माग्ने बुढालाई ५० लाख पारिश्रमिक, उनको बजारमा छुट्टै हाइप देखियो

काठमाडौं– ‘छक्का पञ्जा’ भन्दा बाहिरका ब्रान्डमा धमाधम काम गरिरहेका हास्यकलाकार केदारप्रसाद घिमिरे उर्फ ‘माग्ने बुढा’ यतिबेला निकै व्यस्त छन् ।
उनलाई चलचित्रमा खेलाउन निर्देशक तथा निर्माताको लाइन छ । तर केदारलाई चलचित्रमा लिन सजिलो भने छैन । उनले एउटै चलचित्रमा ५० लाख बढी पारिश्रमिक माग्ने गरेका छन् । पारिश्रमिक सुनेरै निर्माता–निर्देशक तर्सिन्छन् । तर, उनलाई यति रकम दिएरै खेलाउन चाहनेहरूको पनि कमी छैन ।
केदारले अहिलेसम्म ४ वटा चलचित्रमा काम गर्ने पक्का भइसकेको छ । ‘जेरी अन टप’, ‘माग्नेराजा’, ‘कङ्गारु’ र ‘माइतीघर’ मा उनले साइन गरिसकेका छन् । यो आर्थिक वर्षमा अब थप चलचित्र साइन नगर्ने उनको भनाइ छ ।
केदारले साइन गरेको सबैभन्दा पछिल्लो चलचित्र हो– माइतीघर । यस चलचित्रमा केदारबाहेक अरू पनि चल्तीका अनुहारहरू छन् । प्रकाश सपुत, उपासना सिंह ठकुरी र बुद्धि तामाङको फाइनल भइसकेको छ भने एक नायकको खोजीमा छन् निर्माता रोहित अधिकारी ।
अधिकारीले केदार घिमिरेलाई ५० लाख रुपैयाँमा अनुबन्धित गरेको पुष्टि गरे । यस चलचित्रमा अभिनय बाहेक स्क्रिप्ट र डाइलगमा पनि काम गर्ने अधिकारीको भनाइ छ ।
केदारलाई महँगो रकम तिर्न तयार हुनुको कारणबारे रोहितले भने, ‘उहाँको बजारमा छुट्टै हाइप छ । त्यो हिसाबले उहाँले आफ्नो पारिश्रमिक तोक्न पाउनुहुन्छ । मैले पनि ५० भन्दा बढी लिनुहुन्छ भन्ने सुनेको हो । तर हाम्रो चाहिँ पहिलेदेखि नै राम्रो सम्बन्ध भएकाले ५० मा कुरा ओके भयो । अभिनयसँगै उहाँले यो चलचित्रमा आफ्नो डाइलगमा पनि काम गर्नुहुन्छ ।’
उनले थपे, ‘उहाँलाई मनाउन पनि गाह्रै छ । स्क्रिप्ट मन परेन भने उहाँले काम गर्नुहुन्न । तर हाम्रोमा त्यस्तो गाह्रो भएन । किनकि यो चलचित्रबारे उहाँ आफैले प्रस्ताव अघि सार्नुभएको थियो । टिम नयाँ छ, त्यसैले निर्माताहरू पुरानो भए सजिलो अनि राम्रो हुन्थ्यो भनेर उहाँले पनि कुरा अघि बढाउनुभएको थियो । त्यसैले सजिलै भयो ।’