४८ घण्टामा चार गुणाले भाउ बढ्यो

४८ घण्टामा चार गुणाले भाउ बढ्यो
  • १४ आश्विन २०८१, सोमबार ११:२८

काठमाडौंँ– तीन दिनसम्म परेको निरन्तरको वर्षाका कारण बाढीपहिरोले सडक अवरुद्ध हुँदा उपत्यकामा तरकारीको मुल्य अकासिएको छ । शुक्रबारका तुलनामा सोमबार उपत्यकामा तरकारीको मुल्य चार गुणाले बढेको तरकारी व्यापारीहरुले बताएका छन् ।

आइतबारदेखि बजारमा तरकारीको अभाव सुरु भएको टुकुचा तरकारी बजारका व्यापारी विकास श्रेष्ठले जानकारी दिए । उनका अनुसार शनिबार ६० रुपैयाँ प्रतिकिलो बचेको आलु सोमबार १ सय २० रुपैयाँ प्रतिकिलो बेच्नु परेको छ। अहिले आलु पनि सकिएको छ । अझै दुई दिन बाहिरबाट आलु नआए यसको मुल्य एक सय ५० रुपैयाँ पुग्ने उनको भनाइ छ ।

हिजोदेखि तरकारी कम भित्रिएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि काठमाडौं उपत्यकामा तरकारीको भाउ अकासिएको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार शुक्रबारको तुलनामा आइतबार र सोमबार ७० प्रतिशतभन्दा कम तरकारी उपत्यका भित्रिएको छ। जसका कारण पनि तरकारीको मुल्यमा फरक परेको उनले बताए । ‘बर्षाका कारण तरकारीका गाडी बाटोमा रोकिएका छन्। त्यहीँ भएर बजारमा हरियो तरकारी नै कम आएको हो। भने तरकारी कम आएपछि मुल्य बढ्छ ।’ उनले भने र

उपत्यकाभित्रै उत्पादन हुने तरकारी मात्र आइतवार र सोमबार बजारमा भित्रिएपनि छिमेकी जिल्लाहरु मकवानपुर, धादिङ, काभ्रे, नुवाकोट, सिन्धुपाल्चोक र मधेश प्रदेशका केही जिल्ला तथा भारतबाट पनि फलफूल तथा तरकारी आउने गरेको छ । तर बर्षाका कारण तीन यता ती स्थानबाट तरकारी नभित्रिएको समितिले जनाएको छ ।
सामान्य अवस्थामा उपत्यकामा सात टनभन्दा बढी फलफूल तथा तरकारी भित्रिने गरेको छ। जसमध्ये ७० प्रतिशत तरकारी भित्रिने गरेको समितिले जनाएको छ ।
समितिका अनुुसार शनिबार उपत्यकाभित्र एक सय ६५ टन फलफूल तथा तरकारी भित्रिएको समितिले जनाएको छ। आइतबार ३८ टन र सोमबार ३० टन मात्र तरकारी उपत्यका भित्रिएको समितिका सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
थोरै सामान भित्रिएपछि फलफूल र तरकारीको मूल्य सतप्रतिशतसम्म बढेको समितिले जनाएको छ ।

शनिबार प्रतिकिलो ४० रुपैयाँमा बिक्री भएको सानो गोलभेंडा सोमबार १२० रुपैयाँ पुगेको समितिको तथ्यांकमा छ । काँक्रो, तोरीको साग, हरियो बोडी, भिन्डी, सिमी, लौका, करेलाआलु, गाँजर र लोकल बन्दा पनि पनि शनिबारको तुलनामा प्रतिकिलो ५० देखि ७० रुपैयाँसम्म बढेको समितिले जनाएको छ ।

बाढीपहिरोले सडक अरोध भएपछि बजारमा तरकारी लुकाएर बेच्न थालेका छन्। तरकारीमा कालोबजारी भएपनि सरकारले नियन्त्रणमा चासो नदिएको सर्वसाधारणको गुनासो छ ।