रबि लामिछानेलाई रातारात पोखरा ल्याउँदा मानवअधिकार हनन भएको आयोगको निष्कर्ष
काठमाडौं । सहकारी छानविनमा हिरासतमा रहेका रवि लामिछानेलाई रातारात पोखरा ल्याएपछि चौतर्फी विरोध भएको छ । उनको ब्लड प्रेसर १८०/९० पुगेको प्रमाणीत भएपनि उपचार तर्फ नलागी रातीको ३ बजे पोखरा पुर्याएपछि मानव अधिकार आयोगले समेत आपत्ति जनाएको छ ।
रास्वपाका सांसद हरि ढकालले सामाजिक सन्जाल फेसबुकमा स्टाटस राख्दै भनेका छन ‘म साक्षी छु,
भरतपुर अस्पतालका मे.सु. डा. कृष्ण पौडेल ज्युले गत मंसिर १८ गते बिहान हाम्रो पार्टी सभापति मा. रबि लामिछानेको ब्लड प्रेसर चेक गर्दा १५०/१०० थियो जसको साक्षी स्वयं म आफै छु। पछिल्लो समय पोखरामा समेत उहाँको स्वास्थ्य जाँच गर्दा प्रेसर नघटेको र उहाँको स्वास्थमा समस्या रहेको कुरा डा. को टोलीले समेत जानकारी दिएका छन्। यसरी एउटा ब्यक्ती असहज स्वास्थ्य अवस्थामा रहदा पनि जबरजस्ती सुत्न समेत नदिएर अमानवीय व्यवहार गर्दै रातारात चितवनबाट पोखरा लगिएको घट्नाको हामी घोर निन्दा तथा भत्सर्ना गर्दछौं ।’
पोखरा ल्याएर स्वास्थ्य परीक्षण गर्दा उनको ब्लड प्रेसर १८०/९० पुगेको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ। आयोगको टोलीले शुक्रबार लामिछानेलाई कास्की प्रहरी हिरासतभित्र भेटेर सोधपुछ गरेका थिए।
हिरासतमा रहेका लामिछानेलाई भेट्न पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले लामिछानेलाई हिरासतमा राख्दा मानवअधिकारको गम्भीर उल्लङ्घन भएको जिकिर गरेका छन् । सहकारी ठगी प्रकरणमा हाल कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई भेटेपछि शाहीले सो कुरा बताएका हुन् ।
उनले भने, ‘कानुनी राज्यमा छौँ, कानुन सबैले मान्नुपर्छ । तर यहाँ मानवअधिकारको गम्भीर उल्लङ्घन भएको छ । मदिरा सेवन गरेका प्रहरी परिचालन गरेर रातारात कास्की ल्याएको भन्नुभएको छ । यो गम्भीर घटना हो । सत्यतथ्य छानबिन गर्नुपर्छ ।’
चितवनको सहारा सहकारी अपचलन मुद्दामा बुधबार बिहानदेखि राति ९ बजेसम्म जिल्ला सरकारी वकिलको कार्यालयमा बयान दिएका लामिछानेले आफ्नो टाउको दुखेकाले औषधी सेवन गरेको प्रहरीलाई जानकारी गराएको आयोगको टोलीलाई बताएका थिए।
प्रहरीले हिरासतभित्र दुर्व्यवहार गरेको भन्दै लामिछानेकी श्रीमती निकिता पौडेलले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएपछि आयोगको टोली शुक्रबार उनलाई भेट्न जिल्ला प्रहरी कार्यालय कास्की पुगेको थियो।
चितवन प्रहरीले आफूलाई स्वास्थ्य परीक्षण गर्न माग गर्दा पनि नमानेर दुर्व्यवहार गरेर पोखरा ल्याएको लामिछानेले आयोगको टोलीलाई बयान दिएका छन्। मादक पदार्थ सेवन गरेका प्रहरीले मध्यरात दुर्व्यवहार गरेको लामिछानेको आरोप छ।
लामिछानेलाई भेट्न पुगेका मानव अधिकार अधिकृत टंक खनालले चितवनमा आफूमाथि दुर्व्यवहार भएको भनेर लामिछानेले जानकारी गराएको बताए।