म मरेको दिन् !
म मरेको दिन्
जन्मेकै दिन जसरी छेउको बाँस घारीमा
रुप्पीहरु कराइरहलान्
छेउको विद्यालयमा
नानीहरु गट्टी खेलिरहलान्
रगतका साइनाले बाँधिएर आएकाहरु
कोहि मूर्च्छा परेर रोइरहलान त,
कोहि खुच्चिङ्ग मच्चाएर
काखी बजाउलान्
टाढा रहेका सन्तान्
चिही पखालेको दुईदिन पछाडी आइपुग्लान्
तुल्सीको मोठमा सुताए देखि
ब्रम्हनालमा अन्तिम विश्राम लिंदासम्म अन्तरे चापागाईंले फुकेको
एकोहोरो शंखको आवाजले
मलाई ब्युँझाउन कोशिश भइरहला
आमाले बीस बर्ष अगाडि कातेर सञ्चित गरेको बातिले
दागबत्ती दिदै जिब्रो डढिरहँदा
कपाल जलेर गनाउन थालेपछि
छोरा बुहारीका आँखा सुन्निएर
भुक्भुक्ती भैरहलान् ।
म मरेका दिन्
अघिल्ला दिन जसरी नै घाम चड्की रहला
चिता सल्केपछि मलाई छोडेर भाग्ने बाहेक
घाट नजिकै सिंयालमा बसेर झोक्राइरहेका केही मलामीहरु
मेरो बिगत सम्झेर कोहि खित्का छोडेर हाँस्ताहून्
कोहि भावुक भएर बोल्न नसक्ता हून्
नदीका माछाहरु मेरा नजलेका छाला र हड्डी चुस्न
आतुर भैरहलान् ।
म मरेको दिन्
नदीमा खरानी भएर बगिसकेकी मेरी आमाले
खरानीरुपी मेरो स्वरुपलाई देखेर
नदीको पानी भन्दा बढी आँसु बगाउलिन्
रामघाटमा बिसर्जन भइसक्नु भएका बा ले
प्रश्न गर्नु होला,
जन्म स्थानको हाल खबर कस्तो छ कान्छा ? भनेर
सबैको खबर सुनाइसकेपछि
मलाई समातेर आफ्नो वासस्थानमा लैजानुहोला ।
म मरेको दिन्
मेरा गोठमा गाईले बाछो चाटिरहला
आमाले रोपेर हुर्काएको लिचिको बोट
हावामा हल्लि रहला
घर छेउमा बाले रोपेका कुट्मिराका नाम्ले रुखहरु,
हरिया हरिया सुरिला सुपारीका बोटहरु
सम्वेदनशील भएर उभिइरहलान्
प्यारी छोरी आरती
मेरो पार्थिव शरीर छेउमा बसेर
धुप सल्काइरहलिन्
झिंगा धपाइरहलिन् कुटको पंखाले
पारी पाखामा
शिवालयको घण्ट बजिरहला सदा झैं
म जन्मने बित्तिकै भाउजुहरुले नुहाइदिएको पँधेराको पानी
उसैगरी बगिरहला बाघमुखे धाराबाट
बराल बाले रोपेका वर पिपलका पातहरु
बिदाइमा हल्लाइने हातहरु झैं
हल्लिरहलान मलाई हेरेर
मेरो प्यारो टिमाई खोलो सुसाईरहला सदाझैं ।
म मरेका दिन्
नेपाली भूगोल भन्दा बाहिर
अर्थात सिमाना पारि निवासी मित्रहरुपनि
आउलान् मलामी भएर
दार्जीलिङ देखि कलकत्तासम्म
सिक्किमदेखी मिजोरमसम्म
थिम्पु चिराङ्ग देखि बर्मासम्म सूचना पुगेपछी
आउन नसके पनि
स्मृतिका पन्नाहरु पल्टेलान् बिगतका
टाढा टाढाहुने तर उपस्थित हुन नस्क्नेले भन्लान्
रेडियोबाट खोजी खोजी मलामी जाने सूचना प्रशारण गर्थ्यो
उसकै सूचना पनि पो बज्दैछ त हौ आज ए अचम्म नि !
शिरो सान्दाइले रेडियो कार्यक्रम समवेदनाबाट
न्वारन देखिकै कहिरन कहिरहनु होला
बिरहका धुन बजाएर मैले पनि सुनोस भनेझैं गरि
भावुक हुँदै कार्यक्रम प्रशारण गर्नुहोला
त्यही रेडियोबाट,
मेरा असंख्य कार्यक्रम सँगै
मेरा शब्द संगीत पनि बजिरहला
रेडियोमा संलग्न मेरा सहयात्रीहरु पनि
स्तब्ध भएर झोक्राउलान
मेरो खरानी तरेली परेर सागरमा नपुगुन्जेलसम्म
चिही पखालेर मलामी घर पुगेपछी पनि
ब्रम्हनाल तातिएर तातो वाफ फ्याँकिरहला
घाटबाट फर्केका मलामी मध्ये
कतिपय मिठाई खरिद गरेर घर पुग्लान
कतिले खल्को दिएर सिदे नून हालेको
दाल सब्जी खाएर
मलामी हुनुको धर्म निभाउलान र,
म प्रति श्रद्धा भाव प्रकट गर्लान् ।
म मरेको दिन्
मेरो गाउँका स्कुल कलेजमा छुट्टी हुनेछैन
तर,
स्कूलमा नाच्ने छैनन् मेरा नाति नातिनी
अनुपम र भव्यान्सीहरु
नगर प्रदेशमा बिदाको घोषणा हुनेछैन
किनभने म एक सत्ताहिन आम नागरिक मर्दा
बिदाको रत्तिभर अर्थ हुनेछैन
मरेका दिन त ती मान्छेको महत्व हुन्छ,
जसले देश प्रति गद्धारी गरेकाछन्
शक्तिकेन्द्रहरुको आशिर्वाद पाएका छन्
देशघाती,भ्रष्टाचारी र दुराचारीहरुको संज्ञाले
जो देशभर डुङ्डुङ्ती गनाएकाछन्
तिनका सम्झनामा राष्ट्रिय झण्डा समेतले
झुक्नु पर्ने छ
मेची महाकाली छुट्टी हुनेछ ।
म मरेका दिन्
सबैभन्दा बढी मेरी लिना रुनेछिन्
चितामा सुतिरहँदासम्म
उनलाई हेरिरहनेछु म
नरुनू भनेर सम्झाउने अवस्थामा म हुने छुइन
भक्कानिएर रुँदै चिच्याउँदै बिलौना गर्दै
बिवाहमा पहिरिएको
रातो सिदुर र गलाको पोते अनि हातका चुरा
सबै सबै फुकालेर
मेरो छातीमा चडाउने छिन्
म देखिरहेको हुनेछु तर,
म बोल्न सक्ने छुइन न त अन्तिमबिदाइको अंकमाल नै गर्न सकौंला
उनी मेरो फुङ्ग उडेको अनुहार सुम्सुम्याउँदै
मेरो पार्थिब शरीरलाई अन्तिमपटक स्पर्श गर्नेछिन्
चलन हो,परम्परा हो
मलाई अन्तिम पल्ट दाउरा पन्छाएर ढोग्नेछिन्
ढोग्दा उनका नूनिला तातो आँसु मेरा खुट्टामा रसाएपछि पुरोहितले घीउ तिलमा मुछेको चामलको पिण्ड
अर्पण गरेर
मलाई अन्तिम बिदाइ गर्नेछन्
म हाँसी हाँसी चिताको धुवाँ भएर
हावाको वेगमा
सन्सारभर फैलिरहने छु
मर्दा मर्दै, जल्दा जल्दै भनिरहनेछु
मेरो देश कहिले नमरोस्
मेरो संस्कृति अमर रहोस्
चराचुरीले उडान भर्ने आकाशमा
शक्ति राष्ट्रका युद्ध बिमानहरु
नउडून अमिलो धुवाँ फ्याँक्तै
र,
बिधर्मीहरुको प्रकोप र प्रपञ्चमा परेर
नकुल्चिइयोस मेरो देशका जाति भाषा कला र साधना
सुगा र मैनाले पनि धुरीमा चढेर
आमा,आमा भनेर कराउन पाइरहून्
मलाई माया गर्ने मेरा छिमेकीहरुले
मेरो घर दलानमा आएर
जीवन गीत गाइरहून ।