बजेटको आकार १८ खर्ब ६० अर्ब ३० करोड: यस्ता छन् महत्वपुर्ण योजना
काठमाडौं– सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष (आव) २०८१ ८२ का लागि उक्त आकारको बजेट ल्याएका हुन् ।

यो चालु आवको तुलनामा ६ .२ प्रतिशतले धेरै हो । यो संशोधित बजेट भन्दा २१।५६ प्रतिशत धेरै हो । यस वर्ष सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएको थियो ।
सरकारले चालु बजेट ११ खर्ब ४० अर्ब ६६ करोड विनियोजन गरेको छ । यो कुल विनियोजनको ६१.३१ प्रतिशत हो । पूँजीगत तर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड विनियोजन भएको छ । यो कुल बजेटको १८.९४ प्रतिशत हो । वित्तीय व्यवस्था तर्फ ३ खर्ब ६७ अर्ब १८ करोड विनियोजन भएको छ । यो कुल बजेटको १९.७४ प्रतिशत हो ।
![]() |
![]() |
![]() |
|---|
अर्थमन्त्री वर्षमान पुनले नेपालको अर्थतन्त्रले नयाँ पुस्ता अनकुलको आर्थिक सुधारको माग गरेको बताएका छन् ।मंगलबार संसदमा आर्थिक वर्ष २०८१÷०८२ को बजेट पेस गर्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् । उनले आगामी वर्षको बजेट नयाँ पुस्ता अनुकूलको अर्थतन्त्र आर्थिक सुधारमा केन्द्रित भएर ल्याएको बताए ।
उनले युवा पुस्ताले माग गरे अनुरुप कौशल युक्त ज्ञानसिप, नवप्रवर्तन र उद्यमशीलता बढाउन आवश्यक देखिएको बताए । उनले अर्थतन्त्रमा संरचनागत चुनौतीको कारण पछिल्लो समय सार्वजनिक ऋण खुम्चिएको सार्वजनिक वृत्तमा असन्तुलन बढ्दै गएको सार्वजनिक ऋण व्यवस्थापन खर्च बढ्दै गएको र पुँजीगत खर्च गर्ने क्षमता घट्दै गएको कारण थप चुनौती सिर्जना भएको बताए।
उनले वर्षौंदेखि उस्तै प्रकृतिका समस्या दोहोरिँदै गएकाले अर्थतन्त्रमा देखिएको कजोर क्षमताको दुष्चक्र तोड्दै नयाँ कार्यक्रममार्फत समृद्धिको लक्ष्य हासिल गर्नुपर्ने देखिएको बताए ।
Image Source: © https://mulpatra.com
बजेटका पाँच प्राथमिकता
अर्थमन्त्री पुनले बजेटको पाँच प्राथमिकता तय गरिएको बताए । बजेटका पाँच प्राथमिकतामा आर्थिक सुधार निजी क्षेत्रको प्रवद्र्धन, कृषि, ऊर्जा, सूचना प्रविधि, पर्यटन, औद्योगिक विकास र पूर्वाधार निर्माण रहेको उनले जानकारी दिए ।
त्यस्तै शिक्षा, स्वास्थ्य लगायत सामाजिक क्षेत्रको विकास पनि बजेटको प्राथमिकतामा परेको छ । त्यसैगरी समावेशीता र सामाजिक सुरक्षा र सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहमा सुधार गर्नु बजेटको प्राथमिकता रहेको उनले जानकारी दिए ।
मुलुकको अर्थतन्त्र सुधार,आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्ष घोषणा
अर्थमन्त्री पुनले सरकारको निरन्तर प्रयासबाट मुलुकको अर्थतन्त्र सुधार हुँदै गएको बताए । उनले सरकारले अर्थतन्त्रमा देखिएका चुनौतीलाई सम्बोधन गर्दै आम नागरिकमा आत्मविश्वास र आशा जगाउने दस्तावेजको रूपमा बजेट प्रस्तुत गरेको बताए ।
सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्न आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्ष घोषणा गरेको बताए ।
कृषिमा लगानी दशक घोषणा
सरकारले कृषिमा लगानी दशक घोषणा गरेको छ । अर्थमन्त्री पुनले सरकारी, निजी, सहकारी तथा विकास साझेदारबाट कृषि क्षेत्रमा लगानी अभिवृद्धि गर्न वि.सं. २०८१ देखि २०९१ सम्मको अवधिलाई कृषिमा लगानी दशक घोषणा गरे । उनले कृषिको व्यवसायीकरण र आधुनिकीकरण गरी उत्पादन र उत्पादकत्व अभिवृद्धि गरिने बताए ।
उनले गाँजाको व्यावसायिक उत्पादन गर्न कानुनी व्यवस्था मिलाइने पनि बताए । उनले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको लागि ५७ अर्ब २९ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए ।



