बालुवाटारमा रास्वपा र प्रहरीको घम्साघम्सी
काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालुवाटारमा विरोध प्रदर्शन गरेको छ । सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाले विरोध प्रदर्शन गर्दै आएको छ ।

लामिछाने पक्राउ परेपछि पोखरामा एक हप्ता प्रदर्शन गरेको रास्वपा पछिल्ला दिनमा भने काठमाडौं केन्द्रित कार्यक्रममा केन्द्रित भएको छ । रास्वपाले राजनीतिक प्रतिशोध साँधेर सहकारी ठगी प्रकरणमा सभापति लामिछानेलाई पक्राउ गरिएको आरोप लगाउँदै आएको छ ।
मंगलबार बालुवाटारमा आयोजित विरोध प्रदर्शनमा प्रहरीले रास्वपाका प्रतिनिधिसभा सदस्य अशोक चौधरीसहित १७ जना कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले सांसद चौधरीसहित रास्वपाका काठमाडौं जिल्ला सभापति प्रदीप विष्ट, ललितपुर सभापति बुद्धरत्न महर्जन, वीरेन्द्र श्रेष्ठ, सुरेश पोख्रेल, ध्रुब ढकाल, नवराज भण्डारी, प्रकाश लामिछाने, रक्षा रायमाझी, साहिल पृयास र सबि खड्कालाई पक्राउ गरेको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
![]() |
![]() |
![]() |
|---|
उनका अनुसार प्रदर्शनका क्रममा दयाराम नेपाल, सुरेन्द्रराज अवाले, सैलेन्द्र खत्री, उमेश लामा, खुसिराम कैनी र नवराज मुडवरी पनि पक्राउ परेका छन् । रास्वपाले शान्तिपूर्ण विरोध प्रदर्शनको कार्यक्रमलाई बिथोल्ने गरी प्रहरी प्रशासनले दमन गरेको भन्दै आपत्ति जनाएको छ ।



