राउ गरेर छानविन गर्न आग्रह गरेका थिए। प्रसाईले भनेजस्तै आज सिआइवीले दुई जना सिईओलाई पक्राउ गरेको छ। प्रसाईले बैंकका कारण नेपालको अर्थतन्त्रमा समस्या सिर्जना भएको भन्दै बैंकका सिईओलाई अनुसन्धान गर्नुपर्ने माग राख्दै आएका छन्।

प्रसाईले राष्ट्रवादी आन्दोलन गर्ने, बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजको अन्त्य हुनुपर्ने, संघीयता खारेज गर्नुपर्ने, लघुवित्त आतंक बन्द गर्नुपर्ने, हिन्दु राज्य कायम गर्नुपर्ने, राजसंस्था पुनर्स्थापना गर्नुपर्ने, देशभित्र रोजगारी सिर्जना गर्दै वैदेशिक रोजगारी रोक्नुपर्ने र आर्थिक संकटका कारण आत्महत्या गर्नुपर्ने अवस्था रोक्नुपर्ने लगायतका माग राखी देशव्यापी आन्दोलन गर्दै आएका छन्।

यी समस्या बैंकका कारण उत्पन्न भएको प्रसाईको दाबी छ। बैंकका कारण धेरै नेपालीको घरवार नै गुमेर सडकमा पुगेको प्रसाईले बताए।