Close

Recent Posts

म्यानपावरबाट ठगिएका रोजगारपीडित : जोसँग नगद लिएर ठग्छन्

म्यानपावरबाट ठगिएका रोजगारपीडित : जोसँग नगद लिएर ठग्छन्
  • २८ जेष्ठ २०८१, सोमबार १०:१५

काठमाडौं– वैदेशिक रोजगारीमा युएईको भिसा लागेका धदिङका मोहन शर्माले आरके म्यानपावर प्रालिमा २ लाख ४० हजार नगद बुझाएका थिए ।

उक्त म्यानपावरले शर्मालाई बैकिङ प्रणालीमार्फत् नभइ नगद नै पैसा माग्यो । २ लाख ४० हजार रुपैयाँ पैसा लिएपनि १० हजारको मात्र रसिद दिएको शर्माले बताए । ‘बैंकमार्फत पैसा पठाइदिन्छु भन्दा म्यानपावर नमानेपछि एजेन्टमार्फत नगद नै बुझाए । भोलि समस्या भयो भने भनेर सोध्दा म्यानपावर छ नि । तिम्रो पैसा सित्तैमा लिएको होइन । रोजगारीमा पठाउने लिएको हो भनेर जवाफ दियो ।’ उनले भने, ‘हाम्रो म्यानपावरले मात्र होइन । अहिले सबै म्यानपावरले यसरी पैसा लिने गरेका छन् । तिमी दुई वर्षपछि काम गरेर फर्किदा ३० लाखभन्दा बढी कमाएर आउँछौं यति पैसाको किन रसिद चहियो भनेर म्यानपावर सम्झायो ।’

यस्तै, इर्नर्जी ओभरसिज म्यानपावर प्रालीमार्फत ५ महिनाअघि कतार गएका बाग्लुङका जीवन क्षेत्री भनेजस्तो काम नपाएपछि स्वदेश फर्किनुभयो । उहाँले कतार जाँदा उक्त म्यानपावरलाई १ लाख ९० हजार नगद बुझाएका थिए ।
नगद पैसा नदिएका कारण अहिले म्यानपावरलाई मुद्दा हाल्न समस्या भइरहेको उनले बताए। ‘नेपालमा भनेजस्तो काम कतारमा नपाएपछि ५ महिनापछि कतारबाट फर्किएर म्यानपावरका नाममा उजुरी गर्न वैदेशिक रोजगार विभागमा आए । तर, पैसा दिएको प्रमाण नभएका कारण म्यानपावरलाई उजुरी गर्न समस्या भइरहेको छ ।’ उनले भने, ‘म्यानपावरले बैंकबाट पैसा लिन मान्दैन । नगद मात्र माग्छन् । त्यसमा पैसा लिए जतिको रसिद दिदैनन् । त्यही भएर नगद पैसा दिने कामदार समस्या परेर फकिँदा उजुरी गर्ने आधार हुँदैन् ।’

बैंकमार्फत् कारोबार गर्नुपर्ने विषयमा आफूलाई राम्रोसँग जानकारी नभएका कारण समस्यामा परेको उनको गुनासो छ ।

यसैगरी, विराटनगरका केशव भण्डारीले कुवेत जाँदा वल्ड न्यु इन्टरनेशनल रिसोर्स प्रालिमा २ लाख ४० हजार तिर्नुभएको थियो । तर, म्यानपावरले १० हजारको रसिद मात्र दिएको विभागमा भेटिएका भण्डारीले बताए। कुवेतमा भनेजस्तो काम नभएपछि कम्पनीले नेपाल पठाइदिएको भण्डारीले बताए । ‘बैंकमार्फत पैसा नबुझाउँदा फर्किएपछि म्यानपावरका नाममा उजुरी गर्न समस्या भयो । विभागले प्रमाण माग्छ । आफुसँग छैन । म्यानपावरलाई भन्यो जे गर्न मन त्यही गर्नुभनेर हप्काउँछ ।’ उनले भने।

शर्मा, क्षेत्री र भण्डारी त मूलपत्रले भेटेका प्रतिनिधि पात्र मात्र हुन् । उनीहरुजस्ता हजारौं श्रमिक बैंकबाट कारोवार नगर्दा फसेको समस्या दिएर दैनिक आउने गरेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

सरकारले २०७२ साउनदेखि खाडी र मलेसिया जाने कामदारका हकमा फ्रि–भिसा र फ्रि–टिकट लागू गरेको छ । तर, व्यवसायीले ५ लाखसम्म उठाएपनि १० हजारको मात्र रसिद दिएर काम कामदार यी देश पठाउदै आएका छन् ।

म्यानपावरले ठूलो रकम लिएपनि सरकारको आँखा छल्न कामदारलाई १० हजारका रसिद दिने गरेको कामदारकै गुनासो छ । यो विषयमा राज्यले खासै चासो लिएर काम नगरेको पीडितको गुनासो छ ।