खगेश्वर कोइरालाका तीन कविता

भोजपुरमा जन्मिएर पछिल्लो समय झापा कर्मथलो बनाएका कवि खगेश्वर कोइरालाको ‘यात्रा’ कविता संग्रह प्रकाशित भएको छ । भोजपुरले वैयाकरण नेपाल, ज्ञानमणि नेपाल, पूर्णप्रकाश नेपाल यात्री, दैवज्ञराज न्यौपाने, हिरण्य भोजपुरे, उर्मिला श्रेष्ठ, परशु प्रधान, शैलेन्द्र साकार, प्रदिप नेपाल, गणेश रसिक, शंकर कोइराला, बुलु मुकारुम जस्ता अनगिन्ती श्रष्टाहरु जन्माएको छ । तिनै स्रष्टाहरु मध्ये कवि खगेश्वर कोइराला पनि एक हुनुहुन्छ । उनै कोइरालाको कविता संग्रह ‘यात्रा’ को तीन कविता यहाँ प्रस्तुत गरिएको छ ।
१) आमा प्रतिको ममता
जन्मायौं बढायौ कति दुःख गर्दै
असिना झरीमा अति कष्ट पर्दै
कुन घामपानी कुन झरी बादल
अति होसियारी गरी राख्यौ खियाल ।
कैले भोक भोकै तिर्खा भन्न पाइनौ
कहिले पनि राम्रो बस्त्र लाइनौ
अति दुःख गरी हुर्कायौ बढायौ
जल अग्निबाट पनि फेर बचायौ ।
छोरा छोरी सबै तिम्रा पियारा
बचायौ सुरक्षा दिई धेर सहारा
राल, सिँगान, दिसा र पिसाब
कति सो¥यौ होला के गर्नु हिसाब ।
च्याँ च्याँ र च्यारच्यार कान खाई जाने
दिक्कत नमानी काख तानी लाने
हँसिलो खुसिलो गदगद मुहार
गथ्र्यौ होला तिमी सन्तानको सुसार ।
सानै छँदाको चाकरी र सेवा
थियो होला तिम्रो कर्तव्य पेवा
अरु यस्ता दुःख सुख कति खेप्यौ
यो बाल क्रीडा कति प्रष्ट देख्यौ ।
जन्माउने तिमी हौ पृथ्वी हुन अर्की
समान दुबै हुन पछि हेर्दा फर्की
यो भार तिम्रो सपूतले विर्सन्न
तिम्रो नामबाहेक अरुको म लिन्न ।।
२) वनस्पतिको अभावमा पंक्षी
सङ्क्रामक रोगले ग्रस्त छ
विचलित अवस्थामा
भत्किएर लथालिङ्ग
पक्षीहरुको बास
छियाछिया भैसकेका छन्
केही अंशहरु
गहिराइले सीमा पार भैसक्यौ
जलकुण्डहरु ।
किथ्रा फट्याङ्ग्राका आश्रमहरु
गिटी बालुवाको भण्डारफोरबाट
लुप्त भै सकेका छन् ।
डाँफे मयुरका मधुर स्वरहरु
कोइलीको कुहूकुहू आवाज
बिलाएझै गै सके
वनस्पतिको अभावमा ।
३) म हुँ सर्वहारा
गगनचुम्बी घर
आकाश हेर्दा टोपी खस्ने
गेटदेखि द्वारसम्म
कार्पेट विछ्याइएको
स्वागतका लागि
त्यसैले भन्छ म सर्वहारा ।
लाखौँ करोडौँको गाडीमा
हुइँय हुइँकिने
अगौटेपछौटे राखि हिँड्ने
जस्को वातानुकुलित घर छ
उसैले भन्छ म सर्वहारा ।
देशभित्रको कमिसनले डकारिएर
विचौलियामार्फत् विदेशी डलर हसुरी रहनेले
लाज पचाई पचाई भन्छ
म हुँ सर्वहारा ।
पुरस्कार अभिनन्दन
विभिन्न विधाबाट
सम्मान भित्र्याउन सफल
कर्तुतवाला भन्छ गौरवसाथ
म एक नम्बर सर्वहारा ।
स्वदेशको सम्पति
विदेश पु¥याएर
सुरक्षित राख्न सिपालु
जनताको घाँटी रेट्नेले
भन्छ म हुँ देशको
एक नम्बर खाँटी सर्वहारा ।