उपत्यकामा बाढीमा परी दश जना बेपत्ता

उपत्यकामा बाढीमा परी दश जना बेपत्ता
  • १२ आश्विन २०८१, शनिबार १०:५२

काठमाडौँ । बिहिबार देखि लगातार परेको पानीले काठमाडौ उपत्यकाका सबै नदीहरुको जलस्तर खतराको तह भन्दा माथि रहेको छ । पानीको सतह बढेसँगै विभिन्न क्षेत्र डुबानमा परेका छन् ।


शनिबार बिहान ललितपुर महानगरपालिका, नखिपोटमा नख्खु खोलाले बगाउँदा चार जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दुई जना पुरुष, एक महिला र एक बच्चा छन् ।


शनिबार बिहान सवा ९ बजेतिर उनीहरूलाई खोलाले बगाएको सशस्त्र प्रहरी बलको उद्धारशाखाले जनाएको छ ।


त्यस्तै भक्तपुरको तल्लो क्षेत्र डुबानमा परेको छ । जिल्ला विपद कार्यालयका अनुसार हाल सम्म पाँच जना बाढीमा बेपत्ता भएका छन । उनीहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वेपत्ता हुनेमा ठिमीका चार जना र आशापुरीका एकजना रहेका छन । ठिमीमा पहिरो खस्दा वेपत्ता भएका हुने भने आशापुरीमा बाढीमा परेपछि हराएका छन । उनीहरुको नाम ठेगाना खुल्न भने बाँकी छ ।


यत्ता काठमाडौंमा एक जना सडक किनाराको ढलमा परेर हराएका छन । उनी शुक्रबार साँझ नै ढलमा परेका थिए । उनको खोजी कार्यपनि जारी रहेको प्रहरीले जनाएको छ ।
उपत्यकामा अत्यावश्क काम बाहेक बाहिर ननिस्कन प्रहरीले अनुरोध गरेको छ ।