साउदीमा रक्सी बेच्दा पाँच कोर्रा र १५ महिना जेल बसेका ती युवा

काठमाडौँ– १४ वर्षअघि मोरङ बेलबारीका ४३ वर्षेयि एक युवा वैदेशिक रोजगारीका लागि साउदी पुगे । उनी ग्रील कम्पनीको रोजगारीमा गएपनि हातमा सीप नभएका कारण अर्कै काममा परे । ती युवकलाई ग्रील फिटिङको रोजगारीमा म्यानपावरले साउदी पठाएको थियो । तर उनीसँग ग्रीलको बारेमा केही सीप नभएपछि कम्पनीले फलाम बोक्ने काम लगायो ।
आजभन्दा १४ वर्षअगाडी गाँउमा ग्रीलको चलन थिएन । ग्रील कम्पनी पहिलो पटक साउदी टकेरै देखेको मोरङका ती युवाले बताएका छन् । ग्रीलको काम नजानेपछि कम्पनीले फलाम बोक्न लगायो । त्यो काम गर्न गाहे भएपछि साउदी पुगेको सात महिनामै कम्पनी छाडेर भागेको वैदेशिक रोजगार बोर्डको सचिवालयमा भेटिएका उनले जानकारी दिए ।
मोरङका यी युवक साउदीमा १३ वर्ष अवैध रुपमा बसेर अवैध कामनै गरेर हालै स्वदेश फर्किएका हुन् । उनी साउदी पुगेको सात महिनादेखि नै अवैध रुपमा बसेर कामको गरेको बताउँछन् ।
१३ वर्ष साउदीमा सिडी, फिल्म, लक्की चिठ्ठा र रक्सी व्यापार अवैध रुपमा गरेर बसेको उनले जानकारी दिए । उनका अनुसार साउदीमा अवैध रुपमा बस्दा सकेजति सबै अवैधानिक काम गरियो। पैसा पनि कमाइयो । तर बचाउन सकिएन ।
साउदीमा अवैध व्यापार गर्ने बानी बसेका कारण १४ वर्ष घर फर्किन मन नै नलागेको उनले बताए । ‘पहिला फिल्मको सिडी खुबै बेचियो। राम्रै कमाइपनि भयो । सिडी व्यापारसँगै ‘लक्की ड्र’को चिठ्ठा पनि विदेशी नागरिकलाई खेलाइयो ।’ उनले भने, ‘आठ वर्षअघि साउदी सरकारले फिल्म हेर्न दिने नयाँ नीति ल्याएपछि सिडी व्यापार नै भएन् । त्यसपछि ‘लक्की ड्र’ र रक्सी व्यापारतिर लागे। यो व्यापार कोरोना महामारीमा खुबै फस्टयो ।’
मलाई साउदीका विभिन्न शहरमा ‘रक्से साँइला नेप्स’ भनेर चिन्ने गरेका थिए । त्यही रक्से साइला शब्दले आफुलाई १५ महिना अघि फसाएको उनको भनाइ छ ।
साउदीमा नौ वर्षदेखि नेपाली घरेलु जाँड र रक्सी बनाएर बेच्न थालेका थियौं। लक्की ड्रको चिठ्ठा कटाउने बाहानामा रक्सी व्यापार विस्तार गरेको उनले जानकारी दिए ।
घरेलु जाँड र रक्सी नेपालीले बनाउने हो। व्यापारका लागि बंगाली र पाकिस्तानीलाई लगाउने गरेको उनले जानकारी दिए । साउदीमा पनि नेपालमा जस्तै घरेलु रक्सी र जाँड बनाएर व्यापार गरौं । जाँड मोहीजस्तै हुने भएका कारण बोटल प्याक गरेर कम्पनी–कम्पनीमा पु¥याएको उनले सुनाए ।
नेपालबाट घरेलु रक्सी उत्पादन गर्ने मर्चालाई पिठोसँग मिसाएर मगाउने र स्थानीयस्तरमा पाइने चामल, गहुँ र खजुरजस्ता खाद्य पदार्थमा राखेर घरेलु मदिरा बनाएर व्यापार गरेको उनले बताए । ‘साउदीमा मदिराको उत्पादन, बेचबिखन गर्नेलाई जरिवानादेखि जेल सजाय हुन्छ। त्यहाँ घरेलु मदिरालाई अवैधानिक मानिन्छ। तर हामीले कहिले फलफुलको जुस, नरिवलको पानी, मोही र खरवुजाभित्र भरेर व्यापार गरौं ।’ उनले भने।
साउदीको ११ शहर, कुवेत र बहारइनसम्म नेपाली घरेलु रक्सी बनाएर व्यापार गरेको उनको भनाइ छ ।
उनका अनुसार साउदीको शहर बाहिर केही फार्मभित्र टहरा भाडामा लिएर रक्सी बनाउन काम गरियो । हामीले साउदीको पाँच शहरमा जाँड–रक्सी बनाउने ११ जना राई, तामाङ र लिम्बु समुदायका व्यक्तिलाई रोजगारी दिएका थियौं । हामी तीन जना पक्राउ परेपछि उनीहरु पनि भागेको उनले बताए ।
यसरी कोर्रा खाए
तीन वर्षदेखि कुवेत र बहारइनमा पनि अवैध रुपमा रक्सी मालवाहक ट्रकमार्फत पठाउन थालेका थियौं । मलाई कुवेत र बहारइन रक्सी सप्लाई गर्ने भारतीय, बंगली र पाकिस्तानी ड्राइभरले सहयोग गरेका थिए । रक्सीमा मात्र होइन, जाँड पनि बनाएर ती देशमा पठाउने गरेको उनले बताए । ‘पहिला बंगली र पाकिस्तानीमार्फत रक्सी अवैधमा रुपमा बेचियो । पछि रक्सी तस्करी पत्ता लगाएर आफैं व्यापार थाले । सुरुमा केही अप्ठयारो लागेको थियो। पछि बानी हुँदै गयो । ’ उनले भने।
उनका अनुसार १५ महिनाअघि हामीले बनाएको रक्सी खाएर नेपाली र भारतीय झगडा गरेका छन् । झगडाले उग्र रुप लिएपछि कम्पनीले प्रहरी बोलाएर उनीहरुलाई जिम्मा लगाएपछि हामी प्रहरीले खोजी सूचीमा रहेछौं ।
प्रहरीले हामीलाई रक्सी उत्पादन गर्न कम्पनी बाहिर समाएका कारण कडा कानुनी कारवाही हुन्बाट जोगिएको उनले बताए । ‘मदिराको मुद्दामा जेल परेको विदेशीलाई साउदी प्रहरीले समाएपछि कोर्रा हान्ने गरेको छ । यो साउदी प्रहरीले भखरै ल्याएको नयाँ कानुन हो । साउदीमा पक्राउ परेका विदेशी नागरिकलाई यातना दिन मिल्दैन् । ’ उनले भने, ‘यो चाँही मतुवा(धार्मिक कानुनविज्ञ)ले ल्याएको नयाँ कानुन हो । साउदीमा मुतुवाले ल्याएको कानुन सरकारले स्वीकार्ने गर्छ । पछिल्लो समय अवैध रुपमा रक्सी व्यापार बढेपछि यस्तो कानुन ल्याएको हो । ’
म र लम्जुङका दुई साथी रक्सी व्यापारमा संलग्न भएको आरोपमा ११ हजार रियाल र १५ महिना जेल बसेर छुटेको उनको भनाइ। जरिवाना, जेल सजायसँगै ५ कोर्रा पनि साउदी प्रहरीले हानेको उनी बताउँछन् ।
जेल परेको २३ दिनपछि साउदीको उच्च अदालतले ११ हजार रियाल जरिवाना, १५ महिना जेल र चार कोर्रा सजाय सुनाएको थियो । त्यही सजाय काटेर अहिले स्वदेश फर्किएको उनले बताए । ‘कोर्रा हान्नुभन्दा तीन महिना अगाडीदेखि दैनिक स्वास्थ्य परिक्षा ग¥यो । दैनिक डाइटिङ समेत गरायो। त्यसपछि रातीको १२ बजेतिर अध्याँरो कोठामा लगेर हरेक एक घण्टामा एक कोर्रा हिकाएर सजाय दियो ।’ उनले भने।
उनका अनुसार कोर्रा हान्नु अगाडी एउटा औषधीसहितको सुँइ हानेका कारण कोर्रा हानेको दुई दिनसम्म केही थाहा भएन। त्यसपछि झमझमाउन थाल्यो ।
कोर्रा हानेपछि फिङगर प्रिन्ट गरे साउदीस्थित नेपाली दूतावासलाई जिम्मा लगाएको उनले जानकारी दिए । कोर्रा हानेपछि हिडंन समस्या भएका कारण अहिले काठमाडौँकै एक नीजि अस्पतालमा उपचार गरिरहेको उनले बताए ।
उनले साउदीमा रक्सी व्यापार गरेर इटहरीमा तीन कठ्ठा जग्गा र एकतले घर बनाएका छन्। अब नेपालमै केही व्यापार गरेर बस्ने योजना उनको छ ।
वैदेशिक रोजगारीका लागि साउदी पुगेका चार सय ८० जना नेपाली जेल परेका छन् । उनीहरू अवैधरूपमा घरेलु रक्सी कारखाना सञ्चालन, सेवन तथा बिक्री गरेको अभियोगमा जेल परेको साउदीस्थित नेपाली दूतावासले जनाएको छ ।
४८० जना नेपाली जेलमा रहेको र जेलमा परेकामध्ये ८० प्रतिशतभन्दा बढी अवैध मदिराको उत्पादन, बिक्रीवितरण र सेवनमा संलग्न मुद्दामा पक्राउ परेको सूचना साउदी अध्यागमन विभागले दिएको सूचना पाएको रयादस्थित नेपाली दूतावासका प्रथम सचिव टोपनारायण गिरीले बताएका छन् । साउदी रोजगारीका लागि आएका विदेशी नागरिक अवैध बाटोमा लाग्दा जेल, ब्लडमनि र मृत्युदण्डसम्मको सजाय पाउने गरेको उनको भनाइ छ ।
साउदीमा रक्सी उत्पादन मुद्धामा पक्राउ परेका विदेशी नागरिकलाई ६ महिनादेखि सात वर्षसम्मको जेल सजाय र कोर्रा हान्ने कानुनी व्यवस्था छ ।