Close

Recent Posts

बैंक तथा वित्तीय संस्थाले धमाधम गर्न थाले लाभांश घोषणा

बैंक तथा वित्तीय संस्थाले धमाधम गर्न थाले लाभांश घोषणा
  • २२ कार्तिक २०८१, बिहीबार २०:४२

काठमाडौं । लगानीकर्ताका लागि लाभांशको सिजन शुरु भएसँगै आफुले लगानी गरेका कम्पनीहरु प्रति चासोको विषय बन्न थालेको छ ।


नेप्सेमा सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्न थालेको छन् । सूचीकृत कम्पनीहरुमध्ये लाभांश घोषणा गर्नेमा बैंक तथा वित्तीय संस्था अग्र स्थान रहेका छन् । हालसम्म १६ वटा बैंक तथा वित्तीय संस्थाले लाभांश घोषणा गरेका छन् ।


नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये प्रत्येक आर्थिक वर्षको सञ्चित मुनाफाबाट लगातार आफ्ना सेयरधनीहरुलाई लाभांश बाँड्नेमा बैंक तथा वित्तीय संस्थाहरु अगाडी छन् । बैंक तथा वित्तीय संस्थाले प्रत्येक आवको मुनाफाबाट केही प्रतिशत भएपनि लाभांश वितरण गर्ने भएकाले सेयरबजारमा बैंक तथा वित्तीय संस्थाको स्टकमा लगानीकर्ताको आकर्षण देखिन्छ ।


बैंक तथा वित्तीय समूहको धितोपत्र बजार पुँजीकरणमा समेत हिस्सा ठूलो रहेको छ । नेप्सेमा १९ वटा वाणिज्य बैंक, १५ वटा विकास बैंक, १५ वित्त कम्पनी र ४४ वटा लघुवित्त संस्थाहरु गरी कुल ९३ बैंक तथा वित्तीय संस्थाहरु सूचीकृत छन् ।


तर हालसम्म भने जम्मा १६ वटा बैंक तथा वित्तीय संस्थाले मात्रै गत आवको मुनाफाबाट लाभांश घोषणा गरेका छन् । जसमध्ये ७ वटा वाणिज्य बैंक, एक विकास बैंक र ८ वटा लघुवित्त संस्था छन् । वित्त समूहबाट हालसम्म कुनै पनि संस्थाले लाभांश प्रस्ताव गरेका छैनन् ।


अझैपनि १२ वटा वाणिज्य बैंकको लाभांश घोषणा हुन बाँकी छ भने विकास बैंकतर्फ १४ वटा बैंकको लाभांश घोषणा हुन बाँकी छ । साथै वित्त समुहतर्फ सबै कम्पनीको लाभांश घोषणा हुन बाँकी छ भने लघुवित्त संस्था समूहतर्फबाट ३६ वटा संस्थाको लाभांश घोषणा हुन बाँकी नै छ ।


अझैपनि दोस्रो बजारमा बैंक तथा वित्तीय संस्थाहरुको सेयर खरिद गर्दा लाभांश पाउन सक्ने सम्भावना रहेको छ ।
वाणिज्य बैंकतर्फ सानिमा बैंक, ग्लोबल आइएमई बैंक, एभरेष्ट बैंक, सिटिजन्स बैंक, नबिल बैंक, प्राइम कमर्सियल बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले मात्रै हालसम्म लाभांश घोषणा गरेका छन् ।

विकास बैंकतर्फ कामना सेवा विकास बैंक र लघुवित्त समूहतर्फ फरवार्ड माइक्रोफाइनान्स, स्वाबलम्बन लघुवित्त, आशा लघुवित्त, गुराँस लघुवित्त, फर्स्ट माइक्रोफाइनान्स, नेशनल लघुवित्त, सर्पोट लघुवित्त र आरएसडीसी लघुवित्तले लाभांश घोषणा गरिसकेका छन् ।


लाभांश घोषणा गरेका कुल १६ वटा बैंक तथा वित्तीय संस्थामध्ये ७ वटा संस्थाको लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज भइसकेको छ भने ९ वटा बैंक तथा वित्तीय संस्थाको बुकक्लोज हुन बाँकी नै छ । यसर्थ ९ बैंक तथा वित्तीय संस्थाको सेयर खरिद गर्दा अझ पनि लाभांश पाउन सकिनेछ ।