आर्थिक वर्ष सकिनै लाग्दा सरकारको बजेट घाटा ३ खर्ब नाघ्यो
काठमाडौं–सरकारको बजेट घाटा (आम्दानी भन्दा खर्च धेरै) ह्वात्तै बढेको छ । सरकारको बजेट घाटा भने ३ खर्ब नाघेको छ ।

चालु आर्थिक वर्ष सकिने अब १० दिन मात्रै बाँकी छ । सो अवधि नजिकिँदै जाँदा बजेट घाटाको आकार झन् झन् बढ्न थालेको छ । महालेखा नियन्त्रक कार्यालयको पछिल्लो तथ्याङ्कले यस्तो देखाएको हो । चालु आवको असार २१ गतेसम्म आइपुग्दा सरकारको बजेट घाटाको आकार ३ खर्ब ३ अर्ब १८ लाख पुगेको छ। सरकारले लिएको लक्ष्यअनुसारको आम्दानी नहुँदा बजेट घाटा बढेको हो ।
सो अवधिमा आइपुग्दा सरकारले ९ खर्ब ८५ अर्ब ७१ करोड १० लाख रुपैयाँ मात्रै आम्दानी गरेको छ । तर, खर्च भने १२ खर्ब ८८ करोड ७१ लाख २८ हजार रुपैयाँ पुगेको छ । सरकारको आम्दानी र खर्चमा ठुलो खाडल छ । अर्थतन्त्र गतिशिल हुनेगरि गतिविधि नबढ्दा राजश्व संकलन पनि प्रभावित भएको छ । अझै पनि आयातमा सुधार आउन सकिरहेको छैन । आर्थिक शिथिलताकै कारण उद्योग, व्यवसाय क्षमताअनुसार चल्न सकिरहेका छैनन्, जसले राजश्व संकलन प्रभाव परेको छ । सरकारको मुख्य आम्दानी नै राजश्व हो ।
![]() |
![]() |
![]() |
|---|
चालु आवमा सरकारले १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको छ । तर, चालु आव सकिन १० दिन मात्र बाँकी रहँदा लक्ष्यको ६७.४८ प्रतिशत मात्रै राजश्व संकलन गरेको छ । यता, ऋण तथा अनुदान, गैर कर आम्दानी पनि लक्ष्यअनुसार हुन सकेको छैन । यसरी लक्ष्यअनुसार आम्दानी नहुँदा बजेट घाटामा चलिन पुगेको हो।
यो वर्ष कर आम्दानी १३ खर्ब ५ अर्ब ४७ करोड ९६ लाख रुपैयाँ उठाउने लक्ष्य लिएको हाल ६६.३८ प्रतिशत मात्रै संकलन भएको छ । शुक्रबारसम्मको तथ्याङ्क अनुसार सरकारको कर आम्दानी ८ खर्ब ६६ अर्ब ५३ करोड ६५ लाख रुपैयाँ छ । यता, गैर कर मार्फत उठ्ने राजश्व भने १ खर्ब १७ अर्ब ६ करोड २१ लाखको लक्ष्य छ । तर, हाल लक्ष्यको ७९.८२ प्रतिशत अर्थात् ९३ अर्ब ४३ करोड ५७ लाख रुपैयाँ मात्रै संकलन भएको छ ।
यस्तै, सरकारले चालु आवमा ४९ अर्ब ९४ करोड ३० लाख रुपैयाँ अनुदान लिने लक्ष्य लिएको थियो । तर, १२ महिना सकिनै लाग्दा भने लक्ष्यको ५.५२ प्रतिशत अर्थात् २ अर्ब ७५ कराड ८० लाख रुपैयाँ मात्रै प्राप्त भएको देखिन्छ। अन्य मार्फतको आम्दानी भने २२ अर्ब ९८ करोड ८ लाख रुपैयाँ कायम भएको छ ।
Image Source: © https://mulpatra.com
बजेट कार्यान्वयनमा दोहोरिँदै पुरानै प्रवृत्ति, आर्थिक वर्ष सकिनै लाग्द पुँजीगत खर्च आधा मात्रै
महालेखाको तथ्याङ्कअनुसार चालु आवमा पनि बजेटको पूर्ण कार्यान्वयन नहुने पक्का भएको छ । नेपालमा साउन १ गतेदेखि सुरु हुने आर्थिक वर्ष असार मसान्तमा सकिन्छ । त्यसअनुसार सरकारको वार्षिक बजेट पनि असार मसान्तसम्ममा सक्नुपर्ने हुन्छ । तर, नेपालमा भने आवको अन्तिम समयमा मात्रै बढी खर्च हुने प्रवृत्ति छ । जुन, यो वर्षमा कायम रहने देखिन्छ ।
सरकारको पुँजीगत खर्च ज्यादै कमजोर देखिएको छ । चालु आर्थिक वर्ष सकिनै लाग्दा लक्ष्यको आधा मात्रै पुँजीगत खर्च भएको छ ।
शुक्रबारसम्म सरकारको पुँजीगत खर्च लक्ष्यको ५०.१ प्रतिशत मात्रै भएको छ । चालु आवमा सरकारले कुल १७ खर्ब ५१ र्अ ३१ करोड २१ लाख रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको थियो । यसमा चालु तर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख रुपैयाँ छ भने पुँजी गत खर्च ३ खर्ब २ अर्ब ७ करोड ४४ लाख रुपैयाँ छ । कार्यालयका अनुसार असार २१ गतेसम्म आइपुग्दा सरकारको पुँजीगत खर्च १ खर्ब ५१ अर्ब ३२ करोड ६४ लाख रुपैयाँ मात्रै छ ।
चालु खर्च भने लक्ष्यको ७३.५९ प्रतिशत अर्थात् ९ खर्ब ८ अर्ब ९८ करोड ९९ लाख रुपैयाँमा मात्रै छ । यता, समिक्षा अवधिमा सरकारको वित्तीय खर्च भने लक्ष्यको ७४.२९ प्रतिशत अर्थात् २ खर्ब २८ अर्ब ३९ करोड ६५ लाख रुपैयाँ छ । चालु आवमा सरकारको वित्तीय खर्च ३ खर्ब ७ अर्ब ४५ करोड ३६ लाख रुपैयाँको लक्ष्य थियो ।
आर्थिक वर्षको सुरुवातीमा सरकारको बजेट कार्यान्वयन तथा भुक्तानी सुस्त हुन्छ । तर, अन्तिम समयमा भने अस्वाभाविक रूपमा बढ्ने गरेको छ । असार महिनामा मात्रै सरकारको खर्च निकै उच्च हुने गरेको छ । अधिकांश वर्षहरूमा पुँजीगत बजेटको औसत ४० प्रतिशत असार महिनामा मात्रै खर्च हुने प्रवृत्ति छ । सरकारले सो अवधिमा बजेट सक्नका लागि रकमान्तर र थप निकासाको सहायता लिँदै आएको छ । नयाँ आयोजना र कार्यक्रम पूर्व तयारी नसक्ने, तर बजेटमा राख्ने प्रवृत्ति छ । यस्ता समस्याले पनि बजेट खर्चमा समस्या आउने गरेको अर्थविदहरु बताउँछन् । बजेट खर्च नहुनुको कारण पहिचान नगर्दा पनि बर्षेनी यस्तो प्रवृत्ति दोहोरिने गरेको छ ।
गत वर्ष पनि सरकारले ३ खर्ब ९७ अर्ब ८७ करोड रुपैयाँ बजेट घाटा व्यहोरेको थियो । गत आवमा सरकारले लक्ष्यको ८० प्रतिशत मात्रै खर्च गरेको थियो । गत आवका लागि सरकारले कूल १७ खर्ब ८३ अर्ब ७३ करोड ६३ लाख बराबरको बजेट ल्याइएको थियो। विनियोजित बजेटमध्ये ७९ दशमलव ६९ प्रतिशत अर्थात् १४ खर्ब २९ अर्ब ५६ करोड खर्च भएको थियो ।
गत आव चालुतर्फ ८५, पुँजीगततर्फ ६१.४४ र वित्तीय व्यवस्थातर्फ ८२.५८ प्रतिशत बजेट खर्च भएको छ। यता, राजश्व असुली भने लक्ष्यको ६८.२१ प्रतिशत मात्रै भएको थियो । कर राजश्व ३३.१८ प्रतिशत, गैर कर राजश्व १५.०७ प्रतिशत कम उठेको थियो । समग्रमा लक्ष्यको ७०.७३ प्रतिशत आम्दानी र खर्च ७९.६९ प्रतिशत मात्रै रहेको थियो ।



