जलिरहेको बंगलादेश, सर्वोच्च अदालतले ‘आगो’ निभाउला ?
काठमाडौं–बंगलादेशमा जारी हिंस्रक आन्दोलनले नियन्त्रण रेखा पार गर्नै लाग्दा त्यहाँको सर्वोच्च अदालतले नयाँ फैसला सुनाएको छ । आइतबार आएको उक्त फैसलाले आन्दोलनकारी विद्यार्थीहरुको मागलाई सम्बोधन गरेको छ । यस घटनासँगै त्यहाँको आन्दोलन शान्त हुनसक्ने आशा गरिएको छ ।
अदालतले सरकारी रोजगारीमा स्वतन्त्रता सेनानीका सन्तानलाई ३० प्रतिशत कोटा .(आरक्षण) दिने व्यवस्था हटाउँदै ५ प्रतिशतमा झारिदिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । उक्त फैसलासँगै अब त्यहाँको सरकारी जागिरमा ९३ प्रतिशत पदपूर्ति खुला प्रतिस्पर्धाबाट हुनेछ । बाँकी ७ प्रतिशतमा मात्रै आरक्षण लागू गरिने छ ।
त्यसमध्ये ५ प्रतिशत कोटा स्वतन्त्रता सेनानीका सन्तानले र बाँकी २ प्रतिशत आरक्षण धार्मिक तथा लैङ्गीक अल्पसंख्यक र अपाङ्गता भएका व्यक्तिका लागि छुट्याइएको छ । अदालतको फैसलापछि आन्दोलन मत्थर हुने अपेक्षा गरिएको सञ्चार माध्यमहरूले जनाएका छन् ।
कोटाको विरोधमा विद्यार्थीहरूले सुरु गरेको आन्दोलनमा हालसम्म कम्तीमा ११४ जनाको मृत्यु भइसकेको छ । सर्वोच्च अदालतमा सुनुवाइ भइरहँदा सरकारले देशब्यापी कर्फ्यू लगाइएको थियो । बंगलादेशमा गत बिहीबारदेखि मोबाइलमा इन्टरनेट र टेक्स्ट मेसेज प्रतिबन्ध लगाइएको छ । सर्वोच्चको फैसलापछि भने आन्दोलन मत्थर हुने अपेक्षाका साथ ढाकामा आज दिउँसो ३ बजेदेखि दुई घन्टालाई कर्फ्यू खुकुलो गरिएको थियो ।
आन्दोलनको कारण
आजभन्दा ५३ वर्षअघि सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्र हुन बंगालीहरुले लडाइँ लडेका थिए । त्यस बखत तत्कालिन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले बंगलादेशको सहायताका लागि आफ्नो फौज पठाएपछि पाकिस्तान हारेको थियो र संसारले अर्को एक नयाँ राष्ट्रका रुपमा बंगलादेशलाई पाएको थियो ।
त्योभन्दा पहिले सन् १९४७ मा ब्रिटिश राजबाट स्वतन्त्र हुँदा बेलायतीहरुले वर्तमान बंगलादेशलाई पनि पाकिस्तानकै एक भागको रुपमा ‘स्वतन्त्र’ गरेका थिए । त्यो बेला यस क्षेत्रलाई ‘पूर्वी पाकिस्तान’ भनिन्थ्यो ।
सडकबाट स्वदेश छिर्दै नेपाली विद्यार्थी
बंगलादेशमा रहेका करिब तीन हजार विद्यार्थी सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अहिलेसम्म करिब ८ सय ५० विद्यार्थी नेपाल आइसकेको र बाँकी पनि सुरक्षित रहेको परराष्ट्रले जनाएको छ ।
आजमात्रै विमान बंगलादेशर हिमालयन एयरलाइन्सबाट नेपाली विद्यार्थी स्वदेश फर्किरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसअघि नेपालीहरु सडकमार्ग हुँदै स्वदेश छिरेका थिए ।
बंगलादेशमा अधिकतर नेपाली विद्यार्थीहरु चिकित्सा अध्ययनका लागि गएका छन् । त्यहाँ हिँसात्मक द्वन्द्व एपछि सडकमार्ग हुँदै नेपाल भित्रिने विद्यार्थीलाई भारत सरकारले सहजीकरण गरी नेपाल आउने वातावरण बनाइदिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
‘नेपालीहरू तेस्रो मुलुकबाट भारत प्रवेश गर्दा भिसा चाहि तरने भए पनि अहिलेको विषम परिस्थितिमा बंगलादेशबाट आउने विद्यार्थीलाई स्वदेश फर्किन उसले भिसाविना नै प्रवेश दिइरहेको छ ।
एजेन्सीको सहयोगमा