Close

Recent Posts

निरन्तर तात्दै छ काठमाडौं, ‘हट डे’ वा ‘हिट वेभ’ चल्दैन

निरन्तर तात्दै छ काठमाडौं, ‘हट डे’ वा ‘हिट वेभ’ चल्दैन
  • ३० जेष्ठ २०८१, बुधबार ०५:३९

काठमाडौं– काठमाडौंबासीका अनुभवले मात्रै होइन, वैज्ञानिक तथ्यले पनि काठमाडौंमा उखरमाउलो गर्मी बढ्दै गएको पुष्टि गर्दछ । विगत ३० वर्षको तथ्यांकलाई आधार मानेर हेर्दा जुन महिनामा काठमाडौंको सरदर अधिकतम् तापक्रम २९.४ डिग्री सेल्सियस हो ।

mulpatra

काठमाडौंमा सन् १९६८ देखि २०२० सम्मको जुन महिनाको औसत अधिकतम तापक्रम ०.०५ डिग्री सेल्सियसले वृद्धि भइरहेको जल तथा मौसम विज्ञान विभागको रेकर्ड छ । यसैगरी जुन महिनाको सबैभन्दा ताता दिनहरुको ट्रेण्ड पनि ०.०५ डिग्री सेल्सियसले बढेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वचालित मौसम मापन केन्द्रमा यस वर्षको जेठ २६, २७ र २८ गते अर्थात् जुन ८, ९ र १० तारिखमा अधिकतम तापक्रम क्रमशः ३१.९, ३३.८ र ३४.४ डिग्री सेल्सियस रेकर्ड भएको छ ।

गत वर्ष जुन ९ तारिखमा काठमाडौंको अधिकतम तापक्रम ३२.२ र १० तारिखमा ३३.३ थियो । काठमाडौंको गर्मीले जुन महिनाको अधिकतम तापक्रमको थ्रेसहोल्ड (२९.४ डिग्री सेल्सियस) त नाघेको छ नै तातो दिन (हट–डे)को चेतावनीको स्तर नजिक पनि पुगेको देखिन्छ ।

काठमाडौंमा अधिकतम तापक्रम लगातार तीन दिनसम्म ३१.३ डिग्री सेल्सियस नाघ्यो भने सामान्य, ३२ नाघ्यो भने मध्यम र ३४.४ नाघ्यो भने विषम गर्मीको अवस्था मानिन्छ । तराईका जिल्लाहरुमा भने अधिकतम तापक्रम लगातार तीन दिन ४० डिग्री कटेपछि हट डे (तातो दिन) वा हिट–वेभ (तातो हावाको लहर)को चेतावनी जारी गरिन्छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले यस वर्ष मध्य र पश्चिम तराईका जिल्लाहरुमा तातो हावाको लहरको चेतावनी नवौंपटक जारी गरिसकेको छ ।

काठमाडौं पहाडी जिल्ला हो । तराई मधेशका जिल्लाका तुलनामा पहाडी जिल्ला बढी शीतल हुन्छन् । तर काठमाडौंमा केही वर्षयता निरन्तर अधिकतम र न्यूनतम दुवै तापक्रम बढिरहेको छ । त्यसैले काठमाडौंमै दिउँसोको चर्को घाममा घर बाहिर निस्किन त मुस्किल हुन्छ नै राति पनि गर्मी भएर आनन्दले सुत्न सकिँदैन ।

वरिष्ठ मौसमविद् मणिरत्न शाक्य काठमाडौंमै रातिको समयमा गर्मीका कारण सुत्नै गाह्रो हुने अवस्था हुनु चिन्ताको विषय भएको बताउँछन् । ‘काठमाडौंमा भुइँतलामा बस्नेहरुलाई त त्यति फिल नहोला तर माथिल्लो तलामा बस्नेहरु रातिमा समेत गर्मी भएर सुत्नै सकिँदैन भन्नुहुन्छ, यसरी गर्मी बढ्नु चिन्ताको विषय हो,’ शाक्य भन्छन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धर पनि अन्य जिल्लाहरुमा जस्तै काठमाडौंमा पनि बढी गर्मी भएको बताउँछिन् । तर काठमाडौंमा भने ‘हट डे’ वा ‘हिट वेभ’ चल्ने सम्भावना नरहेको उनी बताउँछिन् ।

काठमाडौंको भौगोलिक बनावट तराईको जस्तो सम्म नभएकाले तातो हावाको लहर चल्ने सम्भावना नहुने उनको अनुमान छ । गत वर्ष (सन् २०२३) मा पनि काठमाडौंमा जुन महिनाका अधिकांश दिनहरु औसत अधिकतम् तापक्रम (२९.४ डिग्री सेल्सियस) भन्दा बढी ताता थिए । यो वर्ष पनि २१ मेदेखि नै काठमाडौंको गर्मीले जुन महिनाको सरदर अधिकतम तापक्रमको थ्रेसहोल्ड नाघेको देखिन्छ ।