बीमा क्षेत्रमा रोजगारीको बढ्दो आकर्षण, एकै वर्ष थपिए चार सय कर्मचारी
काठमाडौं– रोजगारीका लागि बीमा क्षेत्र रोज्ने नेपालीको संख्या बढ्दो छ । पछिल्लो समय बैंक पछि अधिकांश मानिसले बीमा क्षेत्रलाई रोजगार गन्तव्य बनाउँदै आएका छन् ।
अघिल्ला वर्षहरुमा आर्थिक शिथिलता लगायतका कारण बीमा कम्पनीहरुको व्यवसाय पनि प्रभावित भएको थियो । तर, पछिल्लो समय भने नेपाली बीमा क्षेत्रमा काम गर्न थपिने कर्मचारीहरुको संख्या बढ्न थालेको छ ।
एक वर्षको अवधिमा नै ४०० हाराहारीमा कर्मचारी बीमा कम्पनीहरुका जोडिएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार हाल बीमा क्षेत्रमा ११ हजार ८१८ जना कर्मचारी छन्, यो गत वर्षको कात्तिक मसान्तसम्मको तुलनामा ३.५० प्रतिशत बढी हो । अर्थात् एक वर्षमा नेपाली बीमा कमपनीहरुमा ४०० जना नयाँ कर्मचारी थपिएका छन् । गत वर्षको कात्तिकसम्म कुल ११ हजार ४१८ जना कर्मचारीहरु बीमा क्षेत्रमा आवद्ध थिए ।
हाल निर्जीवन बीमा तर्फ ५ हजार ९३६ जना र निर्जीवन बीमा तर्फ ५ हजार ८८२ जना कर्मचारी छन् । प्राधिकरणको आँकडा अनुसार एक वर्षको अवधिमा निर्जीवन बीमा कम्पनीहरु तर्फ २८० जना र १२० जना कर्मचारी थपिएका छन् ।
हाल १४–१४ वटा ठुला जीवन तथा निर्जीवन बीमा कम्पनीहरु संचालनमा छन् भने चार वटा लघुनिर्जीवन र तीन वटा लघुजीवन बीमा कम्पनी संचालनमा छन् । गत असोज पछिमात्रै १९ जना कर्मचारी बीमा कम्पनीहरुमा जोडिएका छन् । प्राधिकरणका अनुसार गत असोज मसान्तसम्ममा ११ हजार ७९९ जना कर्मचारी थए । तर, भदौमा भने ३ जना बाहिरिएको देखिन्छ । यता, साउनमा भने ११० जना कर्मचारी आवद्ध भएका थिए ।
अघिल्लो वर्ष ठुलो संख्यामा बीमा कम्पीहरु एक आपसमा गाभिएर एकीकृत कारोबार थालनी गरेका छन् । कम्पनीहरुको मर्जरका कारण पनि कर्मचारीको संख्या बढ्न सकेको थिएन । अर्को तर्फ आर्थिक मन्दीका कारण कम्पनीहरुको व्यवसायको आकार पनि खुम्चिदो नै थियो । त्यस्तो अवस्थामा बीमा क्षेत्रले थप रोजगारी सृजना गर्न सकिरहेको अवस्था थिएन् । तर, हाल विस्तारै आर्थिक गतिविधि पनि बढ्न थालेको छ, यसले कम्पनीहरुको व्यवसायमा पनि सकरात्मक लय दिएको छ ।
आर्थिक क्रियाकलाप बढ्न थालेसँगै कम्पनीहरुले पनि ग्रामिण स्तरमा आफ्नो शाखा संजाल धमाधम विस्तार गरिरहेका छन् । व्यवसायिक सेवा विस्तारका लागि कर्मचारीहरु पनि थपिएका हुन् ।
एकै वर्षमा कम्पनीहरुले थप १६४ वटा कार्यालयहरु थपेका छन् । गत वर्षको कात्तिकमा बीमा कम्पनीहरुको देशभर २ हजार ८२७ वटा कार्यालयहरु थिए । तर, यो वर्षको सोही अवधिमा आइपुग्दा भने ५.८० प्रतिशत बढेर २ हजार ९९१ वटा पुगेको छ ।
सो अवधिमा कम्पनीहरुको समग्र व्यवसायको आकार पनि ९.४४ प्रतिशत बढेर ६८ अर्ब ५ करोड ७७ लाख रुपैयाँ पुगेको छ । व्यवसायमा बढाउन निर्जीवन बीमा कम्पनीहरु अगाडि छन्। कम्पनीहरुको व्यापार १२.६४ प्रतिशत बढेर १४ अर्ब ३५ करोड ८६ लाख रुपैयाँ पुगेको छ । सो अवधिमा कम्पनीहरुले कुल ९ लाख ९८ हजार ५९६ वटा निर्जीवन बीमालेख बिक्री गरेका छन्।
यता, जीवन बीमा व्यवसायको आकार पनि एक वर्षमा ८.६१ प्रतिशत बढेर ५३ अर्ब ६९ करोड ९० लाख रुपैयाँ पुगेको छ । जीवन बीमा कम्पनीहरुको नयाँ व्यापार पनि २७.६१ प्रतिशत वृद्धि भएको प्राधिकरणको आँकडाले देखाउँछ । पुरानै व्यवसाय अर्थात् नविकरण मार्फत संकलन हुने बीमा शुल्क पनि ४.६० प्रतिशत बढेर ४२ अर्ब ६८ करोड ८३ लाख रुपैयाँ पुगेको छ ।