रोजगारको प्रलोभन देखाएर तस्करले १७६ नेपालीलाई ब्राजिल पुराए

रोजगारको प्रलोभन देखाएर तस्करले १७६ नेपालीलाई ब्राजिल पुराए
  • १४ भाद्र २०८१, शुक्रबार ११:०५

काठमाडौं–ल्याटिन अमेरिकी राष्ट्र ब्राजिलको साउपाउलोस्थित विमानस्थलमा १७६ जना नेपाली अलपत्र परेका छन् । मानव तस्करहरूले उनीहरूलाई विभिन्न प्रलोभन देखाएर अवैध तरिकाले अमेरिका छिराइदिने भन्दै साउपाउलोस्थित विमानस्थल पु¥याएर अलपत्र पारेका हुन् ।

mulpatra

साउपाउलोविमानस्थलको ट्रान्जिट इलाकामा नेपालीसहित करिब ७०० विदेशीहरू रोकिएकोबारे ब्राजिलस्थित नेपाली दूतावासले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

“ट्रान्जिटमा रहेका सबै १७६ जना नेपाली नागरिक सकुशल छन् र आवश्यकता अनुसार उनीहरूलाई मानवीय सहायता पु¥याउन दूतावास तयारी अवस्थामा छ,” ब्राजिलस्थित नेपाली दूतावासले मंगलबार विज्ञप्ति जारी गर्दै भनेको छ ।

mulpatra mulpatra mulpatra

दक्षिण अमेरिकाका ब्राजिल लगायतका मुलुक हुँदै अवैधरूपमा अमेरिका प्रवेश गर्ने उद्देश्यले विभिन्न स्थानबाट दक्षिण अमेरिकी मुलुकहरूमा आउने प्रवृत्ति बढ्दो क्रममा रहेको दूतावासले जनाएको छ ।

“संगठितरूपमा सञ्चालित मानव तस्करहरूको प्रलोभन र उक्साहटमा परी नेपालबाट समेत युवाहरू यस क्षेत्रमा आउने गरेको जानकारी बेलाबेलामा हुने गरेको छ,” नेपाली दूतावासले भनेको छ, “कयौँले अकल्पनीय पीडा बेहोर्नुका साथै ठूलो धनराशि खर्च गर्नुपर्ने परिस्थितिमा फस्न पुगेको पाइएको छ ।”

मानव तस्करले नेपाललगायत दक्षिण एसियाका राष्ट्रका युवाहरूलाई अलपत्र पार्न थालेपछि ब्राजिलले नयाँ नियम सार्वजनिक गरेको छ ।

Image Source: © https://mulpatra.com

ब्राजिल सरकारले तत्काल लागु हुने गरी नेपाललगायत केही देशका राहदानीवाहकलाई प्रवेशाज्ञा (भिसा) लिएको भएमा मात्र ब्राजिल प्रवेशको अनुमति दिने नियम ल्याएको छ । ब्राजिलको यही कडा नियममै कारण उनीहरू विमानस्थलमै रोकिएको बुझिएको छ ।

“अब उप्रान्त नेपाली आगन्तुकले ब्राजिल भएर सिधै गन्तव्य मुलुकतर्फ उड्न पाउने र त्यसरी नगएमा सोही विमानमार्फत फिर्ता पठाइने तर विमानस्थलमा शरणार्थीको मान्यता नदिइने जनाइएको छ,” दूतावासले बताएको छ ।

मानव तस्करहरूको सञ्जाल प्रयोग गरी गरिने यस प्रकारको यात्रा अवैध, जोखिमपूर्ण र अनिश्चित हुने दूतावासले जनाएको छ ।

दूतावासले ब्राजिल आउनुको जायज कारण भएमा सो पुष्टि गर्ने कागजात र प्रवेशाज्ञा लिई मात्र ब्राजिल वा ब्राजिल हुँदै अन्य मुलुकको भ्रमणमा निस्कन अनुरोध गरेको छ ।