बीमा अभिकर्ताको तालिम अनलाइन माध्यमबाट, डिजिटल प्रमाणपत्र वितरण
काठमाडौं– बीमा कम्पनीहरुले अब विद्युतीय प्रणालीबाट अभिकर्ता तालिम सञ्चालन गर्नुपर्ने भएको छ । कम्पनीहरुले तालिमपछि अभिकर्तालाई ई–प्रमाणपत्र (डिजिटल) पनि उपलब्ध गराउनुपर्नेछ।

नेपाल बीमा प्राधिकरणले बीमक (जीवन, निर्जीवन र लघु)का नाममा परिपत्र जारी गर्दै डिजिटल माध्यमबाट अभिकर्ताको तालिम सञ्चालन गर्नुपर्ने निर्देशन दिएको हो ।
अब बीमा कम्पनीहरुले अभिकर्ता तालिम निर्देशिका, २०७२ बमोजिम हुने गरी, विद्युतीय कारोबार ऐन, २०६३ र नियमावली, २०६४ को अधिनमा रही विद्युतीय प्रणालीबाट अभिकर्ताको तालिम सञ्चालन गर्नुपर्नेछ।
![]() |
![]() |
![]() |
|---|
त्यस्ता तालिमको अभिलेख बीमकले सुरक्षित राख्नुपर्ने तथा प्रमाणपत्रसमेत सूचना प्रविधि (डिजिटल) गर्न सक्ने प्राधिकरणले जनाएको छ । अभिकर्ता तालिमका लागि आवश्यक सफ्टवेयर सञ्चालन गर्नुपूर्व बीमकले प्राधिकरणमा जानकारी गराउनुपर्ने पनि परिपत्रमा उल्लेख छ ।
बीमा प्राधिकरणले अहिले बीमा अभिकर्ताको दर्ता, परीक्षा सञ्चालन तथा प्रमाणपत्र प्रदान, इजाजतपत्र जारी गर्ने तथा नवीकरणसम्बन्धी सम्पूर्ण कार्य विद्युतीय माध्यमबाट गराउँदै आएको छ ।



