सरकारले राजश्व लक्ष्य प्राप्ती गरेनः एक खर्ब ६६ अर्ब मात्र संकलन
काठमाडौं । दुई महिनामा लक्ष्यको ११.७२ प्रतिशत मात्र राजश्व संकलन भएपछि सरकार तनावमा परेको छ । चालु आर्थिक वर्षमा सरकारले १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य लिएको छ ।

महालेखा नियन्त्रकको कार्यालयले जनाए अनुसार साउन र भदौमा एक खर्ब ६६ अर्ब ३८ करोड रुपैयाँ राजस्व संकलन भएको छ। यसतर्फ २१ अर्ब ११ करोड रुपैयाँ गैरकर र तीन अर्ब १३ करोड रुपैयाँ अन्य प्राप्ति रहेको छ । त्यस्तै यो आर्थिक वर्षमा सरकारले ५२ अर्ब ३२ करोड रुपैयाँ वैदेशिक अनुदान प्राप्त गर्ने अनुमान गरे पनि दुई महिनामा कुनै अनुदान प्राप्त गरेको छैन ।
यस्तै दुई महिनामा ७ दशमलव ३९ प्रतिशत बजेट खर्च भएको कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरेकोमा साउन र भदौमा एक खर्ब ३७ अर्ब ५५ करोड रुपैयाँ खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । यसमध्ये चालूतर्फ ८२ अर्ब ९८ करोड ६५ लाख रुपैयाँ अर्थात् ७ दशमलव ३९ प्रतिशत खर्च भएको छ ।
यस्तै पूँजीगततर्फ १४ अर्ब ८९ करोड ४० लाख रुपैयाँ अर्थात् लक्ष्यको ४ दशमलव २३ प्रतिशत खर्च भएको छ । यस्तै वित्तीय व्यवस्था अर्थात् ऋण तिर्न र शेयर लगानीका लागि तीन खर्ब ६७ अर्ब रुपैयाँ विनियोजन भएकोमा दुई महिनामा ३९ अर्ब ६७ करोड २२ लाख रुपैयाँ खर्च भएको छ । सरकारी खर्चमध्ये सबैभन्दा धेरै १० दशमलव ८ प्रतिशत वित्तीय व्यवस्थातर्फ रहेको छ ।
![]() |
![]() |
![]() |
|---|



