‘संयुक्त भिसा प्रणाली’ लागू भएपछि खाडीका सबै देश घुम्न पाइने

काठमाडौँ– गल्फ कोअपरेशन काउन्सिल (जीसीसी) अन्तर्गतका देशहरुले संयुक्त भिसा प्रणाली लागू गर्ने भएका छन् । साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (यूएई), बहराइन, कुवेत, ओमान र कतारले युरोपेली देशले प्रयोगमा ल्याएको सेन्जेन भिसाजस्तै यी देशले ‘संयुक्त भिसा प्रणाली लागू’ गर्ने भएका हुन् ।
हाल युरोपेली संघको सेन्जेन भिसाजस्तै उक्त संयुक्त भिसा प्रणाली लागू भएपछि खाडीका देशमा कार्यरत आप्रवासी कामदारले पनि ६ वटा देश गर्न पाउने छन् । जिसिसिको नयाँ नियम लागू भएपछि एक महिने अवधिको रहने उक्त भिसा आप्रवासी कामदारले पनि भ्रमण गर्न र छुट्टी मनाउन अन्य खाडीका देश जान पाउने छन् ।
जीसीसीअन्तर्गतका देशले ठूलो संख्यामा विदेशी पर्यटक आकर्षित गर्न समेत संयुक्त भिसा प्रणाली लागू गर्ने लागेको यूएईका अर्थमन्त्री अब्दुल्ला बिन तौक अल मारीले बताएका छन् । हालै गल्फ न्युजले यूएईका अर्थमन्त्री मारीलाई उदत् गदै संयुक्त भिसा प्रणाली लागू भएपनि रोजगारीमा आएका विदेशी श्रमिकले समेत गल्फ कोअपरेशन काउन्सिलका सबै देश घुम्न पाउने जानकारी दिएका थिए ।
जिसिसिका अधिकारीहरु सन् २०२४ को अन्त्यसम्म संयुक्त भिसा प्रणाली कार्यान्वयनमा आउने बताएका छन्। उक्त भिसाले व्यापार र सांस्कृतिक आदानप्रदानका लागि खाडी क्षेत्रमा अवसरहरु सिर्जना गर्ने आंकलन समेत जिसिसिको छ ।
क्षेत्रीय र अन्तर्राष्ट्रिय दुवै पर्यटकहरुका लागि प्रमुख गन्तव्यको रुपमा खाडी देशहरु स्थापित हुने पनि समेत जिसिसिले बताउँदै आएको छ ।