अमेरिकी विदशी सहायक मन्त्री डोनाल्ड लु काठमाडौंमा

काठमाडौं – संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आइपुगेका छन् ।
आफ्नो दक्षिण एसिया भ्रमणका क्रममा उनले नेपाल सरकारका नेतृत्वकर्ताहरूसँग शिष्टाचार भेट र नागरिक समाजसँग कुराकानी गर्ने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ । उनको यस भ्रमणले अमेरिका–नेपाल सम्बन्धलाई मजबुत बनाउने र वातावरणीय सुरक्षा, महिला सशक्तीकरण, सांस्कृतिक संरक्षण र दिगो विकासजस्ता क्षेत्रमा दुई देशबीचको सहकार्यलाई अघि बढाउने दूतावासको दाबी छ ।
दूतावासले सामाजिक सञ्जालमा लेखेको छ, ‘दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुलाई नेपालमा स्वागत छ! आफ्नो दक्षिण एशिया भ्रमणको क्रममा उहाँले काठमाडौँमा नेपाल सरकारका नेतृत्वकर्ताहरूसँग शिष्टाचार भेट र नागरिक समाजसँग कुराकानी गर्नुहुनेछ। उहाँको यो भ्रमणले अमेरिका–नेपाल सम्बन्धलाई मजबुत बनाउने र वातावरणीय सुरक्षा, महिला सशक्तिकरण, सांस्कृतिक संरक्षण, र दिगो विकासजस्ता मुख्य क्षेत्रहरूमा दुई देशबीचको सहकार्यलाई अघि बढाउने प्रतिबद्धता प्रस्तुत गर्दछ।’
नेपाली चीनसँग बीआरआई सहकार्य फ्रेमवर्कमा हस्ताक्षर गरेको र अमेरिकी परियोजना एमसीसीमा अपेक्षित प्रगति हुन नसकिरहेको अवस्थामा भएको अमेरिकी उच्च अधिकारीको यस भ्रमणलाई कूटनीतिकवृत्तमा चासोका साथ हेरिएको छ।