बालगोपालेश्वर मन्दिरमा भाइटीका

काठमाडौंः काठमाडौंको रानीपोखरीको बीचमा अवस्थित बालगोपालेश्वर मन्दिर आज खुलाइएको छ । उक्त मन्दिरमा भाइटीका लगाउनेहरुको घुँइचो लागिरहेको छ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरु भाइटिकाका दिन यो मन्दिरमा गई टीका लगाउने चलन छ ।
पहिले पहिले भाइटिकाका दिन मात्र खुल्ने यो मन्दिर भने विगत केही बर्षदेखि छठपूजामा समेत खुलाइने गरेको छ ।
प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ । पोखरीको बिचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो । त्यसपछि बालगोपालेश्वर मन्दिरमा दिदि–बहिनी नहुनेहरुलाई भाइटीका लगाउन सुरु गरिएको हो ।
तिहारको पाँचौँ दिन आज दिदिबहिनीहरुले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था निष्ठाका साथ दीर्घायु, आरोग्य ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पाअनुसार सप्तरङ्गी टीका लगाइदिने गर्दछन् ।
काठमाडौंमा रहेर आफ्ना दाजुभाई र दिदीबहिनी नहुनेहरु भने बालगोपालेश्वर मन्दिर गएर टिका लगाएका छन् ।