Close

Recent Posts

चलचित्र बोर्डको अध्यक्षका लागि डिसी र मानन्धरसहित अन्य दुई दौडमा

चलचित्र बोर्डको अध्यक्षका लागि डिसी र मानन्धरसहित अन्य दुई दौडमा
  • १७ श्रावण २०८१, बिहीबार ०८:०८

काठमाडौं–चलचित्र विकास बोर्डको भावि अध्यक्षका लागि आकांक्षीहरुको दौडधुप तीव्र भएको छ । सबैभन्दा पहिलो औपचारिक दावेदारी भने दिनेश डिसीले प्रस्तुत गरेका हुन् ।

डीसीले आज विकास बोर्ड अध्यक्षका लागि आवेदन दिएको स्रोतले बतायो । हिजो मात्रै बोर्ड अध्यक्षका लागि दरखास्त आह्वान गरिएकोमा डीसीको पहिलो आवेदन परेको हो । उनको नाम पहिल्यैदेखि चर्चामा रहेको थियो । बोर्ड स्रोतका अनुसार डीसीले आफ्नो आवेदनसँगै ६९ बुँदे कार्ययोजना समेत प्रस्तुत गरेका छन् ।

अनुभवि सञ्चारकर्मी तथा चलचित्र निर्देशक डिसी सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमालेसँग पहिल्यैबाट निकट छन् । उनी एमालेप्रति झुकाव राख्ने चलचित्रकर्मीहरुको संगठन जनपक्षीय चलचित्रकर्मी संघका अध्यक्ष हुन् । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीका उनी एक विश्वासपात्र हुन् ।

सरकार परिवर्तनसँगै एमालेका पृथ्वीसब्बा गुरुङ नयाँ सञ्चारमन्त्री बनेका छन् । उनीकहाँ अन्य आकांक्षीहरुले पनि दौडधुप गरिरहेको बुझिएको छ ।

विकास बोर्डका अन्य आकांक्षीहरुमा अभिनेत्री करिश्मा मानन्धर, हल व्यवसायी नरेन्द्र महर्जन तथा राष्ट्रिय नाचघरका भुतपूर्व अध्यक्ष राजेश थापा पनि छन् । स्रोतका अनुसार अभिनेत्री मानन्धर हिजो मात्रै डेलिगेसनसहित सञ्चारमन्त्री गुरुङलाई भेट्न पुगेकी थिइन् । उनीसँग एमाले नेता रघुजी पन्त र नेतृ कोमल ओली पनि थिए । करिश्माले प्रधानमन्त्री ओलीलाई पनि भेटिसकेकी छन् ।

अर्का आकांक्षी नरेन्द्र महर्जन पनि सञ्चारमन्त्रीकहाँ पुगेका छन् । उनी एमालेका प्रमुख सचेतक महेश बर्तौला र बाग्मती सरकारका पूर्व मुख्यमन्त्री डोरमणी पौड्याललाई लिएर लविङ गर्न गएका हुन् ।

डीसी भने एक्लै दौडधुप गरिरहेका छन् । उनले प्रधानमन्त्री र सञ्चारमन्त्री दुवैलाई भेटेर आफ्नो कार्ययोजना प्रस्तुत गरेको स्रोतको दावी छ ।

प्रधानमन्त्री डीसीप्रति सकारात्मक देखिनुको कारण उनको एमालेसँगको पुरानो लिगेसी पनि हो । करिश्मा नवआगन्तुक एमाले हुन् भने डीसी पञ्चायतकालदेखि नै कम्युनिष्ट राजनीतिमा छन् । ओली यसअघि प्रधानमन्त्री बन्दा डीसी उनको किचेन क्याबिनेटभित्रै पर्थे ।

सञ्चार क्षेत्रमा उनले ३ दशकभन्दा बढी समय बिताएका छन् । नेपाल टेलिभिजनमा प्रशारण हुने ‘ट्वाक्क टुक्क’ बाट चिनिएका उनले लामो समय कान्तिपुर एफएम र कान्तिपुर टिभीमा काम गरे । पछिल्लो समय उनी कान्तिपुर टिभीका स्टेसन हेड थिए ।

चलचित्र विकास बोर्ड नेपाली चलचित्र क्षेत्रको नियमन गर्ने प्रमुख निकाय हो । बोर्ड अध्यक्षको कार्यकाल २ वर्षको मात्र हुने प्रावधान रहेको छ । हालै भुवन केसी आफ्नो कार्यकाल पूरा गरेर विदा भएका छन् । डीसीले भने आफू अध्यक्ष बन्न पाए कार्यकाल ४ वर्ष पुर्याउने तयारीसमेत गरेको बुझिएको छ ।