Close

Recent Posts

रुसी सेनामा भर्ती भएका नेपालीको झुटो सूचना दिन्छ रुस

रुसी सेनामा भर्ती भएका नेपालीको झुटो सूचना दिन्छ रुस
  • २७ बैशाख २०८१, बिहीबार ०७:३४

काठमाडौँ– रुसी सेनामा भर्ती भएका नेपालीका बारेमा रुस सरकारले नै झुटो विवरण दिनेगरेको छ। । परराष्ट्र मन्त्रालयका अनुसार रुसी सेनामा भर्ती भएका, घाइते र मृत्यु भएका नेपालीका बारेमा रुस सरकारले झुटो विवरण दिने गरेको छ।

mulpatra

नेपालले मागेको विवरणमा रुसी पक्षले फरक–फरक सूचना दिएको परराष्ट्र मन्त्रालयका कर्मचारीहरु बताउँछन्। गत साता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी सेनामा आबद्ध नेपालीहरूलाई स्वदेश फकाउन उच्चस्तरमा कूटनीतिक पहल गर्ने घोषणा गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार रुसी सेनामा आबद्ध नेपालीको जीवन रक्षार्थ अभियानका सदस्यहरुले गरेको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले रुसी सेनामा कार्यरत नेपालीको उद्धारका लागि सरकारले उच्चस्तरीय पहल गर्न आश्वासन दिए।

तर परराष्ट्र मन्त्रालयका कर्मचारीहरु भने रुसी सेनामा आबद्ध नेपालीहरूलाई स्वदेश फकाउन प्रधानमन्त्री प्रचण्ड घोषणा गरेजस्तो सहज नहुने बताएका छन्। परराष्ट्र मन्त्रालयले गत पुसयता रुसी सेनामा आबद्ध नेपालीहरूलाई स्वदेश फकाउन सात पटकभन्दा बढी त्यहाँको विदेशी मन्त्रालयमा मस्कोस्थित नेपाली दूतावासमार्फत पत्राचार गरिसकेको छ। तर रुसी सरकारले उक्त पत्रको अहिलेसम्म केही प्रतिक्रिया नदिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

परराष्ट्र मन्त्रालयका एक कर्मचारीका अनुसार रुसी सेनामा भर्ती भएका नेपाली स्वदेश फर्किन नचाहेको भन्दै रुसी सरकार तर्किर्दै आएको छ। जसका कारण प्रधानमन्त्रीले भनेजस्तो उच्च तहमा कुटनीतिक पहल गरेर रुसी सेनामा भर्ती भएका नेपाली स्वदेश फकाउन सजिलो नभएको ती कर्मचारी बताउँछन्।

अहिले रुसी सेनामा नेपाली कसरी र कहाँबाट गइरहेका छन् भनेर अध्ययन गर्नुपर्छ। सरकारले रुस मात्र होइन, युरोपका देश हुँदै रुसी सेनामा भर्तीका लागि गइरहेका नेपालीको पहिचान गरेर रोक्नुपर्ने ती कर्मचारीले बताए। ‘रुसी सेनामा ९ हजारभन्दा बढी नेपाली भर्ती सूचना गत चैतमा त्यहाँबाट आएको थियो। त्यसपछि फेरी वैशाख पहिलो साता करिब ५ हजार नेपाली रुसी सेनामा छन् भन्ने सूचना आयो। तर मस्कोस्थित नेपाली दूतावासले रुसी सेनामा करिब ३ हजार नेपाली भर्ती भएको अनुमान गरेको छ।’ उनले भने, ‘रुसी सेनामा भर्ती भएका ७ सयभन्दा बढी नेपाली घाइते भएको सूचना रुसले दुई महिनाअघि दिएको थियो। तर, त्यसको २० दिनपछि करिब ३ सय नेपाली रुसी सेनामा घाइते भएको सूचना रुसबाटै आयो।’

रुसी सेनामा भर्ती भएका २ सयभन्दा बढी नेपालीहरुको मृत्यु भइसकेको मस्कोस्थित नेपाली दूतावासको अनुमान छ। तर रुस सरकारले डिएनए परिक्षण गर्ने भन्दै त्यहाँ मृत्यु भएको नेपालीका यकिन विवरण लुकाइरहेको उनको भनाइ छ।

रुसबाट आएका सूचनाहरु नै बाजिन्छन्। रुस सरकारले अहिले सम्म यकिन सूचना दिएको छैन। जसका कारण रुसबाट नेपाली स्वदेश फकाउन सम्भव नभएको ती कर्मचारीले जानकारी दिए।

रुसी सेनामा आवद्ध नेपाली फकाउन प्रधानमन्त्री, गृहमन्त्री र परराष्ट्र मन्त्रीहरुले नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकभसँग पटक–पटक छलफल गरिसकेका छन्। राजदूत एलेक्सी नोभिकभले यस विषयमा रुसी सरकारसँग छलफल गर्ने मात्र उनीहरुलाई आवश्सान दिर्दै आएका छन्।

गत फागुन २४ गते उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र रुसी विदेशमन्त्री सर्गेइ लाभरोभसँग फोनवार्ता गरेका थिए। वार्ताका क्रममा परराष्ट्रमन्त्री श्रेष्ठले रुसी सेनामा भर्ना भई मृत्यु भएकाहरूको शव नेपाल फिर्ता ल्याउने, मृतकको परिवारलाई क्षतिपूर्ति दिने र घाइतेको उपचारका विषयमा कुरा भएको परराष्ट्र मन्त्री श्रेष्ठले बताएका थिए।

उक्त वार्तापछि पनि रुसको विदेश मन्त्रालयले रुसी सेनामा भर्ती भएको नेपालीको संख्या, शव नेपाल फिर्ता ल्याउने, मृतकको परिवारलाई क्षतिपूर्ति दिने र घाइतेको उपचारका बारेमा केही प्रतिक्रिया नदिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

रुसी सेनामा नेपालीको अवैध भर्ना रोक्ने विषयमा रुस सरकारसँग छलफल भइरहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत बहादुर राई बताउँछन्। उनका अनुसार रुसी सेनामा कति नेपाली भर्ती भएका छन्, कति घाइते छन, उनीहरुको अवस्था कस्तो र मृतकका हकमा सरकारले विवरण मागिरहेको प्रवक्ता राईले बताए।

रुसी सेनामा भर्ती भएको नेपालीको संख्या, शव नेपाल फिर्ता ल्याउने, मृतकको परिवारलाई क्षतिपूर्ति दिने र घाइतेको उपचारका बारेमा रुसको सम्बन्धीत पक्षसँग कुराकानी भइरहेको छ। भने रुस पनि नेपालको प्रस्तावमा सकारात्मक भएको उनको भनाइ छ।

रुसी सेनामा भर्ती हराएको भन्दै ७ सयभन्दा बढी आफन्तले खोजिका लागि आवेदन दिएको कन्सुलर विभागले जनाएको छ। विभागका अनुसार धेरै आवेदन रुसी सेनामा भर्ती भएको केही समयदेखि सम्र्पकमा नभएको परेका छन्।