ओमानसँग एक विकेटले पराजित भयो नेपाल

ओमानसँग एक विकेटले पराजित भयो नेपाल
  • ३ आश्विन २०८१, बिहीबार १०:२३

काठमाडौं । नेपाली क्रिकेट टिम ओमानसँग पराजित भएको छ । नेपाली क्रिकेट टिम आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिदेशिय श्रृखलामा ओमानसँग एक विकेटले पराजित भएको हो ।

गुल्सनकुमार झाले अलराउण्डर प्रदर्शन गरेपनि ओमानलाई दिएको २२१ रनको लक्ष्य ओमानले ४९।५ ओभरमा नौ विकेट गुमाएर भेट्टायो । अन्तिमसम्म रोमाञ्चक बनेको खेलमा ओमानलाई जितका लागि अन्तिम ओभरमा आठ रनको आवश्यकता थियो ।

ओमानको जितमा ओपनर जतिन्दर सिंहले ४१ रन बनाए । कश्यप प्रजापतिले ३६ र कप्तान अकिब इल्यासले २९ रन थप्दा प्रतीक अथावाल र सोएब खानले समान २६ रन थपे ।

नेपालका गुल्सनकुमार झाले पाँच विकेट लिए पनि टिमको हार टार्न सकेनन् । नेपालका कप्तान रोहितले ६० रन बनाए । ३१–३ को नाजुक स्थितिबाट रोहितले चौथो विकेटका लागि आरिफ सेखसँग ८३ रनको साझेदारी गर्दै नेपालको इनिङ सम्हालेका थिए । आरिफले ३५ रन जोडे ।
गुल्सनले आक्रामक अर्धशतक प्रहार गरे । उनले ३५ बलमा तीन चौका र पाँच छक्कासहित ५३ रन बनाए । ओमानविरुद्धको प्रदर्शनसँगै नेपाली क्रिकेट टिमबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक र पाँच विकेट लिने गुल्सन पहिलो खेलाडी बने ।
लिगका ६ खेलमध्ये पाँचौं हार व्यहोरेको नेपाल तालिकाको सातौँ स्थानमा छ । नेपाली टिमको खातामा दुई अंकमात्र छ ।
पाँच खेलबाट पाँच अंक जोडेको ओमान भने तालिकाको छैटौँ स्थानमा छ । क्यानडामा जारी यस शृंखलामा नेपाल, ओमान र क्यानडा सहभागी छन् ।