उद्योग बाणिज्य महासंघको विधान संसोधन अब अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट
काठमाडौं । निजी क्षेत्रको अग्रणी संस्था नेपाल उद्योग बाणिज्य महासंघको विशेष साधारण सभाले विधान संशोधन गरेको छ ।
आज ललितपुरमा भएको सभाबाट संर्वसम्मत रुपमा विधान संसोधन गरिएको हो ।
महासंघको विधानको छैठौ संशोधनबाट अध्यक्षको प्रत्यक्ष निर्वाचन हटाउँदै वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था गरेको थियो ।
आजको सभाले एक कार्यकाल पछिको निर्वाचनबाट पुनः अध्यक्षको प्रत्यक्ष निर्वाचन गर्ने गरि विधान तयार गरेको छ । जसअनुसार अहिलेका वरिष्ठ उपाध्यक्ष साविकको विधानको व्यवस्था अनुसार स्वत अध्यक्ष बनेपछि आउने कार्यकालदेखि अध्यक्षमा पनि प्रत्यक्ष निर्वाचन हुने भएको हो।
यसअघि कार्यसमितिभित्र नै विवाद भएको कारण विधान संशोधन प्रक्रियाले पूर्णता पाउन नसकेको अवस्थामा अध्यक्ष ढकाल सर्वसम्मत विधान संशोधन गर्न सफल भएका छन्।
महासंघले अध्यक्षको प्रत्यक्ष निर्वाचन शुरुभए देखि कार्यसमितिको कार्यकाल दुई बर्षको हुने गरि विधान संशोधन गरेको छ अहिलेसम्म महासंघको कार्यकाल तीन वर्षको रहेको छ ।
खासगरि जिल्ला, नगर र एसोसिएटहरुको मागका आधारमा कार्यकाल घटाइएको अध्यक्ष चन्द्र ढकालले बताएका छन् ।
त्यस्तै महासंघ जिल्ला नगर उपाध्यक्ष अब दुई जना हुने भएका छन्। अहिलेको विधानको व्यवस्था अनुसार एक जना जिल्ला अध्यक्ष रहने व्यवस्था थियो।
महासंघले प्रस्तावित विधानमा दुई जना वरिष्ठ उपाध्यक्षको कुरा राखेपछि भेलामा त्यसको विरोध भएपछि उपाध्यक्षको संख्या थप गरि वरिष्ठ उपाध्यक्ष एक जना रहने व्यवस्था समेत गरेको छ ।
महासंघले अहिले भएको भएको सत्र परिषदलाई थप गर्दै परिषदको संख्या पच्चिस पुर्याउने भएको छ ।

