लगानी सम्मेलनमा साना लगानीकर्तासँगै मात्र सम्झौता

काठमाडौँ– नेपालमा आइतवार र सोमबार लगानी सम्मेलन सम्पन्न भएको छ। पुर्व अर्थमन्त्री डा। प्रकाशशरण महतले जोडतोडले अघि सारेको लगानी सम्मेलन सरकार परिवर्तन हुँदाको असर सम्मेलनमा परेको देखियो।
सम्मेलनमा १५१ आयोजना सोकेस गरेकोमा विदेशी लगानीकर्ताले करिब २५ अर्ब लगानी स्वीकृत, सम्झौता र ड्राफ्ट आदानप्रदान भएको लगानी बोर्ड नेपालले जनाएको छ।
यस्तै, सम्मेलनकै अवसरमा चारवटा परियोजनाका लागि ९ अर्ब १३ करोड रूपैयाँ बराबरको लगानी स्वीकृत विभिन्न देशका लगानीकर्तासँग भएको उद्योग विभागले जनाएको छ।
लगानी सम्मेलनमा १० अर्ब लगानी गर्न कुनै कम्पनीले चासो नदेखाएको सम्मेलनमा सहभागि अर्थमन्त्रालकै उच्च कर्मचारीहरु बताउँछन्। सात अर्बभन्दा मूनि भएका सम्झौतालाई ठुला लगानी भन्ने नमिल्ने अर्थ मन्त्रालयका एक उच्च कर्मचारीले जानकारी दिए।
हालै सम्पन्न लगानी सम्मेलनमा सात अर्बभन्दा माथिको कुनैपनि सम्झौता नभएको अर्थमन्त्रालयका ती कर्मचारीले जानकारी दिए।
लगानी सम्मेलनमा ठुला बहुराष्ट्रिय कम्पनीहरु भन्दा साना कम्पनीहरु हावी देखिए। लगानी सम्मेलनमा साना प्रकृतिकै लगानीकर्ताहरु सम्झौता गरेर सम्पन्न भएको अर्थ मन्त्रालयका कर्मचारीहरुले टिकाटिप्पणी गरेका छन्।
नेपाल लगानीका लागि आकर्षक गन्तव्य भएको र लगानीका प्रसस्त अवसरहरू रहेको सन्देश लगानी सम्मेलनबाट विदेशी लगानीकर्तामाझ पुगेको अर्थ मन्त्री बर्षमान पुनले बताएका छन्। विदेशी लगानीकर्ताको सहभागिताले नेपाल लगानीका लागि विश्वकै उत्कृष्टमध्येको गन्तव्य भएको पुष्टि रहेको उनको दाबी छ। ‘लगानी सम्मेलन भव्य रूपमा सफल भयो। लगानीमैत्री वातावरण बनाउन अध्यादेशमार्फत नौवटा कानुनमा गरिएको संशोधनले लगानीकर्तामा विश्वास झन थपियो।’ उनले भने,‘लगानी सम्मेलन प्रदर्शनीमा राखिएका आयोजनाहरूमा विकास साझेदार र लगानीकर्ताले चासो दिएका छन्। लगानी सम्मेलनमा विदेशी लगानीकर्ता र विकास साझेदारहरूले लगानीका लागि आकर्षण बढ्यो।’
अर्थ मन्त्री लगानी सम्मेलनमा सफल भएको दाबी गरेपनि सम्मेलनामा जेजति सम्झौता भए यसलाई ठूलो उपलब्धि नभएको अर्थ मन्त्रालयका कर्मचारीहरुले बताएका छन्। सम्झौता भएका योजना साना प्रकृतिका मात्रै भएको उनीहरुको भनाइ छ।
लगानी सम्मेलनमा ५० भन्दा बढी साना–ठुला परियोजनामा सम्झौता भएको लगानी बोर्डका नेपालले प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जानकारी दिए।
५० मिलियन डलर अर्थात् ६ अर्ब ६७ करोड रूपैयाँ लागत रहेको परियोजनामा चिनियाँ र भारतीय कम्पनीबीच साझेदारी गर्ने सहमति भएको हो। नेपालका लागि यो ठुलो उपलब्धी भएको उनले बताए। ‘विदेशीमार्फत सकारात्मक सन्देश गएको छ। अहिलेको अवस्थामा यो ठुलो उपलब्धी पनि हो। लगानी सम्मेलममा गरिएको लगानी प्रतिबद्धता ढिलो चाँडो भित्रिन्छ।’ उनले भने, ‘लगानी कानुनमा सुधारका लागि अन्तर्राष्ट्रिय तथा स्वदेशी लगानीकर्ताहरूको चासो समेत देखियो। नेपालले लगानीका लागि कानुनी प्रतिबद्धता गरेको विदेशी लगानीकर्ता कम्पनीहरु मन
पराएका छन्।’
लगानी सम्मेलन लगानीको बोर्डको लागि भने अनुभव तिखार्ने ठूलो अवसर भएको उनको भनाइ छ।
लगानी बोर्डका अनुसार सम्मेलनका क्रममा आशयपत्र माग गरिएका १९ र मार्केट साउन्डीङ (लगानीकर्ताको प्रतिक्रिया संकलन) परियोजनासहित कुल १५४ परियोजनामा नौ खर्बका प्रस्तुत गरिएको थियो। लगानी सम्मेलनमा करिब साढे ९ अर्ब मात्र लगानी भित्रिएको नेपाल लगानी बोर्ड नेपालले जनाएको छ।
आठ सय भन्दा बढी विदेशी प्रतिनिधिसहित दुई हजार पाँच सय भन्दा बढीको सहभागिता रहेको लगानी सम्मेलनमा आस गरेजति लगानी नभित्र्याएको लगानी बोर्डकै कर्मचारीहरु बताउँछन्।
सम्मेलनमा भएका ठुला सम्झौता
बीएलसी गु्रप नेपाल र योटा डेटा सर्भिस इन्डियाबीच नेपालमा डेटा सेन्टर स्थापनाको लागि समझदारी पत्रमा लगानी सम्मेलनमै हस्ताक्षर भएको छ।
बीएलसी ग्रुपको अध्यक्ष वसन्त चौधरी रहेका छन्। डेटा सेन्टर, क्लाउन सर्भिसेस र आर्टिफिसियल इन्टेलिजेन्स सेवाको लागि दई पक्षीय सहमति भएको हो।
हङकङको बोर गु्रपले नेपालको होटलमा पौने २ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ। नेपालको साःख ग्रुपसँग मिलेर लुम्बिनी प्रदेशमा लगानी गर्ने भएको हो।
हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र गैरआवासीय नेपाली संघबीच राष्ट्रिय समन्वय परिषद्हरुबीच समझदारीपत्रमा हस्ताक्षर भएको बोर्डले जनाएको छ।
यस्तै, लगानी सम्मेलनको अवसरमा काठमाडौंमा दुई ग्रपबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। कपिलवस्तुको गोरुसिंगेमा १०० मिलियन आरएमबी लगानी गर्ने सम्झौता भएको छ।
नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्रा।लि। र कोरियन कम्पनी एमएबीसी इन्भेष्टमेन्ट ग्रुप प्रा।लि। बीच लगानी सम्झौता भएको छ। नेपाल सरकारले आयोजना गरेको लगानी सम्मेलनको दोस्रो दिनसम्झौता भएको हो।
नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारा ताल क्षेत्रमा अस्ट्रेलियाबाट लगानी भित्रिएको छ। रारामा बन्ने पहिलो लक्जरी रिसोर्टमा अस्ट्रेलियाको एक्सपर्ट ग्रुपले लगानी गर्ने भएको हो ।
सम्झौतामा एमएबीसी इन्भेष्टमेन्ट ग्रुपको तर्फबाट उक्त कम्पनीका अध्यक्ष जियोन योंग लि र नेक्सजेन म्यानेजमेन्टको तर्फबाट आधिकारिक प्रतिनिधि शिवराज दवाडी ९माधव दवाडी० ले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार लगानीको रकम नेपाली ६ अर्ब बराबर रहेको छ।
बोर्डका अनुुसार विप्रेषण आप्रवाहको रकम जलविद्युत् आयोजनामा लगानी गर्ने गरी रेमिट हाइड्रो परियोजना सञ्चालनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ।
नेपालमा भौतिक पूर्वाधार तथा पीपीपी पाइपलाइन सुदृढीकरण, पीपीपी परियोजना र कार्यक्रम तयारी र कार्यान्वयनमा अन्तर्राष्ट्रिय असल अभ्यास प्रवद्र्धनका लागि सहकार्य, संयुक्त रूपमा सभासम्मेलन, गोष्ठीका आयोजना गर्न तथा संयक्त प्रकाशनहरू तयार गर्न दुवै संस्था सहमत भएका हुन्।
आशयपत्र पेश गर्न लगानीकर्तालाई ऊर्जा परियोजनाको हकमा ४५ दिन र गैर–ऊर्जा परियोजनाको हकमा ३५ दिनको समय प्रदान गरिएको छ। लगानी सम्मेलनमा यस प्रकारका सम्झौता भएको बोर्डले जनाएको छ। लगानी सम्मेलनपछि देशको अर्थतन्त्रमा सुधार आउने गरी केही लगानीकर्ताहरुसँग प्रतिवद्धता भएको समेत बोर्डको भनाइ छ।