सिमलताल बस घटना:चलान गरिएका भन्दा १५ यात्रु बढी, ५८ जना अझै बेपत्ता
काठमाडौं– नारायणगढ मुग्लिन सडकखण्डका सिमलतालमा असार २८ गते बिहान पहिरोमा परेर बेपत्ता भएका दुई वटा बसमा चलानीमा उल्लेख गरिएकाभन्दा १५ जना यात्रु बढी रहेको पाइएको छ । काठमाडौंबाट गौर जान आउँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बसमा थप ११ जना यात्रुहरुका आफन्तहरुले हराएको विवरण टिपाएका छन् ।

जिल्ला प्रशासन कार्यालय चितवनले दिएको जानकारी अनुसार बसका यात्रुका आफन्तहरुले जिल्ला प्रशासन कार्यालयमा आफ्नो बसमा यात्रा गरेका तर चलानीमा उल्लेख नभएकाहरुको विवरण टिपाएका छन् । बसको चलानीमा २७ जना उल्लेख भए पनि बीचमा विभिन्न ठाँउबाट यात्रुहरु चढेको भनेर विवरण टिपाएका हुन् । आफन्तहरुले टिपाएको विवरणसमेतलाई जोड्दा बसमा ३८ जना यात्रु रहेको पाइएको जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको नोटमा उल्लेख गरिएको छ ।
यस्तै, बीरगञ्जबाट काठमाण्डौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बसको चलानीमा २३ यात्रु देखिए पनि बीचबाट थप ४ जना यात्रु चढेको पाइएको छ । चलानीमा उल्लेख नभएका दुबै बसमा गरेर थप १५ यात्रु बसमा यात्रारत रहेको देखिएको हो ।
घटनामा कुल ६५ यात्रु परेको देखिएको, ति मध्ये ३ जना पौडिएर बाँच्न सफल भएको र ४ जनाको शव भेटिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । तीमध्ये ३ जनाको सनाखत भएको र अर्को एक जनाको सनाखत हुन बाँकी छ । अझै ५८ जना यात्रुको अवस्था अज्ञात छ ।
आज तेस्रो दिन पनि बस खसेको स्थानबाट झण्डै १ किलोमिटर तलबाट सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नेपाली सेनाको रसौलीस्थित विपद् व्यवस्थापन गणका तालिमप्राप्त उद्दारकर्मीहरुले बस र यात्रुको खोजी सुरु गरेका छन् । शुक्रबार र शनिबार दिनभर खोजी गरे पनि बसको अवस्था पत्ता लाग्न सकेको छैन ।
