चिनीको मुल्य दशैंमा २ सय
काठमाडौं– दुई साताअघि प्रतिकिलो एक सय रुपैयाँ पर्ने चिनी अहिले एक सय १५ रुपैयाँसम्म बनाइएको छ । विगतका वर्षहरुमा जस्तै चाडपर्वको मौका छोपेर व्यापारीले चिनीको मूल्य बढाएका छन् ।

यो वर्ष चाडपर्व सुरु हुनासाथ चिनीको मूल्य बढाइसकिएको छ । अहिले बजारमा मूल्यको एकरुपता भने छैन । खुद्रा पसलले आफूखुसी मूल्य लिने गरेका छन् ।
केही दिनअघि सय रुपैयाँमा पाउने चिनी अहिले थोक बजारमै १०९ रुपैयाँ पुगेको उनको भनाइ छ । बजारमा चिनी पर्याप्त हुँदाहुँदै पनि मूल्य के कारणले बढेको छ भन्ने आफूहरुलाई थाहा नभएको तुलाधर बताउँछन् ।
![]() |
![]() |
![]() |
|---|
खुद्रा व्यापारीहरुका अनुसार दुई साताअघि चिनी प्रतिकिलो ९५ देखि १०० रुपैयाँ थियो । अहिले बजारमा १ सय १० देखि १ सय १५ रुपैयाँसम्म पुगेको छ । खुद्रा व्यवसायी संघका महासचिव अमुल तुलाधरले पछिल्लो दुई सातायता चिनीको मूल्य बढेको जानकारी दिए ।
थोक बजारमै चिनीको मूल्य बढेपछि खुद्रा बजारमा यसको असर परेको उनले बताए । चाडपर्व आउन थालेपछि किन हरेक वर्ष थोक बजारमा मूल्य बढाइन्छ, यसमा सरकारले ध्यान दिन आवश्यक भएको उनको भनाइ छ । उनले भने, ‘बजारमा जुनसुकै खाद्यवस्तुको मूल्यवृद्धि हुँदा साना र खुद्रा व्यवसायीलाई आरोप आउँछ । तर, साना खुद्रा व्यवसायीका कारण बजारमा मूल्य बढ्ने होइन । ठूला थोक उद्योगी–व्यवसायीबाट मूल्य बढेर आउने हो । राज्यले साना खुद्रा व्यवसायी भन्दा ठूला व्यवसायमा केन्द्रित भएर अध्ययन अनुसन्धान गर्नुपर्छ ।’
सरकारले आफूहरुलाई ९५ रुपैयाँमा चिनी उपलब्ध गरायो भने उपभोक्तालाई एक–दुई रुपैयाँमात्र नाफा खाएर बिक्री गर्न तयार रहेको उनले बताए । ‘थोक बजारमा प्रतिकिलो १०९ रुपैयाँ पर्छ । त्यसमा ढुवानी भाडा र एकाध रुपैयाँ नाफा लिँदा ११०–११५ रुपैयाँ पर्छ,’ उनले भने, ‘विगतमा साल्ट ट्रेडिङ कर्पोरेसनसँग चिनी हुन्थ्यो । बजारमा व्यापारीले मनपरी गर्न पाउँदैनथे । अहिले सरकारले साल्ट ट्रेडिङलाई चिनी ल्याउने जिम्मा नदिएर ठेकेदारहरुलाई दिएकाले बजारमा मनपरी भएको हो ।’
Image Source: © https://mulpatra.com
पछिल्ला दिनमा दैनिक उपभोग्य वस्तु चिनीसहित दाल, गेडागुडी, चामल, तरकारी लगायतका धेरै वस्तुमा अस्वाभाविक रुपले १० देखि ५० प्रतिशतसम्म मूल्य बढेको नेपाल राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताए । उपभोक्ताको हितमा सरकारले ध्यान नदिँदा बजारमा कालोबजारी मौलाएको महर्जनको भनाइ छ । व्यवसायीहरुसँग हातेमालो गरी सरकारले कालोबजारी नियन्त्रण गर्न छोडेर उल्टै प्रोत्साहित गर्दै आएको उनले आरोप लगाए । यसकै कारण यसपटक चाडपर्व नआउँदै चिनीको मूल्य ११५ रुपैयाँ पुगेको उनले बताए । उनले भने ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोलीले बजार अनुगमन गर्दा १ सय ८ देखि १ सय १० रुपैयाँसम्ममा चिनी बिक्री भएको पाइएको विभागका सूचना अधिकारी राकेश पाण्डेले जानकारी दिए । बजारमा चिनी महँगो भयो भनेर विभागलाई कुनै उजुरी भने नआएको उनले बताए ।
उनका अनुसार चाडपर्वमा उपभोक्तालाई सहज रुपमा चिनी आपूर्तिको व्यवस्था मिलाउन विभागले सात वटा व्यावसायिक फर्मलाई आयातको अनुमति दिएको छ । सय दिनमा १९ हजार टन चिनी आयात गर्न अनुमति दिइएको उनले जानकारी दिए । देशभर चिनीको वार्षिक माग २ लाख ८० हजार टन रहेको सरकारी आकलन छ । स्वदेशी उत्पादन १ लाख ८० हजार टन हुन्छ । अरु नपुग करिब एक लाख टन आयात गर्नुपर्ने अवस्था छ ।



