व्यवसायीको अग्रिम बुकिङ बन्द गर्ने चेतावनी, सरकार छलफलमा

व्यवसायीको अग्रिम बुकिङ बन्द गर्ने चेतावनी, सरकार छलफलमा
  • १५ आश्विन २०८१, मंगलवार ११:४४

काठमाडौंँ– यातायात व्यवसायीले सार्वजनिक बसको अग्रिम टिकट बुकिङ बन्द गर्ने चेतावनी दिएका छन् ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले १२ गते आएका बाढी र विपद्ले बस सञ्चालन समस्या हुने भएका कारण बुकिङ बन्द गर्ने तयारी गरिरहेको जानकारी दिए । उनका अनुसार सरकारले बाटो बनाउछु भनेर मात्र भएन। पहिला सडकको अवस्था अध्ययन गरेर मात्र यातायात सञ्चालन गर्नुपर्ने व्यवसायीको माग भएको उनले बताए ।

‘हिजो २ बजे काठमाडौंबाट छुटेका बस स्वयम्भू, कलंकी र नागढुंगामै छन् । आज सरकार पक्षसँग छलफल गरेर अग्रिम बुकिङ बन्द हुन्छ भने टिकट लिएका यात्रुको टिकट पनि फिर्ता हुन्छ ।’ उनले भने।

१० लाखभन्दा बढी यात्रुहरूले १७ असोजदेखिको टिकट बुकिङ गरेका छन्। उनीहरुलाई पनि अहिले घर पठाउन सक्ने अवस्था नभएको उनको भनाइ छ ।

यस्तै, नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले अग्रिम टिकट बन्द गर्ने चेतावनी दिएपछि भौतिक यातायात तथा पुर्वाधार मन्त्री देवेन्द्र दाहाल छलफलमा जुटेका छन्। उनले विपद्का कारण बिग्रिएका सडक मर्मतको काम सुरु भएको छ। तत्काल अग्रिम टिकट बन्द गर्ने कुरा नगर्ने नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघलाई आग्रह गरिएको समेत जानकारी दिए।

विपद्मा सबै मिलेर समस्या समाधान गर्नुपर्ने उनले बताए । ‘यातायात व्यवसायीसँग छलफल गरेर दशैंमा सहज तरिकाले यातायात सञ्चालनको वातावरण बनाउने हो । यस विषयमा सरकार लागि परेको छ ।’ उनले भने।

सोमबारदेखि काठमाडौं बसपार्कदेखि सवारीसाधन सञ्चलान गरिए पनि गन्तव्यमा पुग्न नसकेको यातायात व्यवसायीको गुनासो छ । अरनिको राजमार्ग भने पूर्णरुपमा बन्द भएका कारण सवारी साधन चलाउन सक्ने स्थीति नभएको उपाध्यक्ष सिटौलाले जानकारी दिए ।

घटस्थापनाको दिनदेखि टिकट लिने गरी अग्रिम बुकिङ खुलाइएको थियो । तर, त्यसबेलासम्म सडक नबन्ने अवस्था रहेको व्यवसायीको भनाइ छ ।