भुजेलले देखाएनन् लाइसेन्स, तर यातायातको रेकर्डमा भेटियो
काठमाडौं– एकजनाको ज्यान जाने गरी भएको सवारी दुर्घटनापछि आफैं प्रहरीमा उपस्थित भएका झाँक्री प्रकाश भुजेलले हालसम्म सवारी चालक अनुमतिपत्र (लाइसेन्स) पेश गर्न सकेका छैनन् । तर, यातायात कार्यालयमा लाइसेन्स लिएको रेकर्ड भेटिएको स्रोतले बतायो ।

‘उहाँले आत्मसमर्पण गर्नेबित्तिकै हामीले लाइसेन्स माग्यौं, तर यतिबेलासम्म पनि दिनुभएको छैन’, अनुसन्धानरत एक प्रहरीले बताए । भुजेलले खोज्दैछु, हेर्दैछु भन्दै आत्मसमर्पण गरेको २४ घण्टा पुग्न लाग्दासम्म पनि लाइसेन्स देखाउन नसकेपछि शंका उब्जिएको थियो । प्रहरी वृत्त बौद्धले उनको लाइसेन्सबारे यातायात व्यवस्था कार्यालयलाई पत्राचार गरेको छ । यातायात कार्यालय स्रोतले लाइसेन्सको रेकर्ड रहेको बतायो ।
प्रहरीका अनुसार झाँक्रीका विरुद्ध सवारी तथा यातायात व्यवस्था ऐन– २०४९ अन्तर्गत सवारी ज्यानको महलमा मुद्दा चल्छ । यदि उनको लाइसेन्स नभएमा ऐनको दफा १६१ को उपदफा २ अन्तर्गत मुद्दा दायर हुनेछ । त्यसअनुसार लापरबाहपूर्वक सवारी साधन चलाएको कसुरमा १० वर्षसम्मको कैद सजाय हुन्छ ।
![]() |
![]() |
![]() |
|---|
यदि उनले लाइसेन्स दिएमा ऐनको दफा १६१ को उपदफा ३ बमोजिम सजाय हुन्छ । उक्त व्यवस्थाअनुसार चालकको नियन्त्रणभन्दा बाहिर गई सवारी साधन चलाएको कसुरमा एकवर्षसम्म कैद र जरिवानाको व्यवस्था छ ।
भुजेलले चलाएको गाडीले बुधबार शंखरापुर नगरपालिका वडा नम्बर ९ इन्द्रायणीमा एउटा मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्कर दिँदा कागेश्वरी मनोहरा–२ आलापोट बस्ने ३८ वर्षीय नारायण नगरकोटीको मृत्यु भएको छ । उनको ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मृतक नगकोटी कागेश्वरी मनोहरा–२ आलापोट नेकपा माओवादी केन्द्रका सचिव हुन् । दुर्घटनामा उनलाई टाउको, पेट र घुँडामा गम्भीर चोट लागेको थियो ।



