विद्या भण्डारीलाई साइजमा ल्याउन ओलीले मदन नगरमा बनाएनन पार्टी कार्यालय
काठमाडौंः पार्टीका पुर्व उपाध्यक्ष तथा पुर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँगको टसलका कारण नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यालय मदननगर बल्खुमा बनाउन नचाहेको खुलेको छ ।

२०७२ को भुईचालोले पार्टी कार्यालयमा क्षति पुगेपछि पार्टी कार्यालय धुम्बाराही, थापाथली हुँदै च्यासल पुगेको छ । सोही समयमा नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर २०७८ साल बैशाख ९ मै केपी शर्मा ओलीले मदननगरमा पार्टी कार्यालय भवन शिलान्यास गरेका थिए । त्यसको लागि सदस्यहरुबाट एक सय रुपैया समेत संकलन गरिएको थियो । तर ललितानिवास जग्गा प्रकरणमा जोडिएका मिनबहादुर गुरुङले दान गरेको जग्गामा पार्टी कार्यालय बनाउन पुन शिलान्यास भएपछि अब सो स्थानमा भवन नबन्ने भएको हो ।
२०७२ को भुईचालोले पार्टी कार्यालयमा क्षति पुगेपछि पार्टी कार्यालय धुम्बाराही सार्ने विषयमा कुरा मिलेको थिएन । तत्कालिन पार्टी उपाध्यक्ष विद्या भण्डारी पार्टी कार्यालय बल्खुमै व्यवस्थापन गर्ने र नयाँ भवन तत्काल बनाएर त्यहि राख्न चाहन्थीन ।
यती समूहसँग जोडिएको र विवादास्पद व्यापारी आङछिरिङ शेर्पा संरक्षकत्व रहेको धुम्बाराहीको पासाङ ल्हामु भवनमा पार्टी कार्यालय राख्नु हुँदैन भन्ने कुरामा विद्या भण्डारी अडिग थिइन् भने उनको कुरामा कतिपय एमालेका नेताहरुको समर्थन थियो । तर ओलीले जसरी पनि धुम्बाराही कार्यालय सारेपछि त्यसको विरोध गर्दै उपाध्यक्ष विद्या भण्डारी कार्यालय उद्घाटनमा समेत गएकी थिइनन त्यतिखेरै ओलीलाई त्यो कुरा मन परेको थिएन ।
राष्ट्रपतिको कार्याकाल सकिएपछि पछिल्लो समय विद्यादेवी भण्डारी पार्टीमा सक्रिय हुन थालेकोले ओलीको मनमा चिसो पसिरहेको छ । राजनीतिमा फर्किने संकेत सहित विभिन्न कार्यक्रममा सक्रिय हुन थालेकी विद्या भण्डारीले पार्टी सदस्यता नविकरण गरेपछि छन चर्चा हुने गरेको छ । दुई दुई पटक संसद विघटन गरेपछि ओलीको पक्षमा नबोलेका सभामुख सुभाषचन्द्र नेम्वाङ विद्या भण्डारीको नजिक भएर नयाँ समिकरणको तयारी गरिरहेका बेला उनको मृत्यु भए पनि पार्टीका शक्तिशाली हालका अर्थमन्त्री विष्णु पौडेल, सुरेन्द्र पाण्डे, पृथ्वी सुब्बा गुरुङ, योगेश भट्टराई कोपभाजनमा परेका पश्चिमका नेता भिम रावल, काभ्रेका नेता गोकुल बास्कोटा, विनोद ढकाल लगायतका ओली इतर र ओली भित्रका चिडिएका नेता कार्यकर्तालाई समेटेर अगाडी बढ्ने संकेत भित्र भित्रै मिलिसकेकोले पनि विद्या भण्डारीको चाहाना विपरित काम भइरहेको ठम्याइ कतिपय नेता कार्यकर्ताको छ ।
यता पार्टी अध्यक्ष ओलीले दुई दुई पटक संसद विघटन गरी पार्टी विभाजन सम्म पुर्याएको कारण एमालेको साख खुम्चिन थालेको बुझाई विद्या भण्डारीको रहेको र एमालेबाट टुक्रिएर बनेको समाजवादीका नेता कार्यकर्ता र माओवादीका रुष्टहरुलाई समेटेर पुनः पार्टीलाई ठुलो बनाउन सकिन्छ भन्ने सोचले भित्र भित्रै सल्लाह गरिरहेको कारण पनि अध्यक्ष ओली विद्या भण्डारीको पक्षमा नरहेको अनुमान गर्न सकिन्छ ।
बल्खुमा कार्यालय बन्न नसक्ने खास कारण नेतृत्वलाई नै थाहा भए पनि दलदले जमिन छ भन्ने सतही प्रतिवेदनलाई अगाडी सारिएर मदन नगरकै अस्तित्व मेटिन खोजेको मदन भण्डारीसँग नजिक भएर काम गरेका केही नेताको अनुमान छ ।
मदन नगरमा पार्टी कार्यालय बनाउँदा मदन भण्डारीकै नाम आउने भएको कारण वर्तमान प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यालयमा आफ्नो नाम कहि कतै जोडियोस भनेर मदन नगरमा कार्यालय नबनाएको हुन सक्छ एक सदस्यले भने ‘सुन्धाराको धरहरा बनाउँदा पुरानोको ठाउँमा नयाँ बनाए आफ्नो नाम नआउने भएको र पुरानोलाई जस्ताको तस्तै राखी नयाँ ठाउँमा धरहरा बनाए धरहरा निर्माणमा सधैभरि ओलीको नाम जोडिने भएकोले भत्कीएको धरहरा राख्ने सहमती गरेको खुलेको थियो । अनि पार्टीमा सर्बेसर्बा मै हुँ भन्ने नेताले सधैंभरि मदन मदन भनेर आफैलाई विर्साउने काम गर्लान र ?’
शिलान्यास गरिसकेको बल्खुमा किन कार्यालय बनेन भन्ने विषयमा एक केन्द्रिय सदस्य भन्छन ‘मदननगर बल्खुमा एमालेको १३ रोपनी जग्गा रहेको छ । त्यही जग्गामा अत्याधुनिक भवन बनाउन सम्पूर्ण तयारी सकेको थियो । सभाहल, बैठक कक्ष सहित पर्याप्त पार्किङको सुविधा सहित भवनको डिजाइन गरिएको थियो’ । ‘मदन भण्डारीकोे योगदान र ठाउँको नामसमेत मदनकै नाममा भइसकेको अवस्थामा कार्यालय परिषरमा रहेको मदन भण्डारीको शालिकलाई जस्ताको तस्तै राखि भवन बनाउने तयारी भएको थियो । तर पार्टीमा देखिएको किचलोले कार्यालय बन्न सकेको थिएन । अब त नयाँ ठाउँमा शिलान्यास गरेपछि र दाताले भवन नै बनाइदिने भएपछि उतै बन्छ होला ?’ अनविज्ञता प्रकट गर्दै उनले भने ।
