Close

Recent Posts

उपेक्षित कोदोको माग बढ्दो, उत्पादनमा गिरावट

उपेक्षित कोदोको माग बढ्दो, उत्पादनमा गिरावट
  • ६ भाद्र २०८१, बिहीबार ११:१५

काठमाडौँ– रैथाने खाद्यन्य कोदोको प्रयोग पछिल्लो समय नेपाली भान्सादेखि तारे होटलहरुमा बढ्दो छ । नेपालमा फस्टाउँदै गएको पर्यटन, होटल, रेष्टुरेन्ट र तारे होटलहरुमा कोदोलाई रैथाने खाद्यन्यका रुपमा प्रयोग गर्न थालेपछि यसको माग बढ्न थालेको हो ।
केही बर्षयता कोदोको ढिडो, बिस्कुट, मःम, पिज्जा, रोटी र कोदोको खोले नेपाली होटलहरुमा आकर्षण बढ्न थालेको पाइन्छ। सामान्यदेखि नाम चलेका तारे होटलहरुमा कोदोका परिकारहरु पाइन्छ ।

mulpatra

कोदोबाट बनेका परिकार नेपालीहरुले मात्र होइन विदेशी पर्यटकहरुले मन पराउन थालेपछि यसको माग बढ्न थालेको होटल व्यवसायी महासंघका अध्यक्ष दिनेश कुमार सुकेले जानकारी दिए । उनका अनुसार सामान्यदेखि ठुलो स्टार होटलमा समेत कोदोबाट बनेका परिकारको मेनु राख्न थालिएको छ ।

विगत केही बर्षयता नेपाली लोक कोदोको ढिडो विदेशी पर्यटकको रोजाईमा पर्न थालेको उनले बताए । ‘नेपाली लोकल कोदो मंसिरदेखि फागुनसम्म मात्र पाइन्छ । नेपाली कोदोको ढिडो विदेशीहरुले सिस्नोको तरकारीसँग असाध्यै मन पराउँछन् । तर यो सिजनमा मात्र पाइन्छ ।’ उनले भने।

mulpatra mulpatra mulpatra

कोदोबाट बनेका खाद्यन्यको माग बढेपनि बजारमा नेपाली कोदो चार महिनाभन्दा बढी नपाइने गरेको र विदेशबाट आयतित कोदोको परिकार बनाएर बच्नुपर्ने बाध्यता उनले सुनाए ।

यस्तै, कृषिविज्ञ डा. हरि दाहालका अनुसार कोदोबाट बनेको परिकार सुपर फुड र स्मार्ट फुडका रुपमा विकास भइरहेको छ । कोदोबाट बनेका परिकार खाँदा स्वास्थ्यमा फाइदा हुन्छ भन्ने बारे चर्चा हुन थालेपछि यसको माग बढ्न थालेको उनले बताए । ‘नेपालमै पनि सहरी क्षेत्रमा कोदोको माग बढ्दो छ । अहिलेदेखि मात्र होइन। पहिलापनि यसको माग थियो। तर अहिले सामाजिक सञ्जालका कारण पनि कोदोका परिकारको प्रचार बढी भयो। त्यही भएर माग दैनिक बढ्दो छ ।’ उनले भने।

कोदोको मदिरालाई ब्रान्डिङ गर्ने विषयमा पनि बेला–बेलामा आवाज उठने गरेको छ । कोशी प्रदेशकी तत्कालिन सामाजिक विकासमन्त्री उषाकला राईले नीति तथा कार्यक्रममार्फत् नै उक्त योजनालाई अघि बढाएकी थिइन्। यस कार्यक्तमलाई पछिल्लो समय निरन्तरता दिएको पाइदैन् ।

Image Source: © https://mulpatra.com

आयात बढ्दो उत्पादन घट्दो

कोदोको माग बढ्न थालेपछि यसको आयात पनि बर्षेनी बढ्दै गएको भान्सार विभागको तथ्यांकमा छ। विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा ७५ करोड ४४ लाख रुपैयाँ बराबरको कोदो र कोदोको बीउ आयात भएको थियो। यस बर्ष १ करोड ५२ लाख ९२ हजार ८२० किलो कोदो र ५ हजार ३ सय ६३ किलो कोदोको बीउ आयात भएको विभागको तथ्यांकमा छ। यस बर्ष ४४ लाख रुपैयाँको कोदो नियात भएको थियो।

अघिल्लो आर्थिक बर्षमा ७३ करोड २० लाखको कोदो र बीउ आयात भएको थियो। यस बर्ष ४२ लाख रुपैयाँको निर्यात भएको विभागले जनाएको छ। भने आव २०७७÷७८ मा ७८ करोड ३७ लाखको आयात भएको थियो।

हाल नेपालको कुल दुई लाख ६० हजार हेक्टर क्षेत्रफलमा कोदो खेती भइरहेको र यस क्षेत्रफलमा वार्षिक ३ लाख २५ हजार मेट्रिक टन कोदो उत्पादन भइरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकमा छ। कृषि मन्त्रालयले गत वर्ष प्रकाशित गरेको तथ्यांकमा कोदोजन्य बाली हुने क्षेत्रफल क्रमशः घट्दो क्रममा रहेको जनाएको छ।

कृषि मन्त्रालयका अनुसार २०७८÷७९ मा २ लाख ६७ हजार ७१ हेक्टरमा खेती र ३ लाख ३९ हजार ४ सय ६२ टन उत्पादन भएको थियो। २०७९÷८० मा क्षेत्रफल घटेर २ लाख २७ हजार ९ सय ३४ हेक्टर पुगेको छ। उत्पादन पनि घटेर ३ लाख १० हजार ८ सय ४७ टनमा झरेको मन्त्रालयको तथ्यांकमा छ। गत आर्थिक बर्षपनि कोदो खेती र उत्पादन घटेको छ। यस बर्ष २ लाख २३ हजार ७ सय ७९ हेक्टरमा कोदो खेती भएको र ३ लाख ५ हजार ७ सय ८७ टन कोदो उत्पादन भएको मन्त्रालयले जनाएको छ।

कोदोको माग बढेपनि यसको उत्पादन घटेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.रविन्द्र मिश्र स्वीकार्छन्। सरकारले कोदोको उत्पादन बढाउन तीन बर्षयता प्रदेश र स्थानिय तहबाट कोदो खेती गर्ने किसानलाई अनुदान दिन थालेको उनले बताए। ‘बाहिरबाट हेर्दा कोदो खेतीलाई उपेक्षा गरेजस्तो देखियो। तर सरकारले कोदो खेती र उत्पादन बढाउन तीनै तहबाट काम गरिरहेको छ।’ उनले भने। सरकारले सहुलियत मुल्य र केही पहाडी जिल्लामा कोदोको बीउ अनुदानमा वितरण गरिएको छ। जसका कारण आगामी बर्षदेखि कोदो खेती र उत्पादन दुवै बढ्ने उनी बताउँछन्।

यस्तै, सरकारले कोदोजन्य खेतीलाई उपेक्षा गर्दै आएको छ। सांस्कृतिक र सामाजिक मान्यताका कारणले पनि सरकारले कोदो उत्पादन बढाउन जोड गर्नुपर्ने विज्ञ दाहालले जानकारी दिए। उनका अनुसार कोदो खेतीलाई प्रोत्साहन गर्ने कार्यक्रम सरकारले नल्याउँदा यसको उत्पादन बर्षेनी घटेको हो।

सरकाररले धान, गहुँ र मकैजस्ता बालीमा मात्र केन्द्रित हुँदा कोदो खेती उपेक्षामा परेको उनले बताए। ‘वैदेशिक रोजगारीका कारण आम नागरिकको क्रयशक्ति बढ्नु, खानेकुरा गाउँगाउँमा खाने कुरा पुगेको छ। यातायातका विकास कारण देशको जुकसुकै कुनामा उत्पादन भएको खानेकुरा अर्को ठाँउमा पाइन्छ।’ उनले भने। प्रविधिले कृषि खाद्यन्यमा भइरहेको परिर्वतनका बारेमा सरकार अविज्ञ देखिएको उनको आरोप छ।

कृषि मन्त्रालयकै उत्पादन बृद्धिसम्बन्धी अध्ययन प्रतिवेदनमा हाल ४० प्रतिशत मात्र कोदो उत्पादन भइरहेको छ। हाल उत्पादन भइरहेको कोदो खेतीको उत्पादन क्षेत्रफल घट्न थालेको कृषि मन्त्रालयकै वार्षिक प्रतिवेदनमा छ। कोदो र कोदोजन्य परिकारको माग बढे पनि सरकारले उत्पादन बढाउन सकेको छैन।

नेपालमा भारत, चीन, भुटान, बेल्जियम, क्यानडा, हङकङ, दक्षिण कोरिया र बेलायतलगायतका देशबाट कोदो आयात हुने गरेको छ।


नेपालमा सात लाख मेट्रिक टनभन्दा बढी कोदो बजारमा खपत भइरहेको छ। तर उत्पादन भने साढे तीन लाख मेट्रिक टन मात्र उत्पादन भइरहेको कृषि मन्त्रालयको तथ्यांकमा छ। स्वदेशी उत्पादनले नधानेपछि आयतित कोदोले अहिलेको माग धानेको कृषि मन्त्रालयकै अधिकारी बताउँछन् ।

नेपालमा खेती हुने कोदो

नेपालमा चिनो, कागुनो, कालो कोदो, जुनेलो, घोगे, झुसे कागुनो, धानकोदो, बाँसपाते कोदो, कनिके कागुनो, भीरगाउँले र कोदीलगायत कोलो खेती गरिन्छ । नेपालको जंगलमा बन्सो, टुडे, सामा, कोदेझार, जंलली जुनेलो, वनघोगे, कनिके कागुनो र जंगली चिनोलगायत कोदो पाइने गरेको कृषि मन्त्रालयले जनाएको छ ।