प्रधानमन्त्री ओलीको राजीनामा किन मागे झलनाथ खनालले
काठमाडौंः पूर्व प्रधानमन्त्री एवं नेकपा समाजवादीका नेता झलनाथ खनालले वर्तमान सरकारले प्राकृतिक विपदमा राम्रो तयारी नगर्दा २ सय ५० भन्दा बढीले ज्यान गुमाउनु परेको र सयौं घरबारबिहीन हुनुपरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनु पर्ने बताएका छन ।

आज काठमाडौँको बल्खु स्थित जागरण बस्तीमा प्रकोप पिडीत ५५४ घरपरिवारलाई चामलसहितको राहत वितरण गर्ने कार्यक्रममा बोल्दै उक्त कुरा राखेका हुन ।
खनालले सरकारले प्राकृतिक विपदको तयारी राम्रो हुन नसक्दा ठूलो धनजनको क्षति भएको र जनता समस्यामा परेको भन्दै अहिले सरकार भएको आभाष नभएकाले जनताले आफ्नो सरकार बनाउने बाटो खुल्ला गर्नुपर्ने जिकिर गरे ।
खनालले मौसमविद्हरुको पुर्व सूचनालाई ओलीले हासीमजाकमा उडाएको समेत छलफलका क्रममा बताएका छन । देश विपदमा परेको र सयौंले ज्यान गुमाएका बेला विदेश भ्रमणमा ढिला गर्नु र फर्केर आउँदा जनताले आवाज उठाउनु स्वाभावीक हुने कुरालाई ‘भैसी दुहुन गएको हो र ?’ भन्ने जस्ता गैर जिम्मेवार कुरा सरकारप्रमुखले गर्न नसुहाउने समेत बताएका छन ।
अहिलेको सरकार पूर्णरुपमा फेल भएकाले विपक्षीमा रहेका दलहरू अघि बढेर काम गर्नुपर्ने उनको भनाइ छ ।
